नेपाली जनजीवनमा रात्रिजीवन उतिसारो चर्चा नभएको विषय हो । रात्रिजीवनको प्रसङ्ग कोट्याउँदा धेरैका मन–मस्तिष्कमा सहरका नाइट क्लब, डिस्कोथेक, पब, बार, डान्स बार, क्यासिनोलगायत पश्चिमी शैलीका खर्चालु र चमकदमकपूर्ण रात्रिचर्याको तस्बिर आउँछ ।
रातको निशाचरमा नगरका पब वा बारमा गएर मद्यपान गर्नु, अनेकन प्रकारका गाना–बजानामा सामेल हुनु तथा निर्बन्ध किसिमले घुमफिर गरी मनोरञ्जनपूर्ण गतिविधिमा सरिक हुनुलाई शब्दकोशले रात्रिजीवन भनेर परिभाषित गरेको पाइन्छ । रात्रिजीवनको पश्चिमा परिभाषा बहुधा साँघुरो र अपूर्ण देखिन्छ ।
हरेक समाजमा रात्रिजीवन हुन्छ । नेपाली समाज यसको अपवाद हुने कुरै भएन । हाम्रो समाजमा पनि आफ्नै पाराको रात्रिजीवन छ । खासगरी हामीकहाँ विद्यमान रात्रिजीवनलाई न परिभाषाको दायराभित्र राखिएको छ न त यसलाई सैद्धान्तीकरण नै गरिएको छ । यस दृष्टिले नेपाली समाजमा रात्रिजीवनको अवधारणा नै नभएको जस्तो देखिन्छ । यद्यपि कुनै पनि समाज रात्रिजीवनरहित हुन सक्दैन ।
अघि नै भनियो– हरेक समाजमा रात्रिजीवन हुन्छ भनेर । त्यसलाई हामीकहाँ यथोचित किसिमले परिभाषित र सैद्धान्तीकरण नगरिनु बेग्लै कुरा हो । गहिरिएर सोच्ने हो भने पश्चिमा मान्यताबाट अभिप्रेरित सहरिया रात्रिजीवनभन्दा ग्रामीण रात्रिजीवन कैयौँ गुणा फराकिलो र गुनिलो हुन्छ । ग्रामीण रात्रिजीवनमा सामाजिक तथा सांस्कृतिक जीवनका अगणित आयामहरू जोडिन आइपुग्छन् ।
हो, ग्रामीण रात्रिजीवन सहरको जस्तो चमकदमकपूर्ण हुँदैन । खर्चालु पनि हुँदैन । गाउँबस्तीको आफ्नै किसिमको रात्रिजीवन हुन्छ, त्यो रैथाने पाराको । सकभर गोधूलि साँझले ग्रामीण रात्रिजीवनको शङ्खघोष गर्छ । पश्चिमी क्षितिजमा पहेँलपुर आभा छर्दै घाम डुब्न लाग्दा गाईबस्तुका बथान धुलो उडाउँदै गोठतिर तेर्सन्छन् । यसले दिनको बिदाइ र रातको आगमनलाई सङ्केत गर्छ । ग्रामीण रात्रिजीवनमा रङ्ग भर्न सघाउने गोधूलि साँझ सामान्य शब्दचित्र यही हो ।
गोधूलि साँझको आगमनसँगै ग्रामीण रात्रिजीवनले विस्तारै गति लिन थाल्छ । घाम पश्चिमी क्षितिजमा अन्तरध्यान हुँदै गर्दा झ्याउँकिरी, भ्यागुता, किटपतङ्ग र चराचुरुङ्गीले एक प्रकारको लय र रागमा सन्ध्या जगाउन थाल्छन् । यससँगै ग्रामीण रात्रिजीवनले एउटा लय समात्छ । यही बेला मेलापात तथा वनपातमा पाखुरा जोतेर परिवारका सबै सदस्य घर फर्कन थाल्छन् ।
घरका आमा भोकाएका कर्मजीवी परिवारजनलाई भात–भान्छाको तयारीमा जुट्छिन् । धुरीबाट धुवाँ पुत्पुताउन थाल्छ । ग्रामीण जीवनमा बेलुकीको भोजनलाई ‘सुखको मानु’ भन्ने चलन छ । बेलुकी दिनभरिको थकाइ बिर्सिएर फुर्सदिलो किसिमले परिवारका सदस्यले भात–भान्छा गर्न पाउने, थकाइ मार्ने समय जुट्ने र सुखदुःखको कुरा गर्ने अवसर जुट्ने भएकाले बेलुकाको भोजनलाई ‘सुखको मानु’ भनिएको हुनु पर्छ ।
ग्रामीण रात्रिजीवन सामाजिक तथा सांस्कृतिक वृत्तको बृहत्तर दायरामा हेर्न सकिन्छ । यसका केही आयामः
भजनकीर्तन
स्थानीय टोलछिमेकको मन्दिर वा देवस्थलमा साँझ–बिहान भेला भई भगवान्को नाममा भक्तिगान गर्ने र स्वरबद्ध किसिमले हरि नाम जप्ने साङ्गीतिक क्रियाकलाप नै भजनकीर्तन हो । यसबाट गायन दस्ता र श्रोतागणलाई आत्मिक सुख त मिल्छ नै, नजानिँदो किसिमले कला र गलाको विकासमा पनि उत्तिकै योगदान पनि मिल्छ । स्थान अनुसार भजनकीर्तनका अनेकन भाका, राग र शैली प्रचलित छन्् । जस्तैः झ्याउरे भजन, चुड्का भजन, टुङ्ना भजन, आरती भजन आदि ।
भजनकीर्तनको श्रीवृद्धिमा हाम्रा असङ्ख्य पुर्खाले योगदान दिएका छन् । जनकलाल शर्माले आफ्नो कृति ‘जोसमनी सन्त–परम्परा र साहित्य’ मा नेपालका साधु–सन्तले भक्तिसङ्गीत तथा सन्त साहित्यमा दिएका योगदानबारे चर्चा गरेका छन् । समाज सुधारक सन्तका रूपमा कहलिएका ज्ञानदिल दासले भक्तिसङ्गीतमार्पmत समाजमा विद्यमान जातीय विभेद तथा उचनिच व्यवहारप्रति जनचेतना जगाउन स्तुत्य योगदान दिएको बिर्सन सकिन्न ।
विगतमा भजनकीर्तन सँगसँगै कतिपय गाउँमा रातको फुर्सदिलो समयमा बालुन गाउने र बालुनमा वर्णित पात्रको चरित्र अभिनय गर्ने जस्ता रचनात्मक क्रियाकलाप पनि हुन्थे । जनकविकेशरी धर्मराज थापाले आफ्ना कृति ‘गण्डकीका सुसेली’ मा गण्डकी भेगमा प्रचलित बालुनका अनेकन संस्करण पेस गरेका छन् । उनले आजभन्दा पाँच दशकअघि कास्कीको घार्मी गाउँमा सङ्कलन गरेका बालुनको नमुना यस्तो छः
अगि लागे बृहस्पति, पछि लागे जून,
माटो समाई अन्ना, ढुङ्गो समाई धन
गोठभरि कामधेनू तबेलामा घोडा
बालूनेका आशीर्वादले पाउनु है छोरा
(थापा, २०३०, पृ.७४)
भजनकीर्तनको समग्र परिपाटी ईश्वरप्रतिको आस्था, साधना र आत्मारञ्जनाको त्रिवेणी हो । हाम्रोजस्तो धर्मभीरु समाजमा भजनकीर्तनले एउटा महत्वपूर्ण साङ्गीतिक सम्पदाका रूपमा रहेको भक्तिसङ्गीतलाई आड–भरोसा दिँदै आएको पाइन्छ, जुन ग्रामीण रात्रिजीवनको एउटा महत्वपूर्ण हिस्सा बनेको छ ।
आहान हाल्ने
