• ८ मंसिर २०८१, शनिबार

‘पुस्तकले रोएकालाई हँसाउँदैन !’

blog

रोएका कति छन् रुने जति खुसी पारी हँसाउन्न यो

खोज्दा हुन् धनमान मुक्ति कतिले केही दिलाउन्न यो ।

ऐतिहासिक पहिलो उपन्यास ‘रजबन्धकी’ का लेखकद्वय टुकराज–पद्मराज मिश्रले सुरुमै ‘सानो गन्थन’ भनेर पुस्तकका बारेमा यस्तो श्लोक उल्लेख गर्नुभएको छ । अर्थात् यस पुस्तकले रोएकालाई हँसाउँदैन होला र धन, मान र मुक्ति खोज्नेका लागि पनि केही दिन सक्दैन होला तर यस उपन्यासले विसं १८२७ देखि १८३८ तिरको लमजुङ, तनहुँ, पाल्पाको चालचलन र अवस्थाबारे प्रस्ट पार्न खोजेको छ । सामाजिक, आर्थिक र ससाना राज्यबिचको लडाइँबारे पनि जानकारी दिएको छ । 

नेपाली भाषा प्रकाशिनी समितिले १९९६ सालमा यो उपन्यास प्रकाशित गरेको हो । अर्थात् यो पुस्तक प्रकाशित भएको चौरासी वर्ष पूरा भइसकेको छ । उपन्यासमा १४२ पृष्ठसहित सोह्र खण्ड छन् । ऐतिहासिक पहिलो उपन्यास भएर पनि यसको दोस्रो संस्करण भने आजसम्म प्रकाशित हुन सकेको छैन । 

राजाहरूले प्रजाहरूबाट पैसा लिई बन्धकी राखेको जग्गा नै रजबन्धकी हो । रजबन्धकी यही विषयमा आधारित भएर लेखिएको उपन्यास हो । के त्यस बखत राजाहरूले जग्गा बन्धकी राखेर जनतासँग ऋण लिनु पथ्र्यो ? यसरी ऋण लिँदा राज्यको कुन गति भयो ? आदि प्रश्नको उत्तर यस उपन्यासमा पाउँछौँ । उपन्यासको प्रत्येक खण्डको अन्त्यमा सार खिच्दै एक श्लोक कविता पनि प्रस्तुत गरिएको छ । 

उपन्यासको पहिलो खण्डमा तनहुँका राजा कामराजदत्त सेनका छोराको बिहेमा गएका जन्तीले आपसमा गरेका कुराकानी छ, जस अनुसार राजाहरूले बिहेमा नचाहिँदो फोस्रो ढाँचा देखाए । फलस्वरूप राजाले जनतासँग जग्गा बन्धकी राखी ऋण लिन प¥यो । आफ्नो धन हेरेर मात्र खर्च गर्नु पर्छ । ऋणले मानिस धोद्रो वृक्ष जस्तै हुन्छ । त्यस बखतको समाजलाई दर्साउँदै सार यसरी लेखिएको छ :

निन्दा हुन्छ भनी, विचार नगरी, हेरेर आफ्नो धन

थोरै खर्च गरी, रबाफ नगरे, पर्दैन कर्जा लिन      

धोद्रो समान हुन्छ ऋणले, भन्छन् सबै भन्न त

छाड्दैनन् किन यो रबाफ ? अझ झन् बढ्दै छ चारैतिर ।

दोस्रो खण्ड तनहुँकोे दरबारको सभामा सधैँ हँसिला हुने काजी र गुरुज्यू गम्भीर देखिएका छन् । उनीहरू केही नबोली बसेका छन् । तनहुँका राजालाई चिन्ता परेको छ । नेपालका बहादुर शाह निकै अगाडि बढिरहेका छन् । लमजुङ, तनहुँ लिने उनको ठुलो इच्छा छ । चाँडै नै तनहुँमा हमला गर्न आउने छन् भन्ने गुप्तचरको भनाइ छ । लडाइँका लागि खुकुरी खुँडा बनाउन, रसदपानीको व्यवस्था गर्न र नगदको जोह गर्न पर्ने छ तर यी सबै काम गर्न तनहुँको आर्थिक अवस्था राम्रो छैन । तनहुँका राजा भोगविलासमा मात्र रहे । भविष्यको याद गरेनन् । यही सन्दर्भलाई उल्लेख गर्दै यस खण्डका सार यस्तो छ :

