• १३ साउन २०८१, आइतबार

धानखेतीमा फड्के किराको प्रकाेप

blog

फड्के किराको आक्रमणबाट परालमा परिणत भएको धानबाली । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, असोज ५ गते । पाल्पाको माडी रुप्सेको धानखेतीमा यो वर्ष पहिलो पटक फड्के किरा लागेकाे छ । माथागढी–२, मान्केका किसानले लगाएको धानखेतीमा फड्के किराको प्रकोप देखिएको गाउँपालिकाले जनाएको छ । 

माथागढीको रुप्सेको दद्रा, मान्के लगायतका क्षेत्रमा लगाइएको धानखेतीमा फड्केको आक्रमण सुरु भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । स्थानीय लक्ष्मण पोखरेलले लगाउनुभएको धानखेतीमा फड्के किराको आक्रमण देखिएको पालिकाका कृषि शाखा प्रमुख गौतम थापाले जानकारी दिनुभयो । पोखरेलले लगाउनुभएको सात रोपनी क्षेत्रफलको धानमध्ये एक रोपनीमा फड्केले बाली सखाप पारेको थापाले बताउनुभयो । 

फड्के किराका कारण धानमा बाला लाग्न नपाउँदै किराको प्रकोप धानबाली परालमा परिणत भएको छ । फड्के किराको प्रकोपले धानको बोटमा दाना नलागी पराल बन्ने र बिरुवा मर्ने किसान लक्ष्मण पोखरेलले बताउनुभयो । यसको रोकथामका लागि धानबालीमा पानीको सतह बढाउने÷घटाउने र सुकाउने गर्नुपर्ने प्राविधिक बताउँछन् । 

माथागढी गाउँपालिकाको रुप्सेमा देखापरेको फड्के किराको प्रकोप यो वर्ष जिल्लामै पहिलो पटक भएको कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले बताउनुभयो । जिल्लामा अन्य क्षेत्रमा भने फड्के किराको प्रकोप नदेखिएको उहाँले बताउनुभयो ।