धर्बेन्द्र झा
जनकपुरधाम, असोज २७ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन सोमबार फिर्ता लिएको छ ।
लोसपा संसदीय दलका नेता जैनुल राइनले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहलाई दिएको समर्थन फिर्ता लिएको पत्र आज प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु भएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधनप्रसाद यादवले जानकारी दिनुभयो ।
यसअघि मुख्यमन्त्री सिंहकै पार्टी जनमत पार्टी, नेपाली कांग्रेस र नेकपा (एमाले) ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले असोज २८ गते अर्थात मङ्गलबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने निर्धारित भएको पूर्वसन्ध्यामा लोसपाले मुख्यमन्त्री सिंहलाई दिएको सर्मथन फिर्ता लिएको हो ।
लोसपाले समर्थन फिर्ता लिएपछि लोसपाको तर्फबाट सरकारमा सहभागी हुनुभएका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले आज पदबाट राजीनामा दिनु भएको छ । मङ्गलबार बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत नपाएको अवस्थामा नयाँ सरकारका लागि ढोका खुल्ने छ ।
राजनीतिक विश्लेशकहरूका अनुसार केही दिनअघि नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमै नयाँ सरकार गठनका लागि ५८ जना प्रदेशसभा सदस्यको समर्थनसहितको दाबीपत्र प्रदेश प्रमुखको कार्यालयमा प्रस्तुत गरिसकेकाले मुख्यमन्त्रीलाई विश्वासको मत आउने सम्भावना कम छ ।