आफ्ना सैनिक शस्त्रअस्त्र धनको यादै नगरी बसी

पल्की भोग विलासमा दिन दिनै छाडेर धन्दा सबै 

केही याद भविष्यतर्फ नदिई छट्पट् भयो बेसरी

छट्पट् मात्र गरी, विचार नगरे, टर्दैन आपत् कुनै ।

तेस्रो खण्ड तनहुँको चोक भन्ने रमणीय गाउँको सेरोफेरोमा छ । त्यस बखतका शक्तिबल्लभ भट्ट ठुला विद्वान् कहलिएका थिए । उनलाई कुनै कुराको दुःख थिएन तर पनि उनको मनमा शरीरलाई विश्राम दिन हुुन्न भन्ने थियो । भट्ट पण्डितलाई भेट्न सिपाही आयो । उनी डराए । सिपाही एकान्तमा उनीसँग कुरा गर्न चाहन्थ्यो । ऊ पण्डितलाई जङ्गलतिर लान खोज्छ । पण्डित जान चाहेनन् । जङ्गलतिर फर्केर उसले सुस्केरा हाल्यो । केही मानिस दौडेर आए । पण्डितजी र महानन्द दुवै भागे । 

चौथो खण्ड लमजुङे राजदूतमा बाजे भन्ने पात्र खडा गरिएको छ । बाजे लमजुङे राजाका पत्रवाहक हुन्, जसले लमजुङे राजाले पठाएको पत्र दिन्छन् । पत्रमा ‘इति सम्वत् १८३५ भाद्र शुल्क ८ रोज मुकाम लमजुङ शुभम् भनेर उल्लेख गरिएको छ, जसमा हजुरको बुबा र मेरो बुबाले आँखा चिम्लँदा पृथ्वीनारायण साहले त्यत्रो राज्य जोरे अझ उनका सन्तानहरूको आत्मातृप्ति भएको छैन । तन्हौं लमजुङ पनि चाँढै लिने उनीहरूको सुर छ रे । हामीहरू माथी उनीहरूले ठूलो दगा गरिरहेछन् । अब जसरी दुइराज्य मिलेर सके नेपाल उनीहरूको हातबाट छिन्ने नभए त्रिशूली नदी तर्न दिन हँुदैन । अहिले चेपेदेखि उता फौज आइपुगेको कुरा थाहा पनि होला ...’ भनी उल्लेख गरिएको छ । 

पाँचौँ खण्ड शक्तिबल्लभको घरमा शक्तिबल्लभ र महानन्द बेपत्ता भएका छन् । दुवैलाई तनहुँका अन्तिम महाराज हरकुमारदत्त सेनका सिपाहीले पक्रेर लग्यो भन्ने हल्ला आयो । दुई जना सिपाहीलाई गोरखाका पक्ष लागे भनेर काटिनै दिए रे । चारैतिर अशान्ति फैलिएको छ । बलिया मानिसलाई सिपाहीमा भर्ना गर्न लगी हाल्थे । गोरखा पल्टन चेपे नदीसम्म आइपुग्यो रे । शक्तिबल्लभकी पत्नी आफ्ना पतिदेव सम्झेर भाव विह्वल भइन् । 

छैटौँ खण्ड रसद पानीमा लडाइँका लागि लड्न सक्ने लडाकुहरूको लगत निकाल्ने काम, रसदपानी जुटाउने काम र लडाइँ झगडाबाट आत्तिएका जनताका मनस्थितिका बारेमा वर्णन गरिएको छ । सातौँ खण्ड तनहुँको तयारीमा जनतालाई सय रुपियाँमा ५० मुरी जग्गा बन्धक दिन्छु भन्दा पनि कोही लिन चाहँदैनन् । तनहुँको आर्थिक अवस्थाको चित्रण उतार्न खोजिएको छ । 

आठौँ खण्ड गाम् गुम्मा तनहुँमा लडाइँको निहुँले लुटपाट फैलिएको छ । राजालाई ऋण दिन सक्नेहरूको लुटेर के फरक  पर्छ र भनेर पतिले पत्नीलाई भनेको पाइन्छ । पत्नी भने यसरी लुट्ने काम नगर भनेर पतिलाई सम्झाउन कोसिस गर्छिन् । राजाले देशमा शान्ति सुरक्षा दिन नसकेर यस्तो स्थिति आएको थियो । 

