• २० असोज २०८१, आइतबार

‘महिला पत्रकारले अझ बलियो गरी कलम चलाउन सकून्’

blog

तीजको अवसरमा सञ्चारिका समूह नेपालले आयोजना गरेको तीज दर कार्यक्रममा सहभागीहरु । तस्बिर : कविता थापा

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २५ गते । तीजको अवसरमा सञ्चारिका समूह नेपालले सोमबार काठमाडौंका महिला पत्रकारलाई दर खुवाउने कार्यक्रम गरी शुभकाना आदानप्रदान गरेको छ । 

सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवाले महिला पत्रकारलाई दर खुवाउन पाउँदा आफू  खुशी भएको बताउनुहुँदै महिला पत्रकारले सशक्तरुपमा कलम चलाइरहेकाले अगामी दिनमा पनि अझ बलियोगरी कलम चलाउन सकून् भन्दै सबैमा शुभकामना व्यक्त गर्नुभयो । 

उहाँले सामाजिक र पारिवारिक सद्भाव कायम गर्न साथीभाइको सम्बन्ध दिगो बनाउन र सुमधुर सम्बन्ध कायम राख्न धार्मिक र सांकृतिक दृष्टिकोणले तीज पर्वको नेपाली समाजमा ठूलो भूमिका रहेको बताउनुभयो । तीजमा देखिएको विकृतिप्रति भने महिला पत्रकार सजग हुनुपर्ने उहाँको भनाइ छ । 

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले तीज महिलाका लागि देखाउने चाड नभई राम्रो कुरा सिक्ने र सिकाउने पर्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सिक्ने र सिकाउने चाड हो, अरुको देखासिकी र भड्कीलो गर्नुभन्दा नयाँ र बैज्ञानिक तरिकाले कसरी मनाउन सकिन्छ अहिले सोच्नुपर्ने बेला आएको छ ।’

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले पहिले र अहिलेको तीजमा फरक रहेको अनुभव सुनाउनुभयो । कार्यक्रममा उपस्थित सञ्चारिका समूह नेपालका पूर्व अध्यक्ष बबिता बस्नेतले तीज राम्रो खाने राम्रो लाउने चाड मात्रै नभइ यस्का धेरै राम्रा पक्षहरु रहेको बताउनुभयो । 

पूर्व अध्यक्ष बन्दना राणाले पहिले र अहिले मान्ने तीजमा फरक भए पनि सबै कुरा नकारात्मक नरहेकाले तीजलाई पोजेटिभरुपमा लिनुपर्छ वा लिनुपर्ने बताउनुभयो । यस्तै, समूहका पूर्व अध्यक्ष निर्माला शर्माले अनुभव साट्दै दर खुवाएको र सबै महिला पत्रकारलाई भेला गराई शुभकामना दिने अवसर जुराएकोमा सञ्चारिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।