• ३० वैशाख २०८२, मङ्गलबार

सहकारीमा बेथिति, बचतकर्ता समस्यामा

blog

भुवन कार्की

रुपन्देही, असोज १० गते  । लुम्बिनी प्रदेशको विभिन्न जिल्लामा सञ्चालित सहकारीमा बेथिति बढेको छ । सहकारी ठगीका घटना बढेसँगै बचतकर्ता तथा उपभोक्ताहरू चिन्तित बनेका छन् । लुम्बिनी प्रदेश सहकारी बोर्डले एकसाता लगाएर रुपन्देही जिल्लामा सञ्चालित सहकारीको अनुगमन गरेको छ । उक्त अनुगमनको प्रतिवेदन तयार पारेर ठोस् निर्णय गर्ने सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । 

बुटवलका छ वटा सहकारी बन्द भएका छन् । सुप्रिम सहकारी, साइन, सुनौलो, सार्थक, आयाम, आगन्तुक, उपदेश, उपकार, जनप्रिय, सुसन्देश, शुभश्रीलगायतका सहकारी ऐनविपरीत मर्ज हुन खोजेपछि बोर्डले बचतकर्ताको समस्या सम्बोधन गरेर मात्र मर्ज हुन निर्देशन दिएको छ ।

ती सहकारीका बचतकर्ताहरू अहिले आफ्नो रकम फिर्ता लिन सञ्चालकको खोजीमा विभिन्न ठाउँमा धाइरहेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता कृष्णबहादुर पल्ली मगरका अनुसार पछिल्लो समय सहकारीले ठगी गरेको भन्दै उजुरी दिनेको सङ्ख्या बढ्दै गएको छ । 

प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेलले ‘एकपछि अर्को गर्दै सहकारीमा समस्या आउन थालेकाले यो बेला बचतकर्ता सचेत बन्नुपर्ने बताउनुहुन्छ । लुम्बिनी प्रदेशभन्दा बाहिर दर्ता भएर यहाँ शाखा खुलेका र प्रदेशमा पनि पछि दर्ता भएका केही सहकारीमा समस्या देखिएको पोखरेलको भनाइ छ ।

बोर्डको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा चार हजार छ सय सहकारी छन् । तीमध्ये ७८७ वटा सहकारी लुम्बिनी प्रदेशको कार्यक्षेत्रभित्र रहेका छन् । १२५ वटा सहकारी प्रदेशस्तरका रहेका छन् । ती सहकारीबाट प्रदेशमा करिब ६० अर्ब रुपियाँ बचत भएको छ । 

सञ्चालकको मनोमानीले सहकारी सङ्कटमा लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको गुलरियामा नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु रिजालले केही समयपछि बाँकेको नेपालगन्जमा उक्त सहकारीको शाखा सञ्चालन गर्नुभयो । 

नेपालगन्ज शाखामा आफ्नी श्रीमतीलाई सहायक व्यवस्थापक बनाएर मुख्य व्यवस्थापकलाई बाँकेकै कोहलपुर सेवा केन्द्रमा पठाउनुभयो । रिजालले पाँच करोड रकमको हिसाब देखाउन नसकेको आरोप बचतकर्ताले लगाएका छन् । सञ्चालक समितिले १५ करोड ४९ लाख अपचलन गरेको लुम्बिनी प्रदेश सहकारी विकास बोर्डले अडिट गर्दा पुष्टि गरेको छ । बुटवलस्थित सुप्रिम सहकारीका सञ्चालकले पनि बचतकर्ताको रकम हिनामिना गरेको छ । 

सुप्रिमविरुद्ध बचतकर्ताहरूले प्रदेश सहकारी कार्यालयमा उजुरी दिएका छन् । यो सहकारीले एक अर्ब रकम ठगेको भन्दै प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा निवेदन परेको छ । रकम फिर्ताको माग राख्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो ।

यसरी सहकारीमा बेथिति बढेपछि बचतकर्ताहरू चिन्तित बनेका छन् । बचतकर्ताहरूले जम्मा गरेको रकम फिर्ता गराउन विभिन्न निकायमा उजुरी दिने र सहकारीका कार्यालयमा ताला लगाउने र घेर्ने गरेका छन् ।