• १ जेठ २०८२, बुधबार

प्रदेशका योजना कार्यान्वयनको चरणमा

blog

नेपालगञ्जस्थित सडक पूर्वाधार कार्यालय । तस्बिर : गोविन्द शर्मा

गाोविन्द शर्मा
बाँके, असोज १५ गते । 
लुम्बिनी प्रदेशअन्तर्गतका विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालु आर्थिक वर्षमा समयभित्रै योजनाको काम सम्पन्न गर्ने उद्देश्यले प्रक्रिया अघि बढाएको छ ।

प्रदेशअन्तर्गत सडक र पुल निर्माणको जिम्मेवारी पाएको सडक पूर्वाधार कार्यालय बाँकेका प्रमुख डिभिजनल इन्जिनियर ललितबहादुर न्यौपानेले चालु आर्थिक वर्षमा विनियोजन भएका योजनामध्ये करिब ५० प्रतिशत योजनाको ठेक्का टेण्डर भइसकेको जानकारी दिनुभयो ।

सडक पूर्वाधारअन्तर्गत बाँकेमा ८० बढी योजना रहेकोमा ३४ वटाको टेण्डर भइसकेको छ । प्रमुख डिभिजनल इन्जिनियर न्यौपानेले भन्नुभयो, ‘‘बाँकी रहेका योजनाहरूको टेण्डर आह्वानको अन्तिम चरणमा रहेको छ ।’’ सडक पूर्वाधार कार्यालयअन्तर्गत बाँकेमा ७० करोड बढी बजेटका योजना रहेको कार्यालयले जनाएको छ ।

यसैगरी, प्रदेशको अर्को ठुलो विकासे कार्यालयको रूपमा रहेको सहरी विकास तथा भवन कार्यालयले चालु आर्थिक वर्षमा विनियोजन भएका १५ वटा योजनाको टेण्डर आह्वान गरेको छ ।

कार्यालयका निमित्त प्रमुख राम आशिष् दाषले एक हप्ताभित्रै थप १५ योजनाको टेण्डर आह्वान गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । कार्यालयअन्तर्गत चालु आवमा दुई वटा योजना रहेका छन् । दसैँ अघि सम्पूर्ण योजनाको टेण्डर आह्वान  गरिसक्ने तयारी दुवै कार्यालयको रहेको छ ।

सहरी विकास तथा भवन कार्यालयले सडक, सामुदायिक भवन निर्माणसहित बस्ती विकाससँग सम्बन्धित विकास निर्माणका काम गर्दै आएको छ ।

प्रदेशअन्तर्गतका पर्यटन कार्यालय, सिँचाई, खानेपानी, सामाजिक विकास डिभिजन लगायतका कार्यालयले समेत चालु आवका योजना कार्यान्वयनका लागि प्रक्रिया सुरु गरिसकेका छन् ।