यदुप्रसाद भट्ट
मनाङ, वैशाख २८ गते । गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार कुल २०.२५ पूर्णाङ्कमध्ये मनाङले १९.५ अंक प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको हो । ‘ग’ वर्गका जिल्लामध्ये मनाङ शीर्ष स्थानमा रहँदा नुवाकोटले १९.३७५ अंकसहित दोस्रो स्थान हासिल गरेको छ । यसैगरी तेस्रो स्थानमा डोटी, चौथोमा पर्वत र पाँचौँमा रुपन्देही रहेका छन् ।
पहिलो त्रैमासिक अवधिमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा पनि जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको थियो । कुल २९.२५ पूर्णाङ्कमध्ये मनाङले २८.७५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो ।
लगातार दुई त्रैमासिक उत्कृष्ट नतिजा हासिल गर्ने जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी नवराज नवराज पौड्याल हुनुहुन्छ । उपसचिव पौड्याललाई गृह मन्त्रालयले भदौ ४ गते मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । मनाङ उपसचिवस्तरको प्रमुख जिल्ला अधिकारी रहने जिल्ला हो ।
गृह मन्त्रालयसँग गरिएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूको पूर्ण कार्यान्वयनका कारण उक्त नतिजा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताउनुभएको छ ।