• १ जेठ २०८२, बिहिबार

प्रदेश सभा बैठक रोकिने देखिएपछि सर्वदलीय बैठक बोलाइयो

blog

राममणि दाहाल

हेटौँडा, भदौ २४ गते । बागमती प्रदेशको प्रदेश सभाको बैठक मिति तय गर्ने र पटक पटक सार्नुपर्ने अवस्था आएपछि बैठक सञ्चालनको लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको छ ।

आज (आइतबार) बिहान १० बजेका लागि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाउनुभएको हो । सत्तारुढ दल र विपक्षी दलहरूको आ–आफ्नै अडानका कारण आइतबार नै ११ः३० बजे बोलाइएको बैठक बस्ने सम्भावना कम भएपछि सभामुख पाठकले प्रदेश सभा बैठकका लागि निर्धारित समय अगावै सवैदलीय बैठक बोलाउनुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सत्तारुढ दल र विपक्ष दलहरूको आ–आफ्नै अडानका कारण पटक पटक प्रदेश सभाको बैठकका लागि मिति तय गर्दै सहमति नजुटेपछि सूचना टाँस गरेर स्थगित गरिँदै आएको छ । 

प्रमुख विपक्षी दल नेकपा एमाले र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग यसअघि भएको सहमति कार्यान्वयन नभएसम्म बैठक सञ्चालन हुन नसक्ने बताउँदै आएका छन् । विपक्षी दलले गत असारमा बजेट निर्माणको क्रममा भएको सहमति कार्यान्वयन गर्न माग गर्दै आएका छन् । 

एमाले संसदीय दलका प्रमुख मधुसूदन पौडेलले सरकारले विगतमा गरेको सहमति कार्यान्वयन नगर्दा समस्या आएको भन्दै प्रदेश सभाको बैठक बस्ने नबस्ने विषय सरकारमा निर्भर रहने प्रतिक्रिया दिनुभयो । 

बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट गत असार २१ गते पारित भएसँगै स्थगित गरिएको प्रदेश सभाको बैठक पुनः बस्न नसकेको हो । प्रदेश सभाको स्थगित गरिएको बैठक झन्डै दुई महिनापछि बस्ने गरी सभामुख पाठकले भदौ १८ गते सोमबार दिउँसो १ः३० बजेका लागि बैठक बस्ने समय निर्धारण गर्नुभएको थियो । तर त्यसयता बैठक सञ्चालनका लागि प्रयास भए पनि विफल हुँदै आएको छ ।