चीनमा जारी १९ औँ एसियाली खेलकुद (एसियाड) मा इतिहासमै सबभन्दा धेरै खेलाडी सहभागी गराएको नेपालले पदकको आशा गरिएका तेक्वान्दो, बक्सिङ, जुडो, उसु जस्ता खेलमा पनि निराश बन्नु परेको विडम्बना छ । एसियाडमा नेपालले पहिलो पटक २९ खेलमा २५३ खेलाडी सहभागी गरायो तर खेलका पदक धेरै खेलाडीका निम्ति आकाशको फल भए । प्रतिस्पर्धामा उत्कृष्ट कौशल प्रदर्शन हुनु पर्छ । पर्याप्त राष्ट्रिय लगानी, तयारी, अभ्यासबाट खारिएका अन्य देशका खेलाडीसामु कम लगानी, अभ्यास र प्रोत्साहनको अभावमा नेपाली खेलाडी कमजोर देखिनु स्वाभाविक नै ठान्नु पर्छ । अधिकांश प्रतिस्पर्धाका प्रारम्भिक चरण नै पार गर्न नसकेको अवस्थामा क्रिकेट खेलाडी टोलीले चाहिँ आशाको दीप जगाएको छ । राष्ट्रध्वजा उँचो पार्ने यत्न गरेको छ ।
एसियाडको पाँचौँ दिन बुधबार नेपालको पुरुष क्रिकेट टोलीले विश्व कीर्तिमानी जित हात पा¥यो । नेपालले मङ्गोलियामाथि २७३ रनको विश्व कीर्तिमानी जित निकालेको हो । जितका लागि ३१५ रनको विश्व कीर्तिमानी विशाल लक्ष्य पछ्याएको मङ्गोलिया १३.१ ओभरमा सबै विकेटको क्षतिमा ४१ रनमा समेटिएको थियो । नेपालको यो विश्व टी–२० क्रिकेटमा कीर्तिमानी ठुलो स्कोर र जित हो । यसअघि कुनै पनि टोलीले तीन सय रन छोएको थिएन । यसै गरी एकै खेलमा २६ छक्का हान्न सक्नु अनि दीपेन्द्रसिंह ऐरीले नौ बलमै अर्धशतक बनाउनु ठुलो कुरा हो । त्यस्तै कुशल मल्लले ३४ बलमै शतक बनाउन सक्नु कीर्तिमानी परिणाम भएका छन् । यसो त पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० खेलेको कमजोर मङ्गोलियालाई हराउनु नेपाली टोलीका लागि ठुलो कुरा होइन तथापि यो जितले नेपाली क्रिकेट सामथ्र्य प्रस्तुत गरेको छ । तथापि यो सफलता नै पर्याप्त होइन, अब नेपाली टोलीले अघिल्ला चरणमा उच्च मनोबलयुक्त स्पर्धा गरी पदक हात पार्न प्रयास गर्नुपर्ने छ । विश्व च्याम्पियन भइसकेकाहरूसँगको प्रतिस्पर्धामा नतिजा जे त होला, नेपालले राम्रो खेलेर सम्मानजनक हैसियत पक्कै देखाउने छ भन्ने विश्वास नेपाली खेलप्रेमीमा छ ।
पक्कै पनि नेपाली खेलाडीले नेपाल भविष्यमा क्रिकेट शक्ति बन्न सक्ने आभा चम्काएका छन् । गत वैशाखमा घरेलु मैदानमा एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा चयन भएको थियो । विश्व क्रिकेटमा चम्किएका भारत, पाकिस्तानसँग टक्कर लियो एसिया कपमा । नेपालले ती क्रिकेट महाशक्ति समूहलाई हराउन सकेन तर अनुभव हासिल ग-यो, प्रतिस्पर्धी क्षमता बढायो । नेपाली टोलीका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, सोमपाल कामी जस्ता आत्मविश्वासी खेलाडी प्रोत्साहित भए ।
यसो त विगतमा सरकार एवं निजी क्षेत्रबाट समेत घोषित विभिन्न पुरस्कारबापतको रकम अझै हात नपारेको गुनासोसहित चीनतर्फ प्रस्थान गरेको थियो नेपाली टोली । खेलाडीलाई लोभ्याउने, उक्साउने तर पुरस्कार रकम दिन आलटाल गर्ने प्रवृत्ति लज्जास्पद छ । त्यसले खेलाडीलाई प्रोत्साहन होइन, निराशा दिन्छ । वास्तवमा भविष्यको आभा जगाइरहेका क्रिकेट खेलाडीलाई प्रोत्साहनसहित उच्च प्रतिस्पर्धी क्षमतामा पु-याउन नवनिर्वाचित क्रिकेट सङ्घ नेपाल (क्यान) मरिमेट्नु आवश्यक छ । क्यानको नेतृत्व टोलीमा पूर्वखेलाडी पारस खड्कासमेत पुग्न सफल भएको परिप्रेक्ष्यमा अब क्यान विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट आर्थिक लाभ लिएर गर्जो टार्ने ध्याउन्नबाट मुक्त हुने छ भन्ने विश्वास खेलाडीले लिएका छन् । क्यान राजनीतिक खेलमञ्च बन्न अब छाड्नु आवश्यक छ ।
नेपालको क्रिकेटलगायत अन्य खेल क्षेत्रमा समान खालका समस्या छन् । सबै खेलमा व्यवस्थापकीय पक्ष असाध्य कमजोर र बढी राजनीतीकरण छ । हरेक खेलका सङ्घहरू छन् तर तिनमा अधिकांश राजनीति हाबी छ, पदाधिकारीहरूमा अन्तर्राष्ट्रिय दातव्य हात पारी खाने दाउ प्रभावी छ । खेलाडीले पाउँदै आएका र घोषित सीमित सेवासुविधा अवरुद्ध छन् । निजी (कर्पोरेट) क्षेत्र खेलमा रमाउँछ तर प्रायोजक बन्ने, खेल प्रवर्धन गर्ने अनि आफूले पनि आर्थिक लाभ उठाउन अग्रसर देखिन्न । राज्यले विद्यालय तहदेखि नै बालबालिकाको रुचि परीक्षण गरी खेल प्रशिक्षण दिने संस्थागत चासो दिएको देखिन्न । खेल पूर्वाधार निर्माण बेवास्तामा छ । यस्तो अवस्थाले नयाँ पुस्तामा खेल्ने जाँगर सिर्जना कसरी होस् ? नेपाली खेलाडीको सम्पत्ति जनसमर्थन मात्र देखिन्छ; त्यसलाई प्रेरणा, तालिम, प्रोत्साहन र व्यावसायिक भविष्य निर्माणको अवसर दिन पर्याप्त ध्यान र लगानी नभएसम्म अन्तर्राष्ट्रिय पदकहरू केवल सपना मात्र हुने छन् ।