• १२ साउन २०८१, शनिबार

बगनासकालीलाई पर्यटकीय गन्तव्य बनाउँछौँ

blog

पाल्पा जिल्लाका १० वटा स्थानीय तहमध्ये बगनासकाली गाउँपालिका पनि एक हो। सदरमुकाम तानसेनदेखि सात किलोमिटर उत्तरपूर्वमा रहेको गाउँपालिकाको केन्द्र चिर्तुङ्गधारा हो। गाउँपालिकाको नामकरण बगनास पर्वत, बगनासथोक, बगनासदेवी, बगनासे चापी तथा पवित्र कालीगण्डकीको संयोजनबाट भएको हो। यो गाउँपालिकामा विभिन्न कला, संस्कृति, भाषा, धर्म, जातजातिको समिश्रण रहेको छ। गाउँपालिकाको पूर्वमा रम्भा गाउँपालिका, पश्चिम तानसेन नगरपालिका, उत्तरमा कालीगण्डकी नदी तथा दक्षिणमा माथागढी गाउँपालिका पर्छन्। गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट सरस्वती दर्लामी (चिदी) निर्वाचित हुनुभएको हो। चिदी यसअघिको चुनावमा उपप्रमुखमा निर्वाचित हुनुभएको थियो। गाउँपालिका अध्यक्ष सरस्वती चिदीसँग पाल्पा समाचारदाता बिन्दु थापाले गरेको कुराकानी :


निर्वाचित भएको एक वर्ष कति उपलब्धिमूलक भयो ? 

अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी फरक फरक छन्। पहिला थोरै जिम्मेवारी थियो। अहिले सबै जिम्मेवारी र जवाफदेहिता छ। नागरिकका अपेक्षा असीमित अपेक्षा छन्। ती सबै अपेक्षा पूरा गर्न सकिएको छैन। सामान्य काम पनि गाउँपालिकाले नै गरिदिए हुन्थ्यो भन्ने नागरिकको अपेक्षाले गर्दा काम गर्न सजिलो छैन। निर्वाचित भएको एक वर्षमा धेरै कामका योजना बनेका छन्। ती योजना क्रमशः पूरा गर्ने तयारीमा जुटेका छौँ। पालिकाका नौ वटै वडामा अझै पनि सडक पूर्वाधार छैन। खानेपानीको समस्या छ। जनताको अपेक्षा पूरा गर्ने क्रममा सबैसँग समन्वय गरिरहेका छौँ। हामीले यो बिचमा विकासको जग राख्ने काम गरेका छौँ। 

काम गर्दाका असहजता के कस्ता छन् ? 

आन्तरिक आयस्रोत कम भएका कारण वन्यजन्तु नियन्त्रण गर्न कठिन भएको छ। यहाँका धेरै जनता कृषिमा आश्रित छन्। वर्षभरिको लगानी बाँदरले नष्ट गरिदिन्छ। सङ्घ र प्रदेशसँग समन्वय गरेर काम गरिरहेका छौँ। भारतबाट टिम ल्याएर २९६ वटा बाँदर छोपियो तर सफल हुन सकिएन। ठाउँ ठाउँमा खोर राखेर वडा वडामा बाँडियो। बन्दुक पड्काउने विधिले सुरु सुरुमा अलि अलि बाँदर भागे पनि प्रभावकारी हुन सकेन। प्रत्येक वडा र बस्तीमा यो विधि प्रयोग गरियो तर सफल हुन सकिएन। यो वर्ष पनि बजेट छुट्याएका छौँ। कसरी प्रयोग गर्ने भन्ने विषय अझै टुङ्गो लागेको छैन। स्थानीय तहले मात्रै चाहेर यो सम्भव छैन। सङ्घीय र प्रदेशबाट नै केही विकल्प हुनुपर्छ। बाँदर नियन्त्रण गर्न चुनौती छ। त्यो नभइकन यहाँका जनताको आम्दानीको स्रोत गुम्ने अवस्था छ।  

एक वर्षमा ठ्याक्कै भएका काम के के हुन् ? 

