सिराज खान
नेपालगन्ज, असोज १२ गते । विभिन्न चाडपर्वहरु नजिकिंदै गर्दा बाँकेमा चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्र पारिएको छ । पछिल्लो पटक गरिएको संयुक्त बजार अनुगमनका क्रममा नेपालगन्जको पुष्पलालचोकस्थित एक भेटेरिनरी पसलबाट २५ हजार रुपियाँ बराबरका म्याद सकिएका औषधि जफत गरेर जरिवाना गरिएको अनुमन समितिले जनाएको छ ।
बजार अनुगमनमा सहभागी नेपाली उपभोक्ता संरक्षण महासङ्घ बाँकेका अध्यक्ष डा. विनोद कर्णले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पनि ठगी हुनेगरेकोमा दुःख लागेको बताउनुभयो । उहाँले संवेदनशील मानिने औषधि बिक्री समेतमा खेलवाड गरिने गरिएको पाइएकाले स्थानीय बजारमा उपभोक्ता ठग्ने क्रम दिनदिनै बढ्दै गएको महसुस भएको बताउनुभयो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख विष्णुप्रसाद धितालले बिलबिजक र पसल दर्तालाई व्यवसायीले प्राथमिकतामा नराखेको पाइएको जनाउँदै बजारमा बेथिति रहेको बताउनुभयो ।
उहाँका अनुसार बजारका अधिकांश किराना तथा डेरीहरूमा बिनाबिल खरिद गरिएका सामानको बिगबिगी भएको पाइएको छ । म्याद नाघेका खाने सामानको विक्री पनि खुला रुपमै भइरहेको उहाँले बताउनुभयो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले अनुगमनका क्रममा मापदण्डविपरित अनैतिक कार्य गर्ने दुईवटा किराना पसल, एउटा एग्रोभेट, एउटा मोबाइल पसल र एउटा रेडिमेड कपडा पसललाई कारवाही गरेर जरिवाना असुल गरिएको बताउनुभयो ।
उहाँले अनुगमनका क्रममा भेटिएको ३२ हजार रुपियाँ बराबरको अखाद्य वस्तुहरु नष्ट गरिएको पनि बताउनुभयो । उपभोक्ता हित सरंक्षण मञ्च बाँकेका प्रभातसिंह ठकुरीले बजार अनुगमनका क्रममा म्याद नाघेको र सामानमा म्याद नै नभएको वस्तुको बिक्री वितरण सामान्यजस्तो देखिएको बताउनुभयो ।
उहाँले अखाद्य वस्तुको खुलेआम बिक्री वितरण भइरहेको, सडेको, ढुसी लागेको, म्याद नाघेको कच्चा पदार्थको प्रयोग भएको समेत पाइएकाले अनुगमनलाई निरन्तर जारी राख्नुपर्ने बताउनुभयो । संयुक्त बजार अनुगमन समितिले दशैं र तिहारसम्म बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।