• ८ मंसिर २०८१, शनिबार

आमा बा (कविता)

blog

आमा बा परिवारका जननका, सत् प्रेमका मूल हुन् 

यो संसार टिकाउने नमनका, आदर्शका माथ हुन्

बा आमा घरमा भए मनुजका, पीडा दशा हट्दछन्

उम्दा ती उपदेश ज्ञान र कला, सौभाग्यता मिल्दछन् ।


आमाका कठिनाइ हन्डर सबै, सन्तानका निम्ति हुन्

बाबाका सब त्याग पौरख कथा, सङ्घर्षका पाठ हुन्

बा आमा गुरु हुन् यहाँ प्रथमका, बोल्ने भला ईश हुन्

सारा शिल्प कला गला भरिदिने, सन्तानका ताज हुन् ।


भोको पेट बसी कठै जननका, इच्छा पूरा गर्दछन्

त्यस्ता भक्त पिता र मातृ जनका, काया खुबै जीर्ण छन्

आफ्ना चाह खुसी र देह नभनी, सन्तान हुर्काउँछन्

प्यारा सन्तति भ्रष्ट बर्बर हुँदा, माता पिता दिक्क छन् ।


आज्ञा ती रघुजी पिता हजुरको, मान्थे सदा प्रेमले

कैकेयी  जननी  दूषित  मनकी, भन्दैनथे  रामले 

यस्ता  उत्तम  नम्र  भक्त  रघुझैँ, सन्तान हाम्रा बनून् ।

बा आमा शिर हुन् भनी सुमनले, सम्मान ज्यादा गरून् ।


सिस्नो साग ढिँडो भए पनि मिठो, मान्छन् दिँदा प्रेमले 

झुप्रो नै बरु होस् न आलय यहाँ, बस्छन् खुसी भावले 

रुन्छन् मातृ पिता सधैँ यदि भने, भाग्छन् नि लक्ष्मी धन 

साह्रै उच्च कमाइ होस् महल होस्, होला वृथा जीवन ।


बा आमा शुभ तीर्थ हुन् मनुजका, गर्नू सेवा बेसरी 

आफ्नै आलय हुन्छ धाम सरिझैँ, गर्लान् भलो श्रीहरि 

बाँचुन्जेल  सुसार  आदर  गरौँ,  माता पिताको अति ।

सारा सन्ततिमा विवेक करुणा, जागोस् उँचो सम्मति ।