नवौँ खण्डमा नेपालका ऐतिहासिक कुरा प्रस्ट्याइएको छ । विसं १८०० भन्दाअघि नेपालको राजनीतिक अवस्थाबारे प्रस्ट पारिएको छ । पाटन र काठमाडौँमा आफू आफूमा काटमार थियो । भादगाउँमा पनि भाइभाइबिच झगडा थियो भने गोरखाका राजा पृथ्वीनारायण शाह प्रतापी र वीर थिए । यिनको देशमा आफूआफूमा मेल थियो । उनले तिनै सहर मकवानपुर, पूर्वतिर जिते । उस बखतको नेपाल जितेर पछि त्यहाँका चालचलन केही बिगारेनन् । 

पृथ्वीनारायण शाहका दुई पुत्र थिए, प्रताप सिंह र बहादुर शाह । पृथ्वीनारायण शाहको मृत्युपछि प्रताप सिंह राजा भए । उनको पनि चाँडै नै मृत्यु भयो । उनको मृत्यु हुँदा उनका छोरा रणबहादुर शाह सानै थिए । रणबहादुर शाहलाई राजगद्दीमा राखी बहादुर शाहले त्यस बखत राजकाज चलाउँथे । उनले त्यस बखत बाइसे चौबिसी, तनहुँ, लमजुङहरूलाई आफ्नो राज्यमा मिलाउन कोसिस गर्न थाले । त्यसैको फलस्वरूप तनहुँमा हमला गर्नुभन्दा अघि उनले सेनाहरू बस्ने छाउनीमा बालक राजा रणबहादुर शाहलाई काखीमा लिएर सिपाहीलाई हौस्याउन थाले । उनका सम्बोधनले सिपाहीमा जोश बढ्न गयो ।

दसौँ खण्डमा गोर्खाली सैनिकलाई खत्तम गर्न पँधेरामा विष हाल्ने योजना बनाइएको छ । तनहुँका जनता नै मर्लान् भनेर यो योजनाले भने मूर्तरूप लिन सकेन । एघारौँ खण्ड सल्लाहमा तनहुँको हारका कारण उल्लेख गरिएका छन् । ती कारण यस प्रकार थिए– ढुकुटीमा नगद नारायण नहुनु, दरबारको प्रतिदिन रबाफ बढ्दै जानु, सानातिना काममा ऋणसमेत लिनु, जनताका थोरैभन्दा थोरै रकम पनि तिर्न नसकेर जग्गा बन्धक दिनु । गोरखाले तनहुँ जितेपछि रजबन्धकी लिनेहरूमा चिन्ता फैलिनु आदि थियो । बाह्रौँ खण्ड मेलामा कसरी लमजुङ गोरखामा मिल्यो भन्ने कुरा छ । त्यसपछि चारैतिर फैलिएको चोरी, लुटपाट पनि हरायो भन्ने वर्णन छ । 

तेह्रौँ खण्ड नापीमा तनहुँ र लमजुङका रजबन्धकी लिने जनतालाई पिर परेको छ । गोरखालाई भने यस्तो कुरा सुन्ने फुर्सदै थिएन । सीमा बढाउने कार्य सबैभन्दा प्राथमिकताको कुरा थियो । बाँकी रहेका चौबिसी राज्यसँग सधैँ झगडा । भोटसँग लडाइँ । त्यस बखत रजबन्धकीको उजुर कसले सुनोस् ? यही रजबन्धकीको क्रममा पण्डितजी र शक्तिबल्लभ नेपाल गए । उनीहरू असनको त्यौडको डेरामा बस्न थाले । नेपालमा बिन्ती गर्न आएका उनीहरूको छ महिना बित्यो । कामको अत्तोपत्तो भएन । बिन्ती गर्न पनि डराउँथे । बिन्ती गरेको खण्डमा झन् जग्गा जफत गरेर लेलान् भन्ने पनि थियो । जग्गा नाप्न पनि कर्मचारी गाउँमा गइसकेका थिए । यसै क्रममा अन्त्यमा यस्तो श्लोक रचिएको छ :

