• २१ वैशाख २०८१, शुक्रबार

अलिखित समझदारी

blog

बुधइ चौधरी देउखुरीको लालमटियाबाट विकट पहाडी जिल्ला रोल्पाको सदरमुकाम लिवाङ उक्लेको चानचुन दुई दशक हुन लाग्यो । “अहिले त सदरमुकाम मात्र नभएर कुनाकन्दराका गाउँगाउँलाई सडकसञ्जालले जोडिसक्यो । सदरमुकामबाट एक रातमै राजधानी पुग्न सकिन्छ । त्यस बेलामा यी सब सुविधा आकासको चन्द्रमा भेट्नु बराबर लाग्थे ।” ऊ फुर्सद भएको समयमा टाउकोभित्र विगतको जम्न लागेको धुलो हटाउने गथ्र्यो । 

हुन पनि हो, एक टुक्रो ऐलानी जग्गामा बनेको छाप्रोमुन्तिर टाउको छिपाएर बसेका ऊ जस्ता युवाजति कि जमिनदारको घरमा कमैया बस्न माघी कुरी बस्थे, कि भाँडा मस्काउन, बुट बजार्न भारतका विभिन्न सहरतिर लर्को लाग्थे  । तर ऊ अन्यभन्दा फरक, विद्रोही चेतको निक्ल्यो । फरक यस मानेमा कि बाबुबराजुको पालादेखि अ.ल्या. हुँदै आएका दुवै विकल्पपट्टि नगई उसले तेस्रो विकल्पको जग हाल्ने दुस्साहस ग¥यो । त्यो कसरी भने दक्षिणतर्फको सोझो, सरल, सुविधायुक्त बाटो नसमाती ऊ उत्तरतर्फको कठिन, उबडखाबड, घुमाउरो, उकालो बाटोतर्फ सोझियो । आरामसाथ बस, ट्रेनमा नचडी लट्ठी समातेर पसिना निकाल्दै पहाड उक्ल्यो । तर उसको खल्तीभित्र बाबुको सिरानीबाट लामो हात गरेको रु. दुईको रातो नोटबाहेक केही थिएन । “भोकै त कहाँ मरिएला ? केही त भइजाला ।” उसभित्र हिम्मतको मूल भने अवश्य थियो ।

“खसी काटेर मासु बेच्नुप-यो जस्तो छ । व्यापार नजमुन्जेलतक ओत लागेकै पाटीको आँगनमा काटकुट गरी बिक्री गर्नुपर्ला ।” उसले घरघरमा खसीबोका पालेकोदेखि सदरमुकाममा पाइलो टेकेको दोस्रो दिनमै मासुको व्यापार गर्ने सोच बनायो । त्यस बेलामा माघेसक्रान्ति, दसैँ जस्ता अर्वपर्वमा मात्र ढुङ्गेछानो भएका घरमा खसी काटी भागबिल्ला लगाउने चलन थियो । सामान्यजनले मासुको भाग पाउनुभनेको लाखको चिट्ठा पर्नुभन्दा बढी हुन्थ्यो । यो सब उसले छोटो समयमै अनुभव गरेको थियो । 

“खसी दिनुस् । म मासु बिक्री गरी रिन चुकाउँछु ।” उसले चौध दिनसम्म कममा पनि पन्ध्र गाउँका सत्रवटा घरमा अनुरोध बिसायो । नाक रगड्यो । देवीदेवता यहाँसम्म कि आमाको समेत कसम खान भ्यायो । तर कसैले पत्याएन । उसलाई नपत्याउनुका पनि कारण थिए । एक त ऊ तराईबाट झरेको चौधरी भएकाले भेषभूषा, भाषा केही मिल्दैनथ्यो । दोस्रो, जेबभित्र चवन्नी नभएको मनुवाले रिन तिर्छ भनी पत्याइहाल्ने आधार थिएन ।

“चौधरी ! लैजाऊ । तर...।” खसी खोज अभियानको पन्ध्रौँ दिनमा उसले हल्का आशाको सानो छिद्र फेला पार्यो ।

“सबै सर्त मञ्जुर छ ।” सर्त नै नसुनी उसले खसी डो-याएर ल्यायो ।  

उल्लेख गरिहालियो, उसको कोठाको भाडा तिर्नेसम्म औकात थिएन । यसैले पाटीमा डेरा जमाएको थियो । “सार्वजनिक चौरमा खसी काट्छु । फोहर नगरे त भइगो । चाहिने हतियार र भाँडाकुँडा मागजाँग गर्नुपर्ला ।” उसले दिमाग लगायो ।

