काठमाडौँ, असोज ६ गते । शुक्रबार हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। हलिउडको ‘एक्सपेन्डेबल्स ४’ र बलिउडको ‘द ग्रेट इन्डियन फ्यामिली’ प्रदर्शनमा आएका हुन्। कलाकारहरू जेसन स्थाथम, सिल्भर स्टालोन, फिफ्टी सेन्ट, मेगन फक्स अभिनीत हलिउड चलचित्र ‘एक्सपेन्डेबल्स ४’ सन् २०१४ मा प्रदर्शन भएको ‘एक्सपेन्डेबल’ को यो चौथो शृङ्खला हो। चलचित्रमा आणविकको दुरुपयोग रोक्ने जिम्मा एक्सपेन्डेबल्स टिमलाई दिइएको हुन्छ र उनीहरू आफ्नो जासुसी मिसन लिएर एसियामा निस्कन्छन्।
आफ्नो मिसन पूरा गर्न टिममाथि के कस्ता बाधा अड्चन आउँछन् भन्ने कुरालाई चलचित्रमा देखाइएको छ। चलचित्रलाई स्कट वागले निर्देशन गर्नुभएको छ। बलिउड चलचित्र ‘द ग्रेट इन्डियन फ्यामिली’ मा विक्की कौशल, मानुषी छिल्लर, कुमुद मिश्रा, मनोज पहावा, सादिया सिद्धिकीलगायतका कलाकारहरूको अभिनय रहेको छ। पारिवारिक र कमेडी ड्रामा जनराको चलचित्रलाई विजयकृष्ण आचार्यले निर्देशन गर्नुभएको छ। एउटा हिन्दु परिवारको मानिसको जीवनमा त्यति बेला सङ्कट आइलाग्छ जति बेला उसलाई आफू जन्मजात मुसलमान भएको थाहा हुन्छ। यही कुराको सेरोफेरोमा चलचित्र घुमेको छ।
शाहरूख खान अभिनीत चलचित्र ‘जवान’ तेस्रो सातामा चलिरहेको छ र राम्रो आम्दानी पनि गरिरहेको छ भने नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत् र एक गीता’ दोस्रो सातामा चलिरहेका छन्। नाङ्गो गाउँले सोचेभन्दा राम्रो व्यापार गरिरहेको छ भने झरना थापाको ‘एक भागवत् र एक गीता’ ले खासै राम्रो व्यापार गर्न नसकेको हल सञ्चालकहरूको भनाइ छ।