• ३० वैशाख २०८२, मङ्गलबार

गुल्मीमा पेट्रोल पम्पको अनुगमन

blog

पेट्रोल पम्पको अनुगमन गर्दै गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक सहितको टोली । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, भदौ २६ गते । गुल्मीमा पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ । पेट्रोल पम्पहरूमा इन्धनको कृत्रिम अभाव सृजना गर्ने र पम्प सञ्चालकहरूले मनपरी गर्ने जस्ता गुनासो आएपछि पम्पहरूको अनुगमन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय गुल्मीमा यस्ता गुनासो आएपछि जिल्लामै पहिलो पटक गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक दीपेन्द्र रोकाहा सहितको टोलीले जिल्लामा रहेको पाँच वटा पेट्रोल पम्पहरूमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

जिल्लामा रहेका शुभ रेसुङ्गा टे«डिङ प्रालि, ऋङेश्वर आयल स्टोर, नमता इन्टरप्राइजेज, कालीगण्डकी आयल डिष्ट्रीब्युटर्स र रुद्रावती आयल स्टोर्समा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तथा अनुगमनकर्ता विनोद खनालले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा पम्पहरूमा कृत्रिम इन्धन अभाव गराउने, मनपरी गर्ने जस्ता गुनासो आएजस्तो नपाइएको र सुधार गर्नका लागि निर्देशन दिएको बताउनुभयो । पम्पहरूको दर्ता, नवीकरण र मापदण्ड पालना भएनभएको बारेमा अनुगमन गरिएको र केही सुधारका पक्षहरूलाई पालना गर्न निर्देशन दिएको बताउँदै अनुगमनलाई निरन्तरता दिने खनालको दाबी छ ।

अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक दीपेन्द्र रोकाहा, सहायक निरीक्षक टेकबहादुर थापा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनोद खनाल, नायव सुब्बा प्रेमराज खनाल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुरेन्द्र भण्डारी र जिल्ला प्रहरी कार्यालय गुल्मीका सहायक प्रहरी निरीक्षक अर्जुन न्यौपानेको टोलीले अनुगमन गरेको हो।

यस्तै, जिल्ला प्रशासन कार्यालय गुल्मीले चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गर्ने गरी योजना बनाएको बताएको छ । चाडपर्वको सममयमा कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने र म्याद सकिएका दैनिक उपभोग्य बस्तुहरू बिक्री वितरण गर्नसक्ने भन्दै त्यसको नियन्त्रणका लागि बजार अनुगमन गर्ने गरी योजना बनाएको प्रशासकीय अधिकृत विनोद खनालले बताउनुभयो ।