काठमाडौँ, असोज १७ गते । विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२३’ कार्यक्रम हुने भएको छ । नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल एस्ट्रोनोमिक सोसाइटी (नासो) ले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । नासोका अनुसार नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था आइडुडलइडु इङ्कसँग सहकार्य सो कार्यक्रम गर्न लागिएको हो ।
नासोका अध्यक्ष सुरेश भट्टराईले यही अक्टोबर २० देखि डिसेम्बर १५ सम्म सञ्चालन हुने विशेष कार्यशालामा ११ देखि २० वर्ष उमेर समूहका विद्यालयदेखि विश्वविद्यालय तहका विद्यार्थीले सहभागिता जनाउन सक्ने जानकारी दिनुभयो । देशभरका विद्यार्थीको पहुँच पुर्याउने उद्देश्यले सो कार्यक्रम अनलाइनमार्फत गर्न लागिएको बताउनुभयो ।
इच्छुक विद्यार्थीले असोज २३ गतेसम्म नाम दर्ता गर्न सक्नेछन् । क्युब्स इन स्पेसबारे थप जानकारी दिँदै उहाँले भन्नुभयो, “क्युब्स इन स्पेस एउटा ग्लोबल इन्जिनियरिङ डिजाइन कम्पिटिसन हो । जसमा विद्यार्थीले आफ्ना प्रयोग नासा साउन्डिङ रकेट तथा जेरो प्रेसर साइन्टिफिक बेलुन मार्फत स्पेस वा नियर स्पेस इन्भाइरोमेन्टमा पठाउन सक्नेछन् । त्यसका लागि विद्यार्थीले आफ्नो योजना बनाउने, मूल्याङ्कनमा पठाउने र छनाेट भए भर्जिनियास्थित क्युब्स इन स्पेस को अफिस पठाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।
‘क्युब्स इन स्पेस’मा सहभागिताको लागि तयारी स्वरूप नेपालमा सञ्चालन गरिने यस कार्यशालामा यो वर्ष जम्मा ५५ विद्यार्थी भर्ना गरिने नासोले जनाएको छ । सहभागीलाई अन्तरिक्ष विज्ञानसम्बन्धी विभिन्न ज्ञान दिँदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षबारेमा सिकाउनुका साथै विद्यार्थीलाई प्रयोग डिजाइन गर्न लगाइनेछ बताइएको छ । उहाँले यस कार्यक्रमबाट सन् २०२४ मा दुई वटा क्युब्स अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) बाट अन्तरिक्षमा पठाइने बताउनुभयो ।