• ३० वैशाख २०८२, मङ्गलबार

गुणस्तरको दौडमा क्याम्पस

blog

दिवाकर पोख्रेल

देउखुरी, असोज ८ गते । त्रिभुवन विश्वविद्यालयले निश्चित मापदण्ड तोकेर क्याम्पसको गुणस्तर वृद्धि गर्न ताकिता गर्न थालेपछि गुणस्तर सुनिश्चिताको दौडमा क्याम्पस व्यवस्थापन लागेका छन्। 

प्राध्यापक, शिक्षक अतिरिक्त समयको व्यवस्थापन गरेर आफ्नै क्याम्पस सुधारमा लागिपरेका छन्। त्रिभुवन विश्व विद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त सामुदायिक र निजी क्याम्पसले पनि गुणस्तर सुधारलाई अभियानकै रूपमा निरन्तर लागिपरेका छन् । उच्च शिक्षको गुणस्तर र मापन र सहयोग गर्ने निकाय विश्व विद्यालय अनुदान आयोगको परामर्श, निर्देशन र सहयोगमा क्याम्पस गुणस्तर सुधारमा लागेका हुन् । गुणस्तर सुनिश्चितता प्रत्यायनलाई (क्युएए) प्राप्तिका लागि परेको क्याम्पसको भनाइ छ । 

दाङको राप्ती बबई क्याम्पस तुलसीपुरले गुणस्तर सुनिश्चिता प्रत्यायन (क्युएए) प्राप्त गरिसकेको छ। (क्युएए) प्राप्त गर्नका लागि क्याम्पसमा कार्यरत प्रध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक र सञ्चालक समितिको अथक प्रयास रह्यो । क्युएए एउटा अन्तर्राष्ट्रिय मापदण्ड हो । जसमा शैक्षिक प्रशासन, पठनपाठन, पाठ्य सामग्री, कक्षाकोठा व्यवस्थापन, समुदायप्रतिको जिम्मेवारीबोध हरेक क्षेत्रमा गुणस्तरीयता कायम छ भन्ने मान्यता हो । राप्ती बबई क्याम्पस प्रशासन अनुभवमा क्युएए प्राप्त गर्ने विषय नौलो विषय नभए पनि मौजुदा व्यवस्थानलाई आमुल परिवर्तन हुन्छ ।

 राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख गणेश पार्थेका अनुसार झन्डै छ वर्षअघिदेखि विभिन्न चरणको मूल्याङ्कन प्रक्रियामा भाग लिएको क्याम्पसले १२० सूचक पार गर्दै २०७९ सालमा आएर क्युएए प्राप्त गर्न सफल भएको थियो। उहाँले भन्नुभयो, “क्युएए प्राप्त गर्नका क्याम्पसमा विद्यार्थी  नहुने आर्थिक अभावको समस्या नै रहँदैन । यो त आफैँ सुधार हुने विषय रहेछ, सबै क्याम्पसले गर्न आवश्यक छ ।” क्याम्पसको भौतिक सुविधा, अनुसन्धानमुखी शिक्षण सिकाइ क्रियाकलाप, नतिजाको स्तर, अतिरिक्त क्रियाकलाप, पाठ्यक्रम, प्राध्यापकको अनुसन्धानात्मक कार्यलगायत गरी १२० सूचकको मूल्याङ्कनमा मापदण्ड पार गरेपछि मात्रै क्युएए प्राप्त हुन्छ। दाङकै देउखुरी बहुमुखी क्याम्पस पनि क्युएए प्राप्त गर्ने दौडमा छ। 

आशयपत्र (एलओआई) बुझाएर पञ्चवर्षीय रणनीतिक योजना बनाएपछि  स्वअध्ययन प्रतिवेदन (एसएसआर) चरणमा रहेको क्याम्पसले आफूलाई सुधारको प्रयास गरेको छ। 

देउखुरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिव ओलीका अनुसार शैक्षिक प्रशासन, पठनपाठनको  विषयमा आमूल परिवर्तन गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामी निकट भविष्यमै क्युएए प्राप्त गर्ने दौडमा छौँ । धेरै सुधार पनि गरेका छौँ । शैक्षिक गुणस्तरीयताका लागि क्युएए अनिवार्य जस्तै बनिसकेको छ।” 

क्युएए प्राप्त गरेसँगै क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको स्तर अन्तर्राष्ट्रिय शैक्षिक मापदण्ड अनुरूपको मानिन्छ। यसैले पनि त्रिभुवन विश्व विद्यालय गुणस्तर सुनिश्चितता प्रत्यायनसम्बन्धी विनियम २०७९ जारी सबै आङ्गिक र सम्बन्धन क्याम्पसलाई क्युएएमा जोडिन निर्देशन गरेको छ । विश्वविद्यालय अनुदान आयोगसँग सहकार्य गर्दै क्युएएका लागि काम गर्ने विषय विनियावलीमा समेटिएको छ । 

विश्वविद्यालयले क्याम्पसलाई क्युएए प्राप्त गर्नका लागि निर्देशन गरे पनि क्युएए प्राप्त गर्ने विषय सामान्य नभएको यसका क्रियाशील रहेका नै बताउँछन्। दाङको देउखुरी बहुमुखी क्याम्पसमा क्युएएसम्बन्धी कार्यक्रममा संयोजक सुधीरकुमार अधिकारीले क्याम्पस व्यवस्थापन समिति, प्राध्यापकमा उत्प्रेरणाको अभाव हुने र पुरानै ढर्रामा पठनपाठन केन्द्रित भएर क्युएए प्राप्त गर्न नसकिने बताउनुभयो। उहाँले भन्नुभयो, “यो त आफैँले जाँच गर्ने मूल्याङ्कन गर्ने विषय पनि हो तर सूचक काम अनिवार्य छ। त्यसैले यसमा सबैको सहकार्य आवश्यकता छ।”

दाङमा रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसमध्ये तीन वटा सामुदायिक क्याम्पस क्युएए प्राप्तिका लागि प्रक्रिया छन्। केही क्याम्पसले सुरुवात गर्न थालेका छन्। लुम्बिनी प्रदेशका शिक्षा विकास सामाजिक विकास निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशमा विभिन्न विश्वविद्यालयका ९२ वटा सामुदायिक, ६५ वटा निजी र ११ वटा आङ्गिक क्याम्पस छन्। लुम्बिनी प्रदेशमा रहेका क्याम्पसमध्ये बढीमा छ वटा क्याम्पसले मात्रै क्युएए प्राप्त गरेका छन्।