रवीन्द्र उप्रेती
बर्दिबास, असोज २४ गते । बर्दिबासको वडा ३ गौरीडाँडामा दोस्रो वडा कप फुटबल प्रतियोगिता हुनेभएको छ । प्रतियोगितामा नगर क्षेत्रका १४ वडामध्ये १३ वडाबाट १४ टिमले भाग लिनेछन् ।
आयोजक बर्दिबास वडा ३ तथा बर्दिबास युनाइटेड फुटवल क्लवले आज (बुधवार) पत्रकार सम्मेलन गरी भोलि अपरान्हदेखि सुरु हुने प्रतियोगिताको भौतिक र प्राविधिक तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगिता सञ्चालन, उद्घाटन समारोह र व्यवस्थापकीय पक्ष लगायतको तयारीमा दुवै आयोजक जुटेका छन् । नकआउट आधारमा खेलाइने प्रतियोगितामा सेमिफाइनल अघिसम्म दैनिक २ ओटा प्रतियोगिता गराइने तालिका छ । फाइनल गेम अजोस ३ का लागि निर्धारण गरिएको छ ।
प्रतियोगिताका विजयी टिमलाई उपाधिका साथै नगद ४१ हजार र उपविजेतालाई दोस्रो उपाधिसहित नगद २१ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरको सम्मान र हौसला प्रदान गर्न छुट्टाछुट्टै उपाधिको व्यवस्था मिलाइएको बर्दिबास युनाइटेड फुटबल क्लबका अध्यक्ष विनोद खड्काले बताउनुभयो ।
फुटबल प्रतियोगिताबारे आयोजक बर्दिबास वडा ३ का वडाध्यक्ष विराट विस्टले दक्ष खेलाडी उत्पादन गर्दै बर्दिबासलाई खेलकुदको हब बनाउने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको फुटबल प्रतियोगितालाई यो वर्ष पनि निरन्तरता दिइएको बताउनुभयो ।
उहाँले वडा कपलाई दशैको औपचारिकतामा मात्र सीमित नराखी खेलाडीको दक्षता अभिवृद्धि र उत्कृष्ट खेलाडी छनाेटका लागि प्रतियोगिता गराइएको बताउनुभयो । प्रतियोगितालाई उदाहरणीय, अनुकरणीय र उपलब्धिमूलक बनाउन दुवै आयोजकले समाजका सबै पक्षसँग अनुरोध गरेका छन् ।