• ३० वैशाख २०८२, मङ्गलबार

महिलाले सञ्चालन गरेको सहकारीबाट जुत्ता उत्पादन

blog

सहकारीले उत्पादन गरेको जुत्ता अवलोकन गर्दै प्रदेससभा सदस्य केसी लगायत । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ २७ गते । कोहलपुर नगरपालिका–५, शान्तिनगरस्थित नवकालिका लघुउद्यम प्रवर्धन सहकारी संस्था लिमिटेडले जुत्ता उत्पादन सुरु गरेको छ ।

महिलाद्वारा मात्र सञ्चालित नवकालिका लघुउद्यम प्रवर्धन सहकारी संस्था लिमिटेडका अध्यक्ष जुना विकले एक महिनादेखि जुत्ता उत्पादनको काम सुरु गरिएको बताउनुभयो । विद्यालयका विद्यार्थी र विवाह–पार्टीका लागि उपयुक्त हुने जुत्ता उत्पादन भइरहेको उहाँको भनाइ छ ।  

उहाँले सहकारीलाई उत्पादनमुखी बनाउन जुत्ता उत्पादन सुरु गरिएको जनाउँदै बचत र ऋण लगानीमा मात्रै केन्द्रित नभएर उत्पादनमा पनि जोड दिने उद्देश्यले यो उत्पादन थालिएको बताउनुभयो । सो सहकारीलाई लुम्बिनी प्रदेश सरकारले पाँच लाख रुपियाँ सहयोग गरेपछि यो कार्य सम्भव भएको पदाधिकारीको भनाइ छ ।  

सहकारीका अनुसार प्रदेश सरकारबाट सहयोग पाएपछि महिलाका लागि जुत्ता बनाउने तालिम सञ्चालन गरिएको थियो । तालिम लिएकामध्ये १० जना महिला उत्कृष्ट ठहरिएका थिए । उत्कृष्टमध्ये ६ जनाले अहिले जुत्ता उत्पादनमा काम गरिरहेका छन् ।

सहकारीका अध्यक्ष विकका अनुसार उत्पादन सुरु गरिएपछि स्थानीय महिलाले रोजगारी पाएका छन् भने जुत्ताको राम्रो फिनिसिङका लागि भारतबाट समेत कामदार मगाइएको छ । उहाँले यसरी उत्पादन गरिएका जुत्ता गुणस्तरीय र सस्तो रहेको बताउनुभयो ।

सानो समयमै सो सहकारीले उत्पादन गरेको जुत्ताले राम्रो बजार पाउन थालेपछि सहकारीमा आबद्ध महिला उत्साहित बनेका छन् । उत्पादन बढाउनुका साथै थप बजारीकरणमा विशेष जोड दिएको उहाँहरूको भनाइ छ ।  

स्वदेशी उत्पादनलाई सबैले प्राथमिकता दिनुपर्ने सहकारीमा आबद्ध महिलाको भनाइ छ । यसैबिच महिलाले उत्पादन गरेको जुत्ता अवलोकन गर्न लुम्बिनी प्रदेशका पूर्व मन्त्रीसमेत रहनुभएकी लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले सहकारीमा पुगेर महिलाको हौसला बढाउनुभएको छ ।   

पुर्वमन्त्री केसीले भन्नुभयो, ‘महिला मिलेर चलाएको सहकारीले उद्योग क्षेत्रमा हात अघि बढाउनु एकदमै राम्रो काम हो, महिला दिदीबहिनीहरूले अगाडि बढाएको काम एकदमै प्रशंसनीय छ ।’ 

प्रदेश सभा सदस्य केसीले यो सहकारीले उत्पादन सुरु गरेर अन्य सहकारीलाई पनि मार्गदर्शन गरेको जनाउँदै बजारीकरण र अन्य कामका लागि आफूले आवश्यक सक्दो सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो ।