• १३ साउन २०८१, आइतबार

पर्यटकको रोजाइमा हात्ती प्रजनन केन्द्र

blog

शान्ता अधिकारी

चितवन, असोज १७ गते । चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र पर्यटक आकर्षणका साथै निकुञ्जको संरक्षणमा महìवपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ ।  सुरुमा निकुञ्ज सफारीका लागि प्रयोग गरिँदै आएका हात्ती यति बेला चोरी सिकार नियन्त्रणका लागि जङ्गल गस्तीमा मात्र प्रयोग हुन थालेका छन् । हिजोआज पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न नभई हात्ती प्रजनन केन्द्रमा हात्ती र हात्तीका छावा हेर्न आउने गरेका छन् । खोरसोर नै पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । 

केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार खोरसोरमा रहेका हात्ती छावामध्ये पाँच भाले र दुई पोथी छन् । सुरुवाती चरणमा निकुञ्जले नाम सिफारिस गरी विभागमा पठाउने र विभागले राजदरबारमा पठाएर नामकरण गरिने परम्परा २०६३ सालपछि अन्त्य भएकोे छ । बच्चा जन्मिएको १२ दिनमा न्वारन गर्ने र नाम राख्ने गर्न थालिएको छ । छावा तीन साढे तीन वर्ष भएपछि तालिमका लागि योग्य हुन्छ । खोरसोरमा जन्मिएको सबभन्दा कान्छो हात्तीको छावा विजय गज हो । गणेशकलीबाट जन्मिएको विजय गज हाल चार महिनाको मात्र भयो । खोरसोर आउने पर्यटक यिनै छावासँग फोटो खिच्ने, खेल्ने र जिस्कने गर्छन् । हात्तीका छावासँग खेल्न र हेर्न मात्र होइन खोरसोरमा हात्तीबारे अध्ययन र अनुसन्धान गर्नसमेत विदेशी आउने गरेको चौधरीले बताउनुभयो । 

विसं. २०४४ मा भारतबाट चार वटा र थाइल्यान्डबाट ल्याइएको एउटा गरी पाँच वटा हात्तीबाट केन्द्र स्थापना गरिएको थियो । पछि केन्द्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई वटा, सर्लाहीबाट चार वटा र कोशीटप्पुबाट तीन वटा हात्ती ल्याइएका थिए । 

केन्द्र स्थापना भएको ३६ वर्षमा यहाँ ६३ वटा हात्ती जन्मिएका छन् । प्रजनन केन्द्रमा यति बेला १२ माउ र  सात छावा छन् । माउ हात्ती सबै गर्भिणी छन् । सात वटै छावा आगामी वर्ष तालिमका लागि तयार हुने छन् । गत वर्ष मात्र नौ वटा हात्तीका छावालाई तालिम दिई पोस्टमा पठाइएको छ । 

केन्द्रका प्रमुख चौधरीका अनुसार खोरसोरमा पछिल्लो समयमा तीन वटा जङ्गली हात्ती आउने गरेका छन् । रोनाल्डो, ध्रुबे र गोविन्दे नामकरण गरिएका ती जङ्गली हात्तीकै कारण यहाँका ढोई हात्ती गर्भिणी हुने गरेका हुन् । पछिल्लो समयमा यीमध्ये सबभन्दा बढी गोविन्दे आउने गरेको छ । गोविन्दे, रोनाल्डो र ध्रुबेभन्दा जवान छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा हाल ५९ वटा हात्ती छन् । तीमध्ये पाँच वटा कोशीटप्पुबाट काजमा ल्याइएका हुन् । काजमा ल्याएको एउटा हात्तीले बच्चा जन्माएपछि हात्तीको सङ्ख्या ५९ पुगेको हो । ५९ मध्ये सात वटा बच्चा हात्ती छन् । निकुञ्जमा ५० वटा मात्र हात्तीको दरबन्दी छ । पछिल्ला केही वर्ष यता हात्तीले पर्यटकलाई बोेक्न छोडेका छन् । निकुञ्जका हात्तीमा हुक्दा (मानिस बस्ने ठाउँ) राख्न छोडिएको छ । मात्र हात्तीको प्रयोग निकुञ्ज गस्तीका लागि हुने गरेको छ । सुरुमा हात्ती सफारीबाट जङ्गल जाने पर्यटक यति बेला जिप सफारी र पैदल यात्रा गरेर अवलोकनमा जाने गरेका छन् ।