• ९ मंसिर २०८१, आइतबार

प्रज्ञा–प्रतिष्ठानमा सुनुवार भाषा, साहित्य र सौन्दर्यबारे विमर्श

blog

काठमाडौं, भदौ ३० गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना गर्न थालिएको ‘मातृभाषा साहित्य शृङ्खला’ अन्तर्गत दोस्रोपटक  ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम यस प्रतिष्ठानको देवकोटा सभा कक्षमा सम्पन्न भयो ।

सामूहिक रूपमा राष्ट्रिय गान ‘सयौँ थुँगा..!’ गाएलगतै प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो । यस विमर्श कार्यक्रममा डा.लाल–श्याँकारेलु रापचाले ‘किराँती–काँइच (सुनुवार) भाषा–साहित्यमा सङ्कट सौन्दर्य’ तथा कोइँचबु काःतिच (उत्तम सुनुवार)ले ‘सुनुवार भाषाको साहित्य र सौन्दर्य’ विषयक फरक–फरक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

यसैगरी, उक्त कार्यपत्रमाथि आफ्नो धारणा राख्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ‘नेपालका विश्वविद्यालयमा हरेक मातृभाषाको पठनपाठन हुनुपर्छ । यसले मात्रै मातृभाषामा जागरण आउँछ र भाषिक जटिलता हट्छ । यसको निरूपण गर्न प्रज्ञा–प्रतिष्ठान लागिपर्ने  छ’ भन्नुभयो ।

यस अवसरका सभाध्यक्ष एवम् प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले उक्त कार्यपत्र र मातृभाषाका कविता वाचनबारे चर्चा गर्नुभयो । यसै क्रममा उहाँले रैथाने मातृभाषा, साहित्य र संस्कृतिको बारेमा निरन्तर बहस हुनुपर्ने बताउनुभयो । प्रत्येक मातृभाषाको छुटाछुट्टै सौन्दर्य हुन्छ । तर अहिले पनि आन्तरिक रूपमा मातृभाषीले भाषिक उपनिवेश व्यहोर्नुपरेको जानकारी दिनुहुँदै कार्यक्रमको समापन गर्नुभयो ।

यस कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.कृष्णराज सर्वाहारीले कार्यपत्रमाथि आफ्नो धारणा राख्नुभयो । यसैगरी कार्यक्रममा उपस्थित सहभागीहरू मध्ये डा.सोमबहादुर धिमाल, कृष्णप्रसाद, प्रतापसिंह नाछिरिङ, धनराज घिसिङ, जुजुकाजी रञ्जित र शोभा सुनुवार ‘जुलियट’ले कार्यपत्रमाथि पूरक टिप्पणी गर्नुभयो ।

यस कार्यक्रममा तीन मातृभाषाका तीन कविहरू नैन सेताल्चुले ‘जेरुङ भाषा’को कविता ‘खालाङ’,रमेश थामीले ‘थाङ्मी भाषा’को कविता ‘धनेको देस्यै’ र टङ्क सुनुवारले ‘सुनुवार भाषा’को कविता ‘नुम्बुर’ वाचन गर्नुभयो । यस कार्यक्रमको सञ्चालन प्रज्ञा–प्रतिष्ठानका भौतिक संशोधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गर्नुभयो ।