पोखरा, असोज १९ गते । गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ । लोकनृत्य कलाकार सङ्घ, कास्कीद्वारा बिहीबार आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् कुसुमाकर न्यौपाने, समाजसेवी विश्वमोहन गौचन, अध्यक्ष केशबहादुर गुरुङलगायतले गुरुङलाई सम्मानपत्र, फेता र खादासहित सम्मान गरेका हुन् ।
सोंपाल तमु समाजको निमन्त्रणामा बेलायत पुगेर नेपाली संस्कृतिको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलाउन भूमिका खेलेको भन्दै उहाँलाई सम्मान गरिएको सङ्घका सचिव राहुल थापा मगरले जानकारी दिनुभयो । नेपाली कला, संस्कृतिका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै गुरुङलाई सोंपाल तमु समाजसहित विभिन्न संस्थाले बेलायतमा सम्मान गरेका थिए ।
सो सम्मानका लागि समेत उहाँलाई संस्थाले बधाई ज्ञापन गरेको थियो । स्याङ्जाको दरौँ सिरुबारीमा जन्मेर पोखरालाई कर्मथलो बनाएका गुरुङले ‘एउटा घरको व्यथा हैन’ भन्ने गुरुङ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए । अग्निदहन, किडन्यापलगायतका नेपाली चलचित्रमा समेत काम गरेका उहाँले दर्जनौँ गुरुङ चलचित्रमा अभिनय गर्नुभएको छ । दरौँ सिरुबारी माझकटेरी... लगायतका म्युजिक भिडियोमा समेत उहाँको अभिनय हेर्न सकिन्छ ।
सम्मान समारोहमा ताराबहादुर गुरुङको योगदानको चर्चा गर्दै प्रा.डा. कुसुमाकर न्यौपानेले ताराबहादुर सिङ्गो नेपालको तारा मात्र नभएर गौरव गर्नलायक गहना पनि भएको धारणा राख्नुभयो । ताराबहादुरको सङ्घर्षको कथा स्मरण गर्दै उहाँले कुनै समय बाँसुरी र मादल वादकका रूपमा आफूले चिनेको तारा आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला, संस्कृतिको प्रतिनिधित्व गर्न सक्ने कलाकार बनेकोमा आफूलाई गौरव लागेको भनाइ राख्नुभयो ।
सम्मानित नायक गुरुङले आफू जहाँ गए पनि नेपाली लोक कला र संस्कृतिबाट टाढा रहन नसक्ने भनाइ राख्नुभएको छ । जति सकिन्छ त्यति नेपाली संस्कृतिलाई योगदान गर्न सदैव आफू लागिपरेको बताउनुहुँदै उहाँले बेलायत गए पनि आफ्नो मनमा सधैँ नेपाल र नेपाली संस्कृति नै रहेकाले आग्रह हुँदा हुँदै पनि यात्रा छोट्याएर नेपाल फर्केको अनुभव सुनाउनुभयो । उहाँ गत साउन २६ गते बेलायत गएर करिब डेढ महिनापछि हालै नेपाल फर्किनुभएको थियो । कार्यक्रममा उहाँले आयोजक संस्थालाई ५० हजार ६०५ रुपियाँ नगद सहयोग गर्नुभएको थियो ।
तारासँगै बेलायत यात्रामा सहभागी डा. चन्द्रबहादुर गुरुङलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी विश्वमोहन गौचन, डा. चन्द्रबहादुर गुरुङलगायतले शुभकामना दिनुभएको थियो । लोक नृत्य कलाकार सङ्घका अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव राहुल थापा मगरले सञ्चालन गर्नुभएको थियो ।