काठमाडौँ, भदौ २४ गते । मण्डला थिएटरमा नाटक ‘दमिनी भिर’ मञ्चन सुरु भएको छ । इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा बनेको नाटक राजन मुकारुङको उपन्यास दमिनी भिरमा आधारित छ । यो उपन्यास मदन पुरस्कार २०६९ बाट पुरस्कृत भएको थियो । थैली इन्टरटेनमेन्टको सहकार्यमा नाटक तयार भएको हो । साहित्यकार मुकारुङको लेखनमा निर्माण गरिएको यो पाँचौँ नाटक हो । यसअघि उनको लेखनमा ‘घुम्रिएको कपाल’, ‘जोखाना’, ‘हेच्छाकुप्पा’ र ‘खुवालुङ’ मञ्चन गरिएको थियो ।
नाटकमा सङ्क्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञानबारे गहिरो चित्रण गरिएको छ । नेपाली समाजको संस्कृति, संरचना र सभ्यतालाई मुख्य रूपमा उठान गरिएको छ । सामाजिक विसङ्गति र विद्रोही चेतना मूल स्वर बनेर आएका छन् । जातीय पहिचानको मुद्दा पनि नाटकमा सशक्त रूपमा प्रस्तुत छ ।
राजनीतिक आरोह अवरोह र आन्दोलनको शिथिलताका कारण उत्पन्न निराशावादी जीवनदृष्टि पनि यसमा मुखरित हुन पुगेको छ । समतामुखी समावेशी चिन्तनको अभिव्यञ्जना पनि पाइन्छ नै । राज्यसँग गरिएका माग र त्यसको परिपूर्तिका लागि गरिएका विभिन्न खाले आन्दोलनले सामाजिक सद्भाव बिथोलिने भय पैदा हुँदा उत्पन्न सन्त्रासपूर्ण परिवेश नाटकमा प्रस्तुत गरिएको छ ।
‘दमिनी भिर’ माथि नाटक आधारित छ । नाटकमा किरण चाम्लिङ, पुनम थापा, सीता राई, रियर राई, सुजाता गुरुङ, सुजु सुनुवार किराती, प्रतिना राई, मणि कुलुङ राई, सोनाम लामा, कवि राई, शायोक मुकारुङलगायतका कलाकारको अभिनय रहेको छ । नाटक असोज १३ गतेसम्म मञ्चन हुने छ ।