बुटवल समाचारदाता
बुटवल, वैशाख २५ गते । बुटवलको गोलपार्कदेखि छोटो दुरीमा सञ्चालन हुने माइक्रो बसलाई व्यवस्थित गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका–३, गोलपार्कमा बनेको माइक्रो बसपार्क प्रयोगमा आएको छ ।
सडकमा जथाभाबी पार्किङ गरी राखिने माइक्रो बसका कारण दुर्घटनाको जोखिम बढेको तथा फोहोरसमेत बढेपछि बुटवल उपमहानगरपालिको पहलमा बसपार्क निर्माण गरिएको हो । उपमहानगरले केही महिनायतादेखि बुटवल सौन्दर्यीकरण अभियान अन्तर्गत सरसफाइ, विद्युत् तथा केबल पोलबाट गुजुल्टिएका तार हटाउने अभियान सुरु गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गोलपार्क माइक्रो बसपार्कको उद्घाटन गर्दै सडकभरि लथालिङ्ग राखिएका माइक्रो बस अब व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कुल ५८ लाख रुपियाँ लगानी गरी भिरालो जमिनलाई खारेर शौचालयसहितको राम्रो बसपार्क निर्माण गरिएको बताउँदै यसबाट बुटवल सहर सौन्दर्यीकरणमा टेवा पुग्ने बताउनुभयो । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले यस बसपार्क निर्माण भएपछि दुर्घटनाको जोखिम कम हुने र यात्रुलाई विभिन्न गन्तव्यमा पुग्न सजिलो हुने बताउनुभयो । बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकालले बसपार्क निर्माण भएपछि यसअघि जथाभाबी गरिने पार्किङको समस्या समाधान भई सहरको सुन्दरतासमेत थपिएको बताउनुभयो । यसअघि गोलपार्कदेखि भैरहवा, मङ्गलापुर, सालझन्डी, बर्दघाटलगायतका विभिन्न सानो रुटमा सञ्चालन हुने माइक्रो बस व्यवस्थित बसपार्क नहुँदा सडक किनारमै नम्बर लगाउन राख्ने गरिएको थियो ।