• ३० वैशाख २०८२, मङ्गलबार

बाँकेको बाल सुधारगृहबाट भागेका ९ जना अझै सम्पर्कविहीन

blog

तोडफोड र झडप भएको डुडुवास्थित बालसुधार गृह । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज ५ गते । बाँकेको जयेन्दु बाल सुधारगृहमा रहेका बालबन्दीहरुबीच भएको झडपपछि भागेका २५४ बालबन्दीहरुमध्ये २४५ जना प्रहरी नियन्त्रणमा आएका छन् । ९ जना अझै प्रहरीको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

बिहिबार राती भएको सो झडपमा परेर घाइते भएका कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको थियो । केसी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए ।

झडपका क्रममा ११ जना गम्भीर घाइते भएकोमा उनीहरुको उपचार प्रहरीको निगरानीमा नेपालगन्जमा भइरहेको प्रहरीले जनाएको छ । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा बिहीबार रातभरि भएको झडपपछि २५४ जना बालबन्दीहरु सुधारगृहबाट भागेका थिए ।

बिहीवार राती १० बजेबाट कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले बताउनुभयो । उहाँले बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालन गरिएको जनाउनुभयो ।

कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । बालसुधार गृहमा पोशाक र हतियार सहितको प्रहरी तैनाथी नरहने हुँदा घट्नाले सानो समयमै ठुलो रुप लिएको प्रहरीले जनाएको छ । सुधार गृह सञ्चालन गर्ने संस्थाको व्यवस्थापनमा सिमित सिभिलमा प्रहरी मात्र खटिने गरेका थिए । 

सुधारगृमा राखिएका लागु औषध सेवनको कुलतमा फँसेका र लागु औषध सेवन नगर्ने किशोरहरुबीच विवाद बढ्दै जाँदा झडपको स्थिती आएको डीएसपी डाँगीले बताउनुभयो । गत वर्षको माघ २६ गते पनि बाल सुधारगृहमा तोडफोड र आगजनी गरिएको थियो । कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरेका थिए ।