“सार्वजनिक स्थानमा जनावर हत्या जस्तो क्रुर र अमानवीय कुकृत्य गर्न पाउँदैनस् ।” उसले व्यापारका लागि आवश्यक सरसामान जुगाड गरी मार हान्नै लागेको अवस्थामा जिल्लाको सुरक्षाको ठेक्का लिएको संस्था सव्रिmय भएर डन्डा बर्साइहाल्यो । भएन क्या आपत् । पहिलो गाँसमै ढुङ्गा । 

“हाम्रा आराध्य देवीदेवतालाई बलि चढाई तिनै जनावरको रगत, मासु प्रसादका रूपमा स्वाद मानीमानी खाइन्छ । त्यो चाहिँ अपराध नहुने ? मैले खसी काटेको अपराध हुने । रह्यो सार्वजनिक स्थानमा काटेको कुरा । मैले रहरले गरेको होइन । करले गरेको हुँ ।” उसको सानो गिदीभित्र जति थियो, त्यति ओकलेर फर्मान ल्याउने पुलिसलाई सम्झाउने कोसिस ग¥यो । सम्झाउनेभन्दा पनि स्पष्टीकरण दिने प्रयत्न गर्यो ।

“मलाई थाहा छैन । तिम्रो व्रिmयाकलापबाट शान्ति सुव्यवस्थामा खलल पर्न सक्छ । समाज द्वन्द्वतर्फ उद्यत हुन सक्छ । यो मेरो भनाइ होइन, साहेबको भनाइ हो ।” पुलिसले जस्ताको तस्तै सूचना प्रवाह ग-यो ।

“के गर्नु त ? गरी खान पनि नपाउनु ? कि “कान्छा” बन्न भारततिरै लाग्नु ?” उसलाई प्रश्नहरूको साउने बाढी बगाउन मन नलागेको होइन । तर रिसजति सर्लक्क खैँच्यो र यति मात्र भन्यो, त्यो पनि वरिपरिका कमिलाले समेत चाल नपाउने गरी– “के गर्नु त ? सेरिनु ।”

“ज्यान हालिहाल्नु पर्दैन । दाइ सम्झी मेरो मन्त्र सुन । खसी काटेको दिनमा ह्याकुलो... ।” पुलिसले उसलाई अलिकति पर लिएर गयो । चारैतिर नजर फिरायो । कसैले नदेखेको कुरामा आश्वस्त भइसकेपछि कानमा गुरु मन्त्र सुनाएसरी खासखुस ग-यो र मुस्कुराउँदै बाटो लागिहाल्यो । 

“........ ।” पुलिसबाट गुरु मन्त्र श्रवण गर्दै गर्दा उसले मुन्टो मात्र हल्लाइरह्यो । आँखाका पुतली भने विस्मयले हचचल गरिरहे ।

हो, त्यही दिनदेखि केही महिनासम्म उसले खसी हत्या गरेको कारणले लिवाङमा शान्ति भङ्ग भएको सुनिएन । समाजको अमनचयन पनि खलबलिएन । 

तर जिल्लामा जनतालाई सुखसुविधा, अधिकार प्रदान गर्न सरकारद्वारा खटाइएको राष्ट्रसेवक पुलिसको हाकिम मात्र थिएन । ब्वाँसोको जत्रो मुख ब्वाएर बसेका अन्य साहेब पनि जिउँदै थिए । लिवाङ सानो ठाउँ थियो । लोग्नेस्वास्नीबिचको मनमुटावदेखि पँधेरामा हुने गफसमेत उनीहरूका कानभित्र आँधी भएर हुत्तिँदै पुगिहाल्थे । बारम्बार सुरक्षा अधिकारीको भान्सामा चौधरीले काटेको खसीको ह्याकुलो पुग्ने खबर त झन् मसालेदार, चटपटेको साथमा पचाउनै नसकिने समाचार भइहाल्यो । तसर्थ प्रत्येक जमघट, अफिस, क्वार्टरमा चर्चाको विषय नहुने सवालै उठेन ।

“कुछ त गर्नै प-यो ।”

“उसको मात्र मुख छ ?”

