• १ जेठ २०८२, बुधबार

निकुञ्जभित्र सवारी साधनलाई टाइम कार्ड लागू

blog

बाँके राष्ट्रिय निकुञ्जको कार्यालय भवन । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज १५ गते । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको राजमार्ग क्षेत्रमा आवागमन गर्ने सवारी साधनका लागि सोमवारदेखि टाइम कार्ड लागू गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्ज क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम राजमार्गमा तीव्र गतिका कारण सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्न थालेपछि सबै सरोकारवालाको सहमतिमा सवारी साधनका लागि सोमवारदेखि टाइम कार्ड लागू गरिएको हो । 

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले निकुञ्जको मुख्यालय ओभरीदेखि खैरीखोलासम्म करिब १५ किलोमिटर राजमार्ग क्षेत्रमा टाइम कार्ड लागू गरिएको जानकारी दिनुभयो । 

उहाँले करिब १५ किलोमिटरको सो दूरी पार गर्न सो क्षेत्रमा आवागमन गर्ने सवारी साधनलाई २३ देखि २८ मिनेटको समय दिइएको बताउनुभयो । सोमवार बिहान ८ बजेदेखि टाइम कार्ड प्रणाली लागू गरिएको जनाउँदै सूचना अधिकारी भुसालले सो टाइमभन्दा अघि र धेरैपछि आउने सवारी साधनसँग छिटो र ढिला दुवैको कारण सोधिने बताउनुभयो । 

गत केही समय यता निकुञ्ज क्षेत्रमा तीव्र गतिमा सवारी चलाइएका कारण  सडक दुर्घटना हुनुका साथै सवारी साधनको ठक्करबाट वन्यजन्तुहरू समेत मरेको र घाइते भएकाले टाइमकार्ड लगाएर गति नियन्त्रण गर्दै दुर्घटना रोक्न खोजिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । 

यसअघि केही दिन पहिले कोहलपुर इलाका प्रहरी कार्यालयको पहलमा भएको सबै सम्बन्धित सरोकारवाला सहभागी एक बैठकले निकुञ्ज क्षेत्रमा हुने सवारी दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङगल राख्ने गरिएको छ ।

त्यस्तै, बिग्रेको सवारी साधन मर्मतका लागि एक घण्टाभन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्जभन्दा बाहिर ल्याएर राख्ने र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 

सोही बैठकले निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा आवागमन गर्ने सवारी साधनका लागि टाइमकार्ड लागु गर्ने निर्णय गरेर त्यसको कार्यान्वयनको तयारी पूरा गरेर लागु गर्ने निर्णय गरेको छ । 

कोहलपुर इलाका प्रहरी कार्यालयले निकुञ्ज क्षेत्रमा टाइम कार्ड लागु गरिएपछि अब दुर्घटनामा कमी आउनुका साथै वन्यजन्तुहरूको जीवन पनि सुरक्षित हुने जनाएको छ ।