• ८ मंसिर २०८१, शनिबार

रौनक पुलुकिसी र लाखे नाचको

blog

काठमाडौँको इन्द्रचोकबाट ४०/५० मिटर उत्तरमा किलागल टोल छ । यहीँबाट पुलुकिसी नाच निस्कन्छ । कुनै समय यहाँ जङ्गल र हात्तीसार थियो । किलागललाई नेपाल भाषामा ‘किसिगल’ भनिन्छ । नेपाल भाषामा हात्तीलाई ‘किसी’ र गोठलाई ‘गल’ भनिन्छ । उहिले हात्तीसार रहेको ठाउँ हुनाले ‘किसिगल’ नाउँ रहन गएको हो । यसैबाट अपभ्रंश भई किलागल भनिएको हो ।

इन्द्रजात्राका अवसरमा काठमाडौँका विभिन्न चोक र गल्लीमा जारी नाचहरूमा पुलुकिसी नाच विशेष आकर्षणमध्ये एक हो । इन्द्रजात्राको आठौँ दिन अर्थात् आश्विन कृष्णचतुर्दशीका दिन कुमारीको रथ तान्ने समयमा पुलुकिसी नाच पनि धूमधामसँग प्रदर्शन हुन्छ । बाँसको मान्द्रो, जसलाई नेपाल भाषामा ‘पुलु’ भनिन्छ । यस मान्द्रोबाट बनेको हात्तीको आकृतिभित्र दुई जना मानिस उभिएर नाच्ने गर्छन् । 

नाचमा विशेष प्रकारको बाजा बजाइन्छ । धिमेबाजाको धुनमा टाउको र जिउ हल्लाउँदै सडकमा दगुर्नु नै यसको प्रमुख विशेषता हो । यो बेला दर्शक टोपी फुकालेर पुलुकिसीप्रति सम्मान भाव प्रकट गर्छन् । जसले टोपी फुकाल्दैन, हात्तीले टोपी खोसी फ्याँकी दिन्छ । यो दृश्य देखेर दर्शकदीर्घाका मानिस हाहाहा र हूहूहू गरी रमाउँछन् ।

पुलुकिसीलाई इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा लिइन्छ । स्वर्गबाट आएको ऐरावत हात्तीले इन्द्रलाई खोज्न भौँतारिँदै गरेको अवस्था यस नाचमा चित्रण गर्न खोजिएको पाइन्छ । नेवार समुदायमा प्रचलित मिथक अनुसार आमा बसुन्धरालाई विशेष पूजाका लागि पारिजातको फूल र कर्कलो आवश्यक भयो । पारिजातको फूल स्वर्गमा पाइँदैनथ्यो । त्यसैले इन्द्र पृथ्वीलोकमा आए । काठमाडौँको भीमसेनस्थानको नजिकै एउटा बगैँचा थियो । त्यहाँ पारिजात फुलिरहेको थियो । 

बगैँचाका माली तान्त्रिक विद्या जान्ने थिए । फूल  टिप्न गएपछि इन्द्रलाई मालीले तान्त्रिक शक्तिले बाँधेर राखे । इन्द्रलाई नदेखेपछि ऐरावत हात्ती भने यताउति भौँतारिन थाल्यो । किलागलका ज्यापु समुदायले उक्त हात्ती राम्रो देखेपछि समातेर हात्तीसारमा राखे । पृथ्वीलोकमा रहेका इन्द्र र ऐरावतलाई छुटाउन वसुन्धरा यहाँ आइन् । यस बन्धनबाट मुक्त गराएबापत धान पाक्नका लागि आवश्यक हुस्सु उपहार दिएर गएको विश्वास गरिन्छ । त्यसैले यस मौसममा बिहान र बेलुक हुस्सु (कुहिरो) लाग्ने गरेको भनिन्छ । ऐरावत हात्तीलाई पनि प्रत्येक वर्ष इन्द्रजात्रामा आई नाच्ने वाचा गराई छाडिएको भनिन्छ । तसर्थ त्यस बेलादेखि पुलुकिसि नाच नाच्न थालिएको भनिन्छ । 

एक अर्को किंवदन्ती अनुसार प्राचीनकालमा हात्ती भएको जङ्गल किलागल । एक दिन बनेपाका एक राजा सिकार खेल्ने क्रममा धेरै हात्तीले उनलाई लखेटे छन् । ज्यान जोगाउनै मुस्किल परेका यी राजाले इष्टदेवी श्वेतकालीलाई प्रार्थना गरे ज्यान बचाइदिन । राजाको पुकार सुनेर देवीले आफैँ एउटा ठुलो सेतो हात्तीमा परिणत भई सम्पूर्ण हात्तीलाई लखेटेर बचाए । श्वेतकालीको आदरभावमा यी देवीको प्रतीक सेतो हात्तीको नाच नचाउने चलन चलेको हो ।

इन्द्रजात्रामा पुलुकिसी जस्तै लाखेनाच पनि उत्तिकै रमाइलो हुन्छ । लाखेनाच मूलतः उपत्यकामा नचाइने नाच हो । काठमाडौँको मजिपाट टोलबाट हरेक वर्ष इन्द्रजात्राको समयमा निकालिने मजिपा लाखेलाई शान्त भैरवका रूपमा पनि लिइन्छ । कुमारीको रथयात्रा गर्ने बेलामा देवीलाई बाटो देखाउने भन्दै रथको अघिअघि मजिपा लाखे नाच्दै हिँडने प्रचलन पनि छ । विशेष गरी मजिपाट टोलका रञ्जितकारहरूले लाखेलाई देवताका रूपमा मान्दै आएका छन् । लाखेलाई तुलजा भवानी सँगसँगै कर्णाटकबाट काठमाडौँ ल्याइएको हो भनी विश्वास गरिन्छ । मजिपा लाखे हल्चोकको शान्त भैरवको एक रूप हो भनिन्छ ।

उपत्यकामा यसरी लाखे नाच नचाउने चलन कहिलेदेखि सुरु भयो भन्ने सन्दर्भमा राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा भित्र्याएका हुन् भनिन्छ । नुवाकोटबाट ल्याइएको लाखे चाहिँ सबल बहालका द्यःला लाखे हो भनिन्छ । भाषा वंशावली अनुसार लाखे नाचको चलन काठमाडौँका राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ छ । 

डरलाग्दा ठुलो अनुहार र झ्याप्प परेको बाक्लो कपाल भएको रातो जामा र लुगा लगाएर घँगलाको आवाज निकाल्दै सहरबजारमा लाखे देखा पर्दा साथमा झ्यालिन्चा (आकाश भैरवको प्रतीक) पनि सँगसँगै रहने गर्दछ । विशेष गरेर लाखे नाच धाः र भुस्याः बाजा बजाएर नचाइन्छ । खिं, पछिमा, नायखिं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरीको धुनमा पनि लाखे नचाइन्छ । इन्द्रजात्रा अवधिभर लाखे पाँच प्रकारले नाच्ने गर्दछ । 

विसं ११५४ तिर राजा नान्यदेवले सिमरौनगढ निर्माण गरेको प्रसङ्ग भाषावंशावलीहरूमा पाइन्छ । रावणको राज्य लङ्काबाट सिमरौनगढ पुगेकी एक राक्षसनी त्यहाँका कुनै एक भारदारसँग प्रेममा परी नान्यदेवको दरबारमा परिचारिका भई काम गर्दै थिई । एक दिन ती दुई प्रेमीको कुराकानी भयो, “मलाई लङ्कादेखि यहाँको दरबारसम्म तान्नु तिम्रो मायाले गर्दा हो । म राक्षसनी हुँ तर खराबी गर्ने चाहिँ होइन ।” 

भारदार प्रेमी भन्छन्, “उसो भए हाम्रो महाराजको यस वनलाई एउटा सुन्दर नगर बनाउने योजना छ । त्यसमा हामीले सहयोग गर्न सक्छौँ । कुरा त ठिक हो तर मान्छेले हामी लाखेलाई विश्वास गर्दैनन् नि । हामीलाई यो नगर बनाउने जिम्मा दिए एकै रातमा तयार गर्न सक्छौँ ।” 

राजाबाट नगर बनाउन अनुमति पाएपछि सोही अनुसार भारदारकी प्रेमिका राक्षसनीले लङ्काबाट लाखे बोलाई एकै रातमा ‘सिमरौनगढ’ नगर बनाइदिई । सिमरौनगढबाट तलेजु भवानी पनि रहेकाले लाखेहरू नगर सुरक्षाका लागि त्यहीँ बसे । समय र परिस्थितिवश तलेजुलाई नेपाल (काठमाडौँ) भिœयाएपछि त्यसको सुरक्षासँगै लाखे पनि नेपाल आएका थिए । 

कुमारी तलेजुकी प्रतीक हुन् । इन्द्रजात्रामा कुमारीको जात्रा हुने भएकाले उसको सुरक्षाका लागि लाखे पनि सँगै नचाइने गरिएको पनि इतिहासमा उल्लेख भएको पाइन्छ । किंवदन्ती अनुसार काठमाडौँमा एक ज्यापु युवती थिइन् । उनी आमाबुवाका साथ खेत जाने गर्थिन् । बाटामा एक लाखे उक्त ज्यापु युवतीको सौन्दर्यबाट मोहित भए । उनीलाई हेर्न सहरभित्रै लुकिछिपी आउन थाले । लाखे ज्यापुका रूपमा खेतमा आई सहयोग गर्ने र उक्त ज्यापु युवतीसित नजिकिन थाले । उनीहरूबिच माया बढ्न थाल्यो । त्यसपछि त लाखे लुकिछिपी ज्यापु युवतीको घरमा सुत्न थाले । छिमेकीले चाल पाई चियो गर्दा मानिसभन्दा फरकको रूप देखे । छिमेकीले राजाकहाँ सुटुक्क खबर गरे । राजाले सुराकी लगाएर लाखेलाई समाते । 

राजाकहाँ पुगेका लाखेले आफू एक ज्यापु युवतीसितको अगाध प्रेममा रहेकाले मानवको सहयोगी बनी बस्ने बिन्ती चढाए । राजाले पनि उनको कुरामा विश्वास गरी उनको इच्छा अनुरूप काम गर्न छुट दिए । लाखे खुसीले नाच्न थाल्यो । उसको नाचको आकर्षणले उपत्यकाका नेवारहरू मोहित भए । लाखे नाच्न थालेदेखि उपत्यकामा भूतप्रेतको डर हट्न थाल्यो । त्यसैले उनी लाखे भए पनि दैवी शक्ति भएको मानेर पूजा गर्न थालियो । लाखेलाई शान्तभैरवका रूपमा पुज्न थालियो । इन्द्रजात्राको अन्तिम दिन अर्थात् नानिचायाःको दिनमा पुलुकिसी जात्रा गर्ने र लाखे नाच नाच्नेहरू एकै ठाउँमा भेला भएर भोज खाँदै रमाइलो गरी जात्रा समापन गर्छन् ।  

 

Author

त्रिचन्द्र प्रतीक्षा