“सालेलाई औषधीमूलो नगरी भएन ।”

“हामीलाई कम आँकलन गर्ने ।”

“दाङको थारूले समेत हेप्ने ।”

“यो अपमान सहन सकिन्न ।”

अन्त्यमा सघन विचारविमर्श, छलफलपश्चात “जुनसुकै हतकण्डा अपनाएर पनि समाज विरोधी तìव बुधइलाई कठोर कार्बाही गरी गुमेको स्वाभिमान ससम्मान फिर्ता गर्ने मात्र होइन कि समाजमा शान्तिसमेत कायम गर्ने” अलिखित सहमति गरियो । 

“जेजस्तो अवस्थामा छ, झ्याउँकुटी पार्दै ल्याउनु भन्ने साहेबको आदेश छ । तुरुन्तै हिँड् ।” बुधइ भर्खर खसी ढाली रौँ खुर्किने तरखर गर्दै थियो । सिडिओको जुँगे सुरक्षाकर्मीले अत्यन्त कडा फरमान सुनाइहाल्यो ।

“को साहेब ?” उसले त्यसबेलासम्म एउटा मात्र साहेबलाई चिनेको थियो । जिल्लामा अन्यसाहेब पनि छन् भन्ने उसलाई जानकारी नै थिएन ।

“क्या बुद्धु रहेछ । साहेबहरूका साहेब, सिडिओ साहेब क्या ।” सन्देशवाहकले “राजा” भनिहाल्न मनासिब ठानेन । “सिडियो साहेब” मात्र भन्यो ।

“भर्खर मार हानी रौँ खुर्किन लागेको छु । काटकुट गरी गए हुँदैन ? हेर्नोस् न, मासु लिनेको लाइन लागिसकेको छ ।” उसले टाउको चिलायो ।

“मुन्ट्याएर, घिसारेर, लतारेर, डन्डा बर्साएर जसरी पनि ल्याउनु भन्ने कडा आदेश छ । सोझो तरिकाले हिँड्, होइन भने मैले बल प्रयोग गर्नै पर्छ ।” पुलिस नुनको सोझो गर्ने हिसाबले कडा रूपमा प्रस्तुत भयो ।

अब निरीह चौधरीसित कुनै चारा बाँकी रहेन । राज्यको पुलिस प्रशासनसँग झुक्नै प¥यो । पछि लाग्दै गर्दा यो नसोची भने रहन सकेन– “हाम्रो धर्ममा अनेकन देवता भए जस्तै जिल्लामा गणेश भगवान्को जत्रो मुख र पेट भएका एउटाभन्दा धेरै साहेब हुँदा रहेछन् र एउटा साहेबलाई मात्र फूल अक्षता चढाएर गरीखान सकिने रहेनछ ।”

“ल्याएँ सा”प । अपराधी यही हो ।” सुरक्षाकर्मीले बुट बजार्दै झ्याल्टुङ कपडा लगाएको, ओठमुख कलेँटी पारेर थरथर काँप्दै उभिएको बुधइतर्फ इसारा ग¥यो ।

बुधइले त्यस्तो के सङ्गीन अपराध गरेको थियो ? बिनासुनुवाइ, बिनासाक्षी, बिनाप्रमाण अपराधी करार गरियो ? थाहा भएन । उसले अपराधी सरह नै फाटेको टोपी हातमा लियो । लुगलुग काँप्दै हुरी लाग्दाको बाँस भएर उभियो । सायद यो बाजेबराजुबाट सर्दै आएको वंशानुगत गुणको कमाल थियो वा जन्मैदेखि सिकाइएको संस्कार ? ठ्याक्कै निक्र्योल गर्न सकिने अवस्था भएन ।

कोठामा विभिन्न आकारप्रकार, उचाइतौल, नापनक्सा, मोटापातला आकार भएका पाँच जना पुरुष सोफामाथि विराजमान थिए । यति धेरै असमानताको बिचमा पनि उनीहरूमा एउटा जबरजस्त समानता थियो । त्यो के भने सबैको चेहरामा हदैसम्मको व्रmुरता, पिसाचपन, रावणपन, कंशपन झल्किरहेको थियो । यस्तो लाग्थ्यो, उनीहरूले तथाकथित अपराधीलाई लिखित, अलिखित जुनसुकै दफा लगाएर भए पनि हदैसम्मको सजाए दिन पछि नपर्ने कसम खाएर बसेका थिए । 

बुधइले कोठाको वातावरण नियाल्यो । एउटा साहेबलाई प्रस्टै पहिचान गरिहाल्यो । “साहेबले पाँच किलोजति ह्याकुलो हजम गरिसक्यो होला । कसो धर्म हार्ला ?” उसले अलिकित राहत महसुस ग-यो ।