पक्का हुन्छ भनी सुनेर दुनियाँ जम्मा भए नाप्नमा

निस्क्यो खेत बढी गरिब बिचरा नेपाल जाने भए 

हिँड्थ्यो कर्मसँगै गए पनि जहाँ, पाउन्न थे फुर्सद

तृष्णा सागरमा डुबेर सहसा उत्रन्न कोही पनि ।

चौधौँ खण्ड माग्नेमा लडाइँ भएका बखतमा चोरी गर्ने पछि गएर माग्ने भएको देखाइएको छ । त्यसरी आर्जेको रुपियाँको सदुपयोग हुँदैनथ्यो । पैसा भट्टीमा रक्सी खाँदै उडायो होलान् । मन परेकी स्त्रीलाई गहना किनिदियो होला । पहिला त लमजुङका राजा लडाइँमा लाग्दा चोर्न सके । अहिले त त्यो अवस्था थिएन । त्यस बखतका डाँका चोरको अवस्थालाई प्रस्ट्याउँदै यो खण्डमा यस्तो कविता रचिएको छ ः

गरेँ सबै यो अरूले नदेखी

भन्दै गरेका सब ती कुकर्म

प्रत्यक्ष राम्रै सित दैव देख्छ

अन्याय देखेपछि दण्ड दिन्छ ।

पन्ध्रौँ खण्ड थमौतीमा विभिन्न राज्यको रजबन्धकी थमौती हुन थाल्यो । श्रीपञ्चमीको दिनको वर्णन यस खण्डमा गरिएको छ । वसन्त श्रवण गर्न जागिरदारलाई हनुमानढोकामा उर्दी जारी थियो । त्यही दिन राजेन्द्रविक्रमबाट वसन्त श्रवण भयो । अनि राजेन्द्रविक्रम सरस्वतीको पूजा गर्न घोडामा गए । सरस्वती स्थान पुग्ने उकालोमा तनहुँका त्यही दुई जना ब्राह्मण थिए । 

महाराज आउनेबित्तिकै दुई जना कराए । महाराज अरू सबैको रजबन्धकी थामिए, हाम्रो पनि थामिनु प¥यो । महाराजले सोधे– कहाँको रजबन्धकी ? ब्राह्मणहरूले भने– तनहुँको । महाराज राजेन्द्रले फेरि सोधे– कति रुपियाँको ? ब्राह्मणले फेरि भने– दुई सय तेत्तीस रुपियाँ दस आनाको । महाराजले सोधे– कसको पालाको ? उनीहरूले भने– राजा कामराजदत्त सेनले छोराको बिहेमा लिएको । महाराज हाँसे र भीमसेनपट्टि फर्केर उनीहरूको बिन्तीपत्र लिन अह्राए । भीमसेनले बिन्तीपत्र लिए र भोलि अड्डामा आउनू भने । केही दिनपछि तनहुँका ती दुई ब्राह्मणका पनि पालो आयो । तनहुँका राजाले दिएको तमसुक हेरियो । अन्त्यमा रजबन्धकीको थमौती भयो । यसै क्रममा सत्यको धन भुसिँदैन भन्दै एक श्लोक कविता लेखिएको छ :

धन्दा गर्थे सत्यको मात्र खाली

ज्यानै जाओस् न्यायमा मात्र चल्थे 

गर्थे जम्मा न्यायले मात्र पैसा

त्यस्तो पैसा के मासिन्थ्यो बिचैमा ।

सोह्रौँ खण्ड ऋण मोचनमा रजबन्धकीमा दिएको रुपियाँ फिर्ता आयो र जग्गा पनि रैकर हुने भयो । यस खण्डको अन्त्यमा सबै एकचोटि नास हुने हो भनेर यस्तो कविता लेखिएको छ : 

संसार मिथ्था सब, नासिने हो

अड्दैन केही पछि सम्म लाई

देखिन्छ थोरै दिन सम्म झल्ल

मासिन्छ सारा, अगि झैँ रहन्छ ।

यसरी रजबन्धकी उपन्यास समाप्त हुन्छ । उपन्यास प्रकाशित हुँदा लेखकहरूको उमेर टुकराज मिश्रको ३० वर्ष र पद्मराज मिश्रको २५ वर्षको थियो । त्यति बेला जुद्धशमशेर प्रधानमन्त्री थिए । यो उपन्यास प्रकाशित भएपछि उनले यस उपन्यासको प्रभावमा परेर रजबन्धकी जग्गाको लगत लिई निखन्ने काम गरेका थिए भनिन्छ ।   

Author

विमलेन्द्र मिश्र