दिउँसो काममा व्यस्त रहेका परिवारजन साँझपख घरमा भेला भएपछि स्वाभाविक किसिमले सुखदुःखका कुरा चल्छ । यसमा छरछिमेकको पनि सहभागिता रहन्छ । अँगेनु वरिपरि घिरिन्तै बसेर कुराकानीको सिलसिला सुरु हुन्छ । यस व्रmममा आहानले पनि स्थान पाउँछ । सामान्यतया आहान हाल्ने काम परिवारका ज्येष्ठ सदस्य (बाजे–बज्यै) ले गर्छन् ।
हाम्रो सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा कोरलिएका आहानमा ब्रह्माण्डको उत्पत्ति र पृथ्वीमा प्राणीको आगमन, जीवन–दर्शन, जीवन–भोगाइ तथा नीतिशास्त्रसँग जोडिएका घतलाग्दा, चोटिला र मर्मभेदी अभिव्यक्ति भेटिन्छन् ।
आहान हाल्ने उपयुक्त समय साँझ नै हो । त्यसो त दिनमा आहान हाल्नुहुँदैन भन्ने मान्यता छ । यसका पछाडि एउटा बेग्लै मनोविज्ञान छ । दिनको ऊर्जाशील समयमा कथा–कहानी सुनाएर बस्दा उत्पादनशील कामकाजमा अवरोध पुग्छ भन्ने मान्यताले दिनमा आहान हाल्न निषिद्ध गरिएको हुनु पर्छ । आहान हाल्ने अग्रज पुस्ताले आहानका साथमा जीवन–भोगाइका अनेकन अनुभव र अनुभूतिहरू श्रुतिमधुर भाषामा पस्कन्थे ।
उनीहरूका जीवन–भोगाइमा वास्तविक जीवनका वास्तविक कथा पनि सुन्न पाइन्थ्यो । गाउँ अनिकालग्रस्त बन्दा नौडाँडा काटेर बेसाहा खोज्न जाँदा सहनुपरेको भुक्तमान, कुरा मात्र सुन्दा पनि रौँ ठाडो हुने, लडाइँको वर्णन अनि एक पाइला मात्र तलबितल पर्दा मृत्युवरण गर्नुपर्ने खतरनाक बाटो छिचोलेर नुन बोक्न भोट जाँदाको प्रसङ्ग सुन्दा श्रोतागणको मन–मस्तिष्कमा भावनाको आँधीहुरी चल्थ्यो ।
पाका पुस्ताले आफ्ना जीवन भोगाइबारे कुरा गर्दा भूतप्रेत वा मसानसँग जम्काभेट भएका प्रसङ्ग आउँथे । रातको समयमा भूतप्रेतका कुरा गर्दा सबै जना भयग्रस्त हुन पुग्थे । घरबाट बाहिर निस्कन पनि धक मान्थे । भूतप्रेतका किस्सासँग स्थानीय स्थाननाम, छहरा–छाँगा, पाखापखेरा र स्थानीय जीवनपद्धति पनि जोडिएका ऐतिहासिक तथा सांस्कृतिक अवयवसँग जोडिएर आउँथे ।
यसबाट भूतप्रेतको कथा सुन्ने नाममा नयाँ पुस्ताले स्थानीय भूगोल, इतिहास र जीवनशैलीसँग परिचित हुने अवसर जुटाउँथ्यो । यसरी कथाकुथुङ्ग्री, भूतप्रेतका किस्सा र जीवन–भोगाइका यावत् आयाम सुन्ने–सुनाउने पुरानो अन्तव्रिर्mयात्मक परम्परालाई श्रुतिपरम्पराको सुन्दर पक्ष मान्न सकिन्छ ।
बढ्दो पारिवारिक विग्रह, पुस्तान्तरणको बढ्दो खाडल, सामाजिक तथा सांस्कृतिक जीवनमा श्रव्यदृश्य माध्यम तथा सोसल मिडियाको हस्तक्षेपकारी भूमिकाको बढ्दो ग्राफ, बढ्दो सहरीकरण आदिले आहान हाल्ने परम्परालाई नै आहानमा परिणत गरिदिएको छ ।