योजना तर्जुमा वडामा र टोल टोलमा गएर गरेका छौँ । सामाजिक सुरक्षा भत्ता वडा वडामै गएर वितरण गर्ने गरेका छौँ। अपाङ्गता भएका व्यक्तिलाई संरक्षकका रूपमा हेरेका छौँ। विकेन्द्रित अधिकारलाई टोलटोलमा पु-याएका छौँ । एक घर एक धाराको अभियान चलाएका छौँ। कालीगण्डकी बृहत् योजना सुरु गरिएको छ। वडा, बस्ती र टोल विकासमार्फत योजना सम्झौता गर्ने गरेका छौँ। धेरै आयोजनाको स्तरोन्नति भएको छ। १५ शय्याको अस्पताल निर्माणाधीन छ। स्वास्थ्यका क्षेत्रमा पनि हामीले सुधार गरेका छौँ। गाउँपालिकामा नौ वटा स्वास्थ्य चौकी, एक स्वास्थ्य एकाइ, बर्थिङ सेन्टर रहेको छ। दीर्घ रोगीले नियमित खानुपर्ने सुगर प्रेसरका औषधी निःशुल्क रूपमा स्वास्थ्य चौकीबाट दिने गरिन्छ। सुत्केरी हुने महिलाका लागि पालिकाले एक हजार दिने गरेको छ भने यहीँ परीक्षण गरेर स्वास्थ्य चौकीमै सुत्केरी हुनेलाई एक हजार पाँच सय भत्ता प्रदान गर्दै आएका छौँ। 

उपाध्यक्ष भएर अध्यक्ष निवार्चित भएकाले अनुभव फरक भयो ? 

पहिले जनप्रतिनिधि हुँदा कसरी कार्ययोजना बनाउने, कर्मचारी व्यवस्थापन कसरी गर्ने, कसरी कानुन निर्माण गर्ने भन्ने चिन्तामै समय बित्यो। जेहोस् नियम सिक्दासिक्दै अहिले काम गर्न लागिरहेको छु। कृषिलाई आधुनिकीकरण गर्दै जाने र कृषिसम्बन्धी तालिम प्रदान गर्नैपर्ने छ। जनताले आँखै अगाडिको समस्या मात्रै देख्ने गर्दा अलिकति चुनौती रहेको हो। अहिले नै नतिजा खोज्ने समय नभए पनि एक वर्षमा गरिएका कामको उपलब्धिले जनतामा विश्वास बढेको छ। नागरिक सन्तुष्ट हुने गरी हाम्रा काम अगाडि बढेका छन्। नागरिकले त्यसको अनुभूति पनि गरिरहनुभएको छ। जनताले सोचेका सबै काम पूरा हुने समय भने भइसकेको छैन। अनुभूति गराउन कोसिस गरिरहेका छौँ । 

सङ्घीय र प्रदेश सरकारसँग सहकार्य भएको छ ? 

सङ्घ र प्रदेश सरकारसँगको सहकार्य राम्रै छ। सङ्घसँग सहकार्य गरेर मकै प्रवर्धन कार्यक्रम ल्याइएको छ। वडा नं. १, २ र ३ मा मकै उत्पादन गरी बिउ वितरण गरिँदै आएको छ। बगनासकाली गाउँपालिकालाई अदुवा, सुन्तला, तोरी, मौरी पकेट क्षेत्रका रूपमा विस्तार गरेका छौँ। एक वडा एक पकेट क्षेत्रका रूपमा विस्तार गरेका छौँ। बाँदरको नियन्त्रण गर्न सङ्घ र प्रदेशसँग छलफल भइरहेको छ। 

आन्तरिक स्रोत साधनलाई कसरी परिचालन गर्नुभएको छ ? 

बगनासकाली गाउँपालिका आन्तरिक स्रोत कम भएको पालिका हो। यहाँ खोला नाला, जङ्गल छैन तर पनि जनतालाई सचेत बनाइ सञ्चालन गरेको व्यवसाय र घर जग्गाको कर बुझाउनु पर्छ भन्ने अनुभूति दिलाएर राजस्व उठाएका छौँ। हामीले जनताबाट उठाएको राजस्व जनताकै लागि खर्च गर्ने योजना बनाएका छौँ। पालिकामा आश्रित जनताको मुख्य पेसा कृषि भएको तर बाली भित्र्याउने बेला जङ्गली जनावरले नष्ट गरिदिने समस्या छ। यसको नियन्त्रणका लागि प्रयास गरिएको छ। अबको योजना यहाँका जनताको प्राथमिकता हेरेर सुरु गर्ने सोच छ। 

यहाँका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण गर्दै पाल्पामा आएका पर्यटक बगनासकाली आफैँमा सुन्दर र मनमोहक भएकाले पर्यटकलाई यहाँका धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण गराउन आतुर छौँ। बगनासकालीलाई पर्यटनको गन्तव्य बनाउन लागिपरेका छौँ। धार्मिक तथा ऐतिहासिक महìवका स्थलसम्म जाने सडक निर्माण र पर्यटकलाई बस्न मिल्ने भवन निर्माणलगायतका काम गर्नैपर्ने छ। आगामी दिनमा र हाम्रै पालामा बगनासकाली गाउँपालिकाको पूर्वाधारमा आमूल परिवर्तन गर्ने योजना छ। हाम्रो सपना पूरा हुने छ।