• १२ साउन २०८१, शनिबार

मृतक विद्यार्थीको शव ल्याउन आज राति विमान इजरायल जाँदै

blog

फाइल तस्बिर

काठमाडौं, असोज २४ गते । इजरायलबाट मृतक १० जना नेपाली विद्यार्थीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ ।

नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो ।

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरूको निधन भएको थियो ।

यसैगरी, आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।

दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ । रासस