शास्त्रीय परिभाषाहरूलाई अलि पर पन्छाएर सजिलोसित महाकाव्यलाई चिनाउँदा लामो र रमाइलो कथालाई मिठो, मन छुने र मस्तिष्कलाई पनि झन्न पार्ने धेरै कवितामा रचिएको ठुलो काव्य नै महाकाव्य हो । विश्व साहित्यकै पुरानो विधा भएकाले संसारका अधिकांश विकसित साहित्यमा महाकाव्य पाइन्छन् । नेपाली साहित्यमा पनि महाकाव्यहरू छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल (२००२) नेपाली साहित्यको पहिलो महाकाव्य हो । शाकुन्तलपछि नेपाली साहित्यका स्वनामधन्य स्रष्टाहरूका दर्जनौँ महाकाव्य प्रकाशित छन् । महाकाव्यहरूको लामो ताँतीमा कवि सीताराम अधिकारीको हालै प्रकाशित पृथु (२०८०) महाकाव्य पनि आउँछ ।
अङ्ग्रेजी विषयका प्राध्यापक सीताराम अधिकारीको कलम अङ्ग्रेजी र नेपाली दुवै भाषामा सिर्जना र समालोचना दुवै क्षेत्रमा समान गतिले चलेको छ । उहाँले नेपाली साहित्यका गद्य र कविता दुवै फाँटमा आफ्नो प्रतिभा र पारख देखाउनुभएको छ । कविताका सबै उपविधामा बराबर हात चलाउने कवि अधिकारी छन्दोबद्ध कवितामा बढी अभ्यस्त हुनुहुन्छ । उहाँले रचेका पाँच वटा कविता सङ्ग्रह र छ वटा खण्डकाव्य छन्दोबद्ध छन् ।
कवि सीतारामको पृथु महाकाव्य पनि छन्दोबद्ध छ । यस महाकाव्यका नायक पृथ्वीनारायण शाह हुन् । आफ्नो महाकाव्यका नायकमा कवि अधिकारीले प्रताप र सुशासनका दृष्टिले प्रख्यात पौराणिक राजा पृथुको झझल्को दिनुभएको छ । त्यसैले पृथ्वीनारायणलाई पृथु भनेर स्नेहिल सम्बोधन गर्दै कृतिको शीर्षक पनि पृथु नै राख्नुभएको छ । अझ यो महाकाव्यमा त तीनै वटा मङ्गलाचरण (नमस्कारात्मक, आशीर्वादात्मक, वस्तुनिर्देशनात्मक) को त्रिवेणीमा नुहाउन र भावास्वादन गर्न सकिन्छ; संस्कृत गद्य महाकाव्य कादम्बरीमा झैँ । पहिलो सर्गलाई मङ्गलाचरण सर्गभन्दा अत्युक्ति हुँदैन किनकि सिङ्गो सर्ग यसमा नै समर्पित छ । दोस्रो सर्गमा चरित्र नायक पृथुको जन्म र तेस्रो सर्गदेखि नेपाल राष्ट्रको एकीकरण–अभियन्ताका रूपमा उनको चारित्रिक विकास गरिएको छ । नायकलाई आफ्नो देश (गोरखा) को वरपर घुमाएर घरेलु सामाजिक वस्तुस्थिति र नजिकका राज्यहरूको सामान्य अवस्था बोधका निम्ति जागरुक व्यक्तिका रूपमा चिनाइएको छ । वरिपरिका भुरेटाकुरे राज्यका जनताको दीनहीन अवस्थाको तस्बिर यस काव्यका चौथोदेखि नवौँ सर्गसम्ममा उतारिएको छ । त्यसैले यहाँसम्मको काव्यिक यात्रालाई नायकीय उद्देश्य प्राप्ति (एकीकरण अभियान) को पूर्वपीठिका मान्न सकिन्छ ।
दसौँ सर्गदेखि पृथुको व्रतबन्ध, विवाह, विभिन्न गुरुबाट राजोचित शिक्षा प्राप्त गरेका घटना प्रसङ्गहरू क्रमिक रूपमा आएका छन् । नायकको शिक्षादीक्षा र प्रेरणाप्राप्तिका सन्दर्भ ऐतिहासक तथा किंवदन्तीमूलक पात्र र प्रसङ्गमा कविले कल्पनाको जलप लगाएर सुन्दर बनाउनु भएको छ । नजानिदो ढङ्गले नयाँ घटनाहरू पनि जोडेर साहित्य भनेको कल्पनाको कलात्मक सुन्दर अभिव्यक्ति हो भन्ने स्थापनालाई पनि सत्यापन गर्नुभएको छ । कलागत पारखले यस्ता घटना ऐतिहासिक नै हुन्, जस्तो लाग्छ, त्यसैले ती प्रसङ्ग निकै रोचक, पठनीय र मननीय पनि छन् । पहिलो सर्गको अन्त्यमा देवाधिदेव शङ्करले दिएको भनिएको आशीर्वाद एउटा काल्पनिक प्रसङ्ग नै हो, जुन कलात्मक भ्रम सिर्जना गर्न समर्थ देखिएको छ । दसौँ सर्गमा पृथुको पहिलो विवाह, विवाहपछिका समस्या, दोस्रो विवाह आदि इतिहासका घटनाहरूसँगै एघारौँ सर्गमा गरिएको काठमाडौँको गोप्य भ्रमणलाई महाकाव्यमा कुशलतापूर्वक वर्णन गरिएको छ । तथ्यमा आधारित ऐतिहासिक घटना र किंवदन्तीहरूको काल्पनिक पुनरुत्पादनका रूपमा यस्ता टुक्रे आख्यानलाई हेर्न सकिन्छ ।
अगिल्ला सर्गमा विखण्डित राज्यहरूको आर्थिक सामाजिक स्थितिको वर्णन युक्तिपूर्वक गरी ती राज्यको संयोजन वा एकीकरण आवश्यक र औचित्यपूर्ण रहेको तर्क स्थापित गर्दै कविले यसका निम्ति सुयोग्य व्यक्ति वा नायक आवश्यक रहेको महसुस गराउनुभएको छ । राज्यको एकीकरण साध्य हो भने यसको प्राप्तिका लागि अपनाइने साधन युद्ध हो भन्ने सिद्धान्त स्थापित गरेर बाह्रौँ सर्गदेखि अठारौँ सर्गसम्म उद्देश्य प्राप्तितर्फ नायकीय अभियान चलाउनुभएको छ । यसै खण्डमा पृथुका पिता नरभूपालको निधनको कारुणिक सन्दर्भ र पृथुले उत्तराधिकारीका रूपमा राज्यारोहण गरेको सुखद सन्दर्भको पनि वर्णन गरिएको छ । अब युद्धको वागडोर विधिवत् पृथुले आफैँ लिई सैन्यशक्ति, प्रशिक्षण, तालिम र हतियारको बन्दोबस्तसम्बन्धी साना तर महत्वपूर्ण घटनाहरू पनि यही खण्डमा अटाएका छन् । पशुपतिको जात्रा सिद्राको व्यापार भन्ने उखान जस्तै विजय प्राप्त गरेका उपाख्यानहरू पनि पन्ध्रौँ सर्गसम्ममा अटाएका छन् । सोह्रौँ सर्गमा कीर्तिपुरमाथि आक्रमण, पहिले पराजय त्यसपछिको विजयको वर्णनपश्चात् सत्रौँ सर्गमा उपत्यका विजय गरी नेपालको एकीकरणको पहिलो चरण पूरा भएका घटना समेटिएका छन् ।
काव्यमा पृथुले एकीकरण विरोधी आन्तरिक शत्रु (स–साना राज्यका राजाहरू) सँगको युद्ध चलाखी, सुझबुझ, आत्मविश्वास र विश्वासी देशभक्त सैनिकको सहयोगले जितेको वर्णन जसरी सहज ढङ्गले गरिएको छ, त्यसरी नै दक्षिणतिरबाट उर्लंदै आएको अङ्ग्रेजी साम्राज्यवादी शक्तिका र इसाई धर्मका खुफियाहरूलाई डाँडो कटाउने चुनौतीपूर्ण अभियानमा पाएको विजयको पनि राम्ररी वर्णन गरिएको छ । उपत्यकाली राजाहरूका दरबारभित्रै घुसेको इसाई मिसनरीको सञ्जाललाई पनि युक्ति र साहसले छिन्नभिन्न पारेर डाँडो कटाएको प्रसङ्गको पनि कलात्मक वर्णन गरिएको छ । विखण्डन र वैदेशिक शक्तिको प्रत्यक्ष तथा छद्म आक्रमणको दुश्चक्रबाट नेपाललाई मुक्त पारेका प्रसङ्गहरू अठारौँ सर्गमा समेटिएका छन् । पूर्वतिरका ससाना राज्यहरूलाई पनि युद्धद्वारा नेपालमा समाहित गराएका घटनाहरू उन्नाइसौँ सर्गमा वर्णित छन् । एकीकरणको महाकाव्यीय कथाले यहाँ आएर अर्को चरणको विश्राम लिन्छ । बाँकी दुई सर्गमा नायकले एकीकृत नेपालको संरक्षणका लागि आफ्ना दूरदर्शी सोचहरू उपदेशका रूपमा आगत पुस्तालाई प्रस्तुत गरेको र महाप्रस्थानको प्रसङ्गसँगै यो महाकाव्य समापन भएको देखिन्छ । यसरी नायकको अवसानका कारण वियोगान्त भएर यो महाकाव्य टुङ्गिएको छ ।
एक्काइस सर्गमा पूर्ण भएको यस काव्यको मूल भाव राष्ट्रवाद हो । राष्ट्रवादले सिङ्गो महाकाव्य अभिसिञ्चित छ । आवश्यकता र उपयुक्त स्थान हेरेर महाकाव्यकारले कतै प्रकृतिको वर्णनले महाकाव्यलाई रोचक बनाउनुभएको छ भने कतै उत्साहमा आधारित वीरताको अभिव्यक्तियुक्त युद्ध वर्णनले ओजिलो र जोसिलो बनाउनु भएको छ । कतै वैराग्यमूलक भावले पाठकलाई गम्भीर बनाउने प्रयास गर्नुभएको छ भने वियोगात्मक सन्दर्भका घटनालाई अझ सशक्त बनाई करुण रसभाव पोखेर शोक संवेदनाले ओतप्रोत पनि बनाउनु भएको छ । मार्मिक र जीवन्त विचार बोकेका पङ्क्ति/सूक्तिसन्धान गरेर साथै विविध अलङ्कारको उपयुक्त प्रयोगले काव्यिक महिमा बढाउनुभएको छ । स्रष्टा अधिकारीले यस महाकाव्यमा विविध छन्दको प्रयोग गरेर पाठकको पट्यारको उपचार गरी महाकाव्यलाई पढूँ पढूँ लाग्ने पार्नुभएको छ । यसरी यो महाकाव्य पृथ्वीनारायण शाहको जीवनी, व्यक्तित्व र कार्यहरूको समग्र झलक प्रस्तुत गर्न सफल देखिन्छ । पृथ्वीनारायण शाह विषयक इतिहास, पुराना दस्ताबेजहरू, किंवदन्तीहरू अर्को शब्दमा भन्ने हो भने पृथ्वी साहित्यमा भएका लगभग सबै विषय, घटना र कुराहरूलाई काव्यिक खाकामा सतर्कतासाथ कलात्मक ढङ्गले बुन्ने प्रयास भएको यस कृतिमा बिसे नगर्चीको प्रसङ्ग छुटेको देखिन्छ । यो प्रसङ्ग पनि समाविष्ट भएको भए पृथुको सर्वसाधारणको सल्लाह लिने र कदर गर्ने चरित्र झन् चम्कने थियो कि ?
साहित्यमा अभिव्यक्त हुने विषयका स्रोत सामान्यतः दुई हुन्छन् : प्रसिद्ध र उत्पाद्य । पृथु प्रसिद्ध स्रोत वा इतिहासबाट विषय चयन गरी रचिएको महाकाव्य हो । तथ्ययुक्त घटनाको शुष्क र ठाडो वर्णनले इतिहास साहित्यको दाँजोमा निरस हुन्छ । पृथुका स्रष्टा अधिकारीले ऐतिहासिक घटनाको आख्यानीकरण गरी सुन्दर साहित्यिक कलेवरमा सुरुचिपूर्ण एवं रसभावयुक्त काव्यात्मक बान्की दिनु भएर यो महाकाव्य पठनीय तथा आस्वादनीय बनाउनु भएको छ । यसबाट शुष्क इतिहासलाई पनि सरस साहित्यले पठनीय बनाउँछ भन्ने भनाइ सार्थक भएको छ । साँच्चै नै महाकाव्यकारले साहित्यको माध्यमले नेपालको एकीकरणको इतिहास पढाउने प्रयास गर्नुभएको छ । यसका निम्ति स्रष्टा सीताराम अधिकारी बधाईका पात्र र यस्तो अनमोल कृति प्रकाशन गर्ने गोरखा सर्जक समाज पनि धन्य छ । कृतिको मूल्य भने ३५०/– रुपियाँ रहेको छ ।