“तैँले गरेको अपराधको सजाय थाहा छ ?” फिस्टो आकारको साहेब कुर्लियो । वकिल हुनुपथ्र्यो ।

“थाहा छैन ।” उसको मुखबाट फुस्किहाल्यो, जानकारी पनि कसरी होस् ? बयानसयान लिने जस्ता सामान्य प्रव्रिmया पनि पूरा गरिएको थिएन । सिधै अपराधी करार गरिएको थियो । 

“यो हदसम्मको कुकर्म ! छ्या... छ्या... छ्या... ।” गैँडा आकारको साहेबले नाकमुख कुचुक्क पार्दै ह्वालह्वाल्ती वान्ता गर्न मात्र बाँकी राख्यो । उसले यसो गर्नुपछडिको रहस्य हिजो रातिको जिनिस बढी भएर हो वा अपराधीको दुर्गन्ध सहन नसकेर हो ? खुट्याउन सकिएन । वान्ता गर्न तम्तयार साहेब न्यायाधीश हुनुपथ्र्यो ।

“तैँले सिडिओ साहेबको क्वार्टरको गेटअगाडि रुङ्ने खोइरो लागेको, हाडछाला, करङ मात्र बाँकी भएको खैरो कुकुर आधा रातमा काटी लिवाङे बासिन्दालाई ख्वाएको होइनस् ? हामीसँग पुख्ता सबुतप्रमाण छन् । खुरुक्क कबुल गर् । नत्र भने हामीलाई सत्य ओकल्न लगाउने अन्य हथकन्डा पनि आउँछन् ।” जिल्ला शिक्षा अधिकारीले बुरुक्क उफ्रेर टेबुल भाँचुँला झैँ गरी मुड्की बजा-यो । 

“के प्रमाण छन् ? गर्दै नगरेको अपराध म कसरी कबुल गर्न सक्छु ? खाँदै नखाएको विष पनि लाग्छ ? के यो देशमा गरिबका लागि न्याय बनेको छैन ?” जिन्दगीमा कहिल्यै नसोचेका, नआएका प्रश्नहरूले उसको सानो दिमागभित्र सिङौउरी खेल्ने थाले । तर यी सब प्रश्नको ढोका अकस्मात् कसले, कसरी बन्द ग¥यो ? थाहा भएन । “मैले यो अपराध गरेकै छैन । नपत्याए उहाँ साहेबलाई सोध्दा हुन्छ ।” उसले भुँडीवाल पुलिस अधिकारीतर्फ औँलो सोझ्यायो ।

इसारा गर्नुको खास कारण थियो । त्यो के भने अपराध गरिएको भनिएको दिनमा पनि पुलिस अधिकारीले मासुको भाग लिने दिन परेको थियो । त्यस दिनमा उसले करिब तीस किलो जतिको मोटोघाटो रहरलाग्दो खसी काटेको थियो । रमाइलो त के उसले ह्याकुलोसहित विशेष फल मासुसमेत पठाएबापत उसले स्वाबासी पनि पाएको थियो । यसैले उसका लागि साक्षी उसकै अगाडि सशरीर उपस्थित भएकाले भएको बेहोरा बोलिदिन अनुरोध बिसाएको थियो ।

“बढ्ता बोल्छस् । साले... हरामी.... ...मु.... । मुखसुख डामौँ । कोर्रा ठोकौँ । कट्ठामा जाकौँ ।” सत्य बोल्नुको सट्टा पुलिस अधिकारी तैसमा आएर अश्लील गालीका पर्रा छाड्न थाल्यो । यति मात्र कहाँ हो र ? जुरुक्क उठेर चार झापड लगाई घुस्सासमेत बर्सात गरिहाल्यो ।

“भो छाड्नुस्, इन्सपेक्टर साहेब ! हिलोमा ढुङ्गा हाने आफ्नै मुखमा छिटा पर्छ । यसले आफ्नो करणीको सजाय पाउँछ र अवश्य पाउँछ । यसमा कुनै दुविधा छैन । तपाईंले केही दिन यसको अच्छा तरिकाले नानी याद आउने गरी पूजापाठ गर्नुस् । बात बाँकी गर्दै गरुँला ।” सिडिओ हुनुपथ्र्यो । एक हातले जुँगा र अर्को हातले भुँडी सहलाउँदै देखी जान्ने, सुनी जान्ने साक्षी, बयानबेगर फैसला ठोकिहाल्यो ।

