• १ जेठ २०८२, बिहिबार

ट्राफिक प्रहरी कार्यालय चितवनको नव निर्मित भवन उद्घाटन

blog

भवन उद्घाटन गर्नुहुँदै मन्त्री गङ्गानारायण श्रेष्ठ । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
भरतपुर भदौ २३ गते । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नव निर्मित भवनको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले शनिबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।

साढे तीन करोड रुपियाँभन्दा बढी लागतमा निर्माण भएको सो भवनको उद्घाटन गर्नुहुँदै  मन्त्री श्रेष्ठले प्रहरी र ट्राफिक प्रहरीबाट नागरिकले सास्ती भोगी रहेका गुनासो आइरहेकाले त्यसको अन्त गराउन निर्देशन दिनुभयो ।

“अब प्रहरीमा आएका सर्वसाधारण नागरिकले प्रहरीका सेवा पाएपछि खुसी हुने वातावरण बनाउनुपर्छ ।,” उहाँले भन्नुभयो ।

संविधानमा प्रदेशको सुरक्षाको जिम्मा प्रदेश सरकारको भए पनि अहिलेसम्म प्रहरी सेवा प्रदेश सरकारमा संयोजन नभएकोमा गुनासो पोख्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले बनेको गठबन्धन सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्रहरीलाई छ महिना भित्र संयोजन गर्ने निर्णय गरेको छ, विश्वास गरौँ यही भदौ ३० गते छ महिना