अमरराज नहर्की
तनहुँ, वैशाख २८ गते । तनहुँको देवघाट गाउँपालिका ले आफ्नो पालिकाभित्रको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम तयार गरेको छ । गाउँपालिकाले आधारभूत तह (कक्षा १–५ र ६–८) का लागि ‘हाम्रो देवघाट’ नामक पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याएको हो ।
उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका ३५ वटै सामुदायिक विद्यालयमा वितरण गरिएको छ । पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व, स्थानीय पर्यटकीय स्थल, जनजीवन, वनस्पति तथा यहाँका जातजातिका संस्कारलाई प्राथमिकताका साथ समेटिएको छ ।
गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बालबालिकालाई आफ्नो माटो र मौलिकता बुझाउन स्थानीय पाठ्यक्रमले ठुलो भूमिका खेल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देवघाटको गरिमालाई नयाँ पुस्ताको मस्तिष्कमा स्थापित गर्न यो पाठ्यक्रम ल्याइएको हो । आफ्नो गाउँ–ठाउँको भूगोल र गौरव नबुझ्ने शिक्षाले व्यावहारिक ज्ञान दिन सक्दैन, त्यसैले हामीले स्थानीय विषयवस्तुलाई जोड दिएका हौँ ।”
गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवर ले शिक्षालाई जीवनोपयोगी बनाउन र देवघाटको समग्र चिनारीलाई शैक्षिक माध्यमबाट फैलाउन यो कदम चालिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय आवश्यकता र विशेषतालाई समेटिएको यो पाठ्यक्रमले विद्यार्थीमा आफ्नो पालिकाप्रतिको अपनत्व र सम्मानभाव बढाउनेछ ।” शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने का अनुसार पाठ्यक्रम प्रधानाध्यापकमार्फत सबै विद्यालयमा वितरण गरिएको हो ।