“के रे त्यो चौधरी हेर्दा त सोझो देखिन्छ । स्थानीयबासीलाई लुते कुकुर मारी ख्वाएकै हो त ?” अनौपचारिक अदालत विसर्जन हुनै लाग्दा न्यायमूर्तिको विवेकको ढोकाको खापा थोरै घरक्क खुले जस्तो भयो । यहाँनेर अलिकति खुलस्त पार्न आवश्यक के छ भने यी न्यायमूर्ति घरबिदा सकी त्यही बिहान मात्र सदरमुकाम उक्लेकाले सबै घटनाको मेलोमेसो नपाएको हुन सक्थ्यो ।

“कहाँ हुनु । थारूलाई सबक सिकाउनलाई मात्र... । यो सब प्रपञ्च... ।” चतुर स्थानीय विकास अधिकारीले कुटिल हाँसोको बिउ छर्दै रुकीरुकी थप जानकारी दिन चाह्यो– “सालेले इन्सपेक्टरबाहेक कसैलाई मान्छे नगन्ने । हामी के बाउका झड्केला सन्तान हौँ ? यो त अति भयो बा !” ओकल्नै लागेको थियो । बिर्को लगाइहाल्यो । “हाम्रो भाग्य । यो मुलाको दुर्भाग्य । सिडिओ क्वार्टरअगाडि गुडुल्किएर बस्ने लुुते कुकुर थियो नि । त्यसलाई राति स्यालले परको खोल्सामा लगी व्रिmयाकर्म गरेछ । त्यसपछि... ।” उसले युद्ध जितेर आएको योद्धासरि चल्ले छाती तन्काउँदै यतिसम्म त फुस्काइहाल्यो ।

“समाजलाई मुठीभित्र कैद गर्न कहिले काहीँ अलिकति डर त्रास त देखाउनै पर्छ । बन्धनभित्र नराख्दा मान्छे नै जङ्गली ब्वाँसा हुन बेर लगाउँदैनन् । ‘सेन्टिमेन्टल’ भइहाल्न जरुरी छैन, श्रीमान् ! जे भयो । सो भयो । बिहानभरि यत्रो परिश्रम गरियो । ‘रिल्याक्स’ गर्ने कुनै उपाय गर्नुपर्ला, इन्सपेक्टर साहेब !” सिडिओले ‘रिल्याक्स’ मा विशेष जोड दिँदै ठहाका लगायो ।

“भइहाल्छ नि, सर ! बरु सरकै क्वार्टरमा व्यवस्था गर्नुपर्ला । ए केटा ...।” इन्सपेक्टरले केटालाई कान फुकेर पठायो । 

त्यो रात, हो त्यही रात सिडिओ क्वार्टरमा जिल्लाभरिका हाकिमहरूलाई उपस्थित गराई विशेष भोजको आयोजना गरियो । भोजलाई यादगार बनाउन पाककलामा पोख्त कुक बोलाइयो । कुकले जानेजति सिप लगाएर कवाफ, पकुवा, सेकुवा, भुटुनलगायत विविध परिकार बनायो । यति भएपछि शुद्ध कोदाको बिजुली पानी त अनिवार्य हुने भइहाल्यो ।

“होइन, थारूको खसी त कमालकै परेछ । कति कमलो । जिब्रोमा मासुको टुक्रो राख्न पाएको छैन, बिलाइ हाल्छ ।

“मरमसला पनि ट्वाक्क मिलेको छ । कुकको हातलाई पनि सलाम ठोक्नै पर्छ । यस्तो कमालको भोज त महिनामा एक पटक गर्नै पर्छ बा !”

जिब्रो लरबराउँदै, खुट्टा लडखडाउँदै उठ्ने बेलामा प्रशंसामा परिकारको महाभारत तयार पारियो र ‘थकाइ मार अभियान’लाई निरन्तरता दिने एक सूत्रीय प्रतिबद्धतासहितको समझदारी कायम गरियो ।

पञ्चायतकालमा अति विकट रोल्पाको लिवाङमा गरिएको यो अलिखित समझदारीको यो बिरुवाका जरा, हाँगाबिँगा बहुदल, लोकतन्त्र हुँदै गणतन्त्रकाल आइपुग्दासम्म पनि ओइलाउनु, सुक्नुको सट्टा झाँगिएर, फैलिएर पूरै देशलाई छपक्क ढाक्दै गइरहेको छ ।