शास्त्रपाठ
२००७ सालको राजनीतिक परिवर्तनभन्दा अघि बहुसङ्ख्यक नागरिक अपठित थिए । त्यसबखत लगभग दुई प्रतिशत नागरिक मात्र पठित थिए भन्ने भनाइ छ । त्यस समयमा बनारस गएर विद्या आर्जन गर्नेहरू बढी थिए । सानो तप्का गाउँघरका पिँढी शिक्षा तथा भाषा पाठशालाका उत्पादन थिए । उनीहरूको साँझपख ढिब्रीको मधुर प्रकाशमा वेद, पुराण, रामायण, महाभारत, गीता आदिजस्ता धर्मशास्त्र पाठ गर्थे । कोही कोही शास्त्रार्थ पनि सहभागी हुन्थे ।
भानुभक्तीय रामायणको युग सुरु भएपछि भाका हालेर रामायण पाठ गर्ने प्रवृत्ति विकास भएको पाइन्छ । यसबाट अपठितहरूले पनि अरूबाट सुनेको आधारमा रामायणको पाठ मुखाग्र गर्न थाले । अर्कोतिर ग्रामीण समाजमा लोकपद्यका रूपमा रहेका शिलोक (श्लोक) उच्चारण गर्ने चलन पनि थियो । जीवन र जगत्लाई लोकपद्यमा उतार्ने र श्लोक हाल्ने चलन पनि ग्रामीण समाजमा अभ्यासमा रहन्थ्यो ।
देशका विभिन्न भागमा विद्यालय खुल्दै गएपछि पढन्तेहरू शास्त्रपाठ गर्नतिर नभई पाठ्यपुस्तक पढ्ने दिशामा प्रवत्त हुँदै जान थाले । उनीहरू ढिब्री वा लालटिनको प्रकाशमा गृहकार्य गर्ने र पाठ्यक्रम अनुसारका पुस्तकका पाठ घोक्थे । यससँगै परम्परागत शैलीको शास्त्रपाठ गर्ने प्रवृत्ति निरन्तर ओरालो लागेको देखिन्छ ।
भूतप्रेत मन्साउने
भूतप्रेतजस्ता अदृश्य शक्तिको अस्तित्वलाई हाम्रो समाजले स्विकार्छ, जुन हाम्रो विश्वास प्रणालीको एक हिस्सा हो । अलौकिक शक्तिमा रहेको मानिने भूतप्रेतले व्यक्ति तथा परिवारलाई दुःख दिन्छ भन्ने मान्यता समाजमा स्थापित छ । पहिले घरपरिवारमा कुनै व्यक्ति बिरामी पर्दा धामीझाँक्रीलाई ग्रहदशा हेर्न लगाइन्थ्यो । सामान्यतयाः यस्तो काम साँझमा गरिन्थ्यो, जोखाना गर्थे । यस क्रममा धामीझाँक्रीले थाल वा ढ्याङ्ग्रो बजाउँदै मुख–आखर मन्त्रोच्चारण गर्थे ।
यस्ता क्रियाकलापले रातको निष्पट शून्यतालाई चिर्न सघाउँथे । धामीझाँक्रीले जोखाना हेरेपछि भूतप्रेत लागे–नलागेको खुट्याउने गर्थे । भूतप्रेत लागेमा धामीझाँक्रीको सिफारिस अनुसार उसलाई कुखुरा वा बोकाको भोग दिएर मन्साउने गरिन्थ्यो । भूतप्रेत मन्साउने काम रातको समयमा गरिन्थ्यो । भूतप्रेत मन्साउन बेसारले रङ्गाएको अक्षता, खरानी, अँगार आदि दुनामा राखिन्थ्यो ।
भूतप्रेत मन्साउने काम दोबाटोमा गरिन्थ्यो । यस्तो काम मध्यराततिर गरिन्थ्यो । भूतप्रेत मन्साउने काम ‘दोबाटे दिने’ वा ‘आधाराते दिने’ नामबाट पनि परिचित छ । आधुनिक समयमा यस्ता गतिविधि अवैज्ञानिक र अर्थहीन देखिए पनि विगतमा यस्तो प्रचलन ग्रामीण रात्रिजीवनमा व्यापक रूपमा अस्तित्वमा थियो ।
फेरी लगाउने
गाउँवासी रातमा मस्त निद्रामा रहेको समयमा कानफटा जोगीले रात्रिकालमा फेरी लगाउँथे । कानफटा (कान चिरुवा) ले रातको समयमा गाउँका घर घर डुली शङ्ख फुक्दै मन्त्रोच्चारण फेरि फेरि लगाउँथे । प्रत्येक वर्षको कात्तिक र चैतमा कानफटा जोगीले फेरी लाउने चलन थियो ।
यसो गर्दा गाउँमा सहकाल आउने, भूतप्रेत नलाग्ने तथा घर–परिवारको रक्षा हुने मान्यता छ । यही मान्यतामा आधारित भएर फेरी लाउने जोगीलाई उदारमना किसिमले अन्न, नुन, घिउ एवं नगद दान गर्ने चलन छ । फेरी लाउँदा गाउँको सिरानको घरबाट सुरु गरेर पुछारको घरको पिँढीमा गुन्द्री तानेर सुत्ने चलन छ । फेरी लाउने जोगी नाथ सम्प्रदायको मानिन्छ ।
अचेल एकातिर तीव्र गतिमा ग्रामीण बस्ती पातलिँदै गएको छ भने अर्को युवा पुस्तामा रातबिरात गाउँ डुल्दै फेरी लाउने चलनप्रति आकर्षण घट्दै जाँदा फेरी लाउने चलन पनि लोप हुँदै गएको छ । कुनै समयमा ग्रामीण रात्रिजीवनको एक हिस्सा मानिएको फेरी लाउने चलनले ग्रामीण रात्रिजीवनलाई लयबद्ध तुल्याएको थियो ।
पिङ
नेपालको ग्रामीण परिवेशमा शारदीय समय विशेष उल्लेखनीय मानिन्छ । दसैँ तथा तिहारलाई लक्षित गरेर गाउँमा पिङ हालिन्थ्यो । कुनै समयमा पिङ मनोविनोद अतिशय महìवपूर्ण माध्यम थियो । पिङ खडा भएपछि ग्रामीण रात्रिजीवन चहलपहलपूर्ण बन्न पुग्थ्यो । गाउँका युवकयुवती पिङको छेउमा मूढा जोतेर राति अबेरसम्म पिङ खेल्दै अनि मोहनी भाकामा गीत गाउँथे ।
पिङको चचहुईसँगै युवकयुवतीबीच गीतको खाल जम्थ्यो । त्यहाँ जमेको साङ्गीतिक वातावरणको रसास्वादन गर्न गाउँका बुढापाका पनि दोल्याइँ ओढेर जम्मा हुन्थे । कतिपय अवस्थामा लालाबाला पनि जिज्ञासावश जाडोले ठकठकाउँदै त्यहाँ पुग्थे । पिङको चचहुई र रसिलो परिवेशले सबै उमेरका मानिसलाई पिङमा हाजिर गराउँथ्यो ।
पिङ खेल्ने कार्य गाउँमा मात्र सीमित हुँदैनथ्यो । एउटा गाउँको माइती–चेलीबेटी अर्को गाउँमा पिङ खेल्न जाने चलन थियो । यसरी एउटा गाउँको माइती–चेलीबेटी अर्को गाउँमा पिङ खेल्न जाँदा त्यहाँ गीतको खाल जम्थ्यो । त्यसबेला मार्मिक एवं श्रुतिमधुर गीत गुञ्जन्थ्यो । ‘मेरो मायाँ काँबाट आउनुभो, मेरा लागि के दुःख पाउनुभो’, ‘तिमी–हामी भेट भयौँ बेलुकी, रेशम–गोली धागोले जेलुम्की’ जस्ता माटोको सुवास मगमगाउने गीतले गाउँको वातावरणलाई भावपूर्ण तुल्याउँथ्यो ।
यही भावभूमिमा जमेको रसिलो–भरिलो जमघटले गाउँको रात्रिजीवनलाई थप जीवन्त बनाउँथ्यो । सामान्यतया दसैँमा हालिएको पिङ ढिलोमा एकादशीसम्म चालु रहन्थ्यो । यसरी दसैँदेखि एकादशीसम्मको समयसम्म पिङले ग्रामीण रात्रिजीवनलाई गुल्जार बनाउँथ्यो ।
उपसंहार
अगाडि चर्चा गरिएका सामाजिक तथा सांस्कृतिक गतिविधिका अतिरिक्त प्रौढ शिक्षा, सातो बोलाउने, रख्खेडोरो गर्ने, तिहारमा देउसीभैलो खेल्ने, गाउँमा कसैको विवाह हुँदा गाउँका चेलीबेटी मिलेर दुनाटपरी गाँस्ने, रत्यौली खेल्ने, घाटु तथा सोरठी नृत्यको अभ्यास गर्ने, सत्यनारायण कथा लाउने, बैठक–कहचरी गर्ने जस्ता गतिविधि सामान्यतया रातको समयमा नै गरिन्थे । खेतीपाती र अन्य कृषिकर्ममा बाधा नपरोस् भनेर यस्ता गतिविधि राति गरिएको हुनु पर्छ ।
यी तमाम रात्रिचर्या ग्रामीण जीवनशैलीका आधारशीला थिए । ग्रामीण रात्रिचर्याले गाउँवासीबीच आपसी सद्भाव र सहकार्यको गुनिलो संस्कृतिलाई संवर्धन गर्न सघाउँथ्यो, लोकजीवन र लोकसंस्कृतिलाई प्रेमपूर्वक सुम्सुम्याउँथ्यो अनि स्वस्थ मानवीय सम्बन्धका तन्तुमार्पmत आपसी माया–ममता र भाइचारालाई गुणन गर्थे ।
सहरिया रात्रिजीवन ग्रामीण रात्रिजीवनभन्दा आधारभूत रूपमै भिन्न छ । सहरको रात्रिजीवन पुँजीवादी अवधारणाबाट निर्देशत हुन्छ भने ग्रामीण रात्रिजीवन सहकार्य र सहजीवनको पवित्र भावनाबाट निर्देशित हुन्छ । सहरको रात्रिजीवनको आधार नगद हो भने ग्रामीण रात्रिजीवनको आधार आपसी भाइचारा र सद्भाव ।
सबै काम रातको पहिलो प्रहरमै सकाएर चाँडै खाने, चाँडै सुत्ने र बिहान चाँडै उठ्ने ग्रामीण जीवनको विशेषता हो, जुन स्वास्थ्य विज्ञानका दृष्टिले पनि सही छ । सहरिया रात्रिजीवन ग्रामीण रात्रिजीवनभन्दा फरक छ । रातको समयमा अनिँदो बसीबसी खर्चालु निशाचरमा रमाउने र इन्टरनेटमा उपलब्ध अनेकन प्रकारका जुवा र फिल्ममा सिङ्गो रात खर्चने प्रवृत्तिले युवापुस्तालाई नराम्ररी गाँजेको छ । परिणामस्वरूप कतिपय युवामा धन, समय र स्वास्थ्य क्षयीकरणका अनेकन जल्दाबल्दा दृष्टान्त भेटिन्छन् ।
समयको उलटफेरसँगै ग्रामीण बस्ती पातलिँदै र सहरी बस्ती बाक्लिँदै गएका छन् । यससँगै ग्रामीण रात्रिजीवनका प्रतिपल कमजोर र सहरको खर्चालु रात्रिजीवन बलवान् बन्दै गएको छ । यससँगै सामाजिक तथा सांस्कृतिक जीवनमा चुनौती थपिँदै गएका छन् ।
रोदीघर
सम्भवतः रोदीघर ग्रामीण रात्रिजीवनको बहुपरिचित र सर्वग्राह्य विम्ब हो । गाउँका युवकयुवती साँझपख भेला भई गीत गाउने, नाचगान गर्ने र भावी दिनका सामूहिक कामकाजबारे सरसल्लाह गर्ने थलो नै रोदीघर हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्ना निबन्ध ‘पहाडी जीवन’ मा पहाडी जीवन कलात्मक र सङ्गीतमय हुन्छ भनेका छन् । उनको यस प्रकारको ठम्याइँ रोदीघरको सन्दर्भमा पूर्णतया लागु हुन्छ ।
रोदीघररूपी सांस्कृतिक कलाकेन्द्रबाट प्रशिक्षित ग्रामीणजन गायन, नृत्य र वाद्यवादन गरी तीनवटै विधामा निपुण हुन्थे । अचेल ‘डेक संस्कृति’ मौलाएकाले अहिलेका पुस्ता रेकर्डेड गीतमा छेपारी बटार्नेबाहेक लोककलाका अरू धेरै आयामसँग पछि पर्दै गएका छन्, जुन अतिशय दुःखद पक्ष हो ।
विगतमा रोदीघरमा सुमधुर भाकामा गीत गुञ्जन्थे । यसबाट ग्रामीण रात्रिजीवन गतिशील र रौनकमय त हुन्थ्यो नै, रैथाने लोकसंस्कृतिको श्रीवृद्धिमा अतुलनीय योगदान पुगेको थियो । रोदीघरमा सुकुमार भावले ओतप्रोत मोहनी लोकभाकाले सबैलाई मोहनी लगाउँथ्यो । रोदीघरको रौनकमय वातावरणले साँझलाई कत्ति पनि विरक्तिलो बन्न दिँदैनथ्यो ।
परिणामस्वरूप गाउँघरका हरेक व्यक्ति रोदीघरबाट निसृत कला र गलाका प्रशंसक र संरक्षक बन्थे । यसबाट हाम्रा अमूल्य गेयसम्पदालाई कख्याउन, हुर्काउन र जनहृदयसम्म विस्तार गर्ने दिशामा ठूलो योगदान पुगेको थियो ।
रोदीघरले कला र गलाको संरक्षण र संवर्धनमा दिएको योगदानबारे धेरै लेखक तथा चिन्तकले मुक्तकण्ठले चर्चा गरेका छन् ।
कालीभक्त पन्त, लक्ष्मण लोहनी, जनकविकेशरी धर्मराज थापा, डोरबहादुर विष्ट, रामशरण दर्नाल, कृष्णप्रसाद पराजुली आदिले रोदीघरले नेपालको सांस्कृतिक तथा सामाजिक परिवेशमा दिएको गुनिलो योगदानबारे आफ्ना कृतिमा मिठो वर्णन गरेका छन् ।
स्वदेशी लेखकले मात्र होइन विदेशी अध्येताले पनि रोदीघरको महत्व बुझेर खोज अनुसन्धान गरेका छन् । अमेरिकी अध्येता एलन एन्डन्र्स्, अमेरिकी सङ्गीतकार जेम्स फरम्यान तथा अन्य विदेशी अध्येताले रोदीघरबारे खोजमूलक लेख प्रकाशन गरेर रोदी संस्कृतिबारे अङ्ग्रेजी भाषीसम्म विस्तार गर्न सघाएका छन् ।
रोदीघरले हाम्रा सुन्दर लोकभाकाको जर्गेना र आपसी सहकार्यको संस्कृति विकासमा अतुलनीय योगदान दिएको तथ्य स्मरणीय छ । विडम्बनावश समयको कोल्टो फेराइसँगै रोदीघर इतिहासको पानामा सीमित हुन पुगेको छ ।