• ८ जेठ २०८१, मङ्गलबार

इङ्गल्यान्डलाई सिरिज उपाधि

blog

सिरिज विजेता इङ्ल्यान्ड टोली ।

काठमाडौं, भदौ ३० गते । न्युजिल्यान्डविरुद्ध चार खेलको एकदिवसीय सिरिज घरेलु टोली इङ्गल्यान्डले जितेको छ । शुक्रबार राति भएको सिरिजको चौथो तथा अन्तिम खेलमा इङ्गल्यान्डले न्युजिल्यान्डलाई एक सय रनले हरायो । जितसँगै इङ्गल्यान्डले सिरिज ३–१ ले जितेको हो । 

जितका लागि तीन सय १२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३८.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ११ रनमा समेटिएको थियो । न्युजिल्यान्डका रचिन रविन्द्रले सर्वाधिक ६१ रन बनाउनुभयो । हेनरी निकोलसले ४१, ग्लेन फिलिप्सले २५, विल योंगले २४, कायल जेमिसनले १५ र टम लाथमले १३ रन बनाउनुभयो ।

बलिङमा इङ्ल्यान्डका मोइन अलीले चार विकेट लिनुभयो । डेविड विल्ली, बायडन केस, साम करन र लियाम लिभिङस्टोनले एक एक विकेट लिनुभयो । 

यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा तीन सय ११ रन बनाएको थियो । इङ्ल्यान्डका लागि ओपनर डेविड मलानले १ सय २७ रनको सतकीय इनिङ्स खेल्नुभयो । उहाँ सिरिजको सर्वोत्कृष्ट खेलाडी बन्नुभयो ।

यस्तै कप्तान जस बटलरले ३६, जोय रुटले २९, लियाम लिभिङस्टोनले २८, साम करनले २०, डेविड विल्लीले १९, ओपनर जोनी बेयरस्टोले १३ र ह्यारी ब्रुकले १० रन बनाउनुभयो । 

बलिङमा न्युजिल्यान्डका रचिन रविन्द्रले चार विकेट लिनुभयो । म्याट हेनरी र डर्याल मिचेलले दुई दुई विकेट लिनुभयो । यसअघि पहिलो खेलमा न्युजिल्यान्ड आड विकेटले विजयी भएको थियो । त्यसपछि दोस्रो खेल इङ्गल्यान्डले ७९ र तेस्रो खेल एक सय ८१ रनले जितेको थियो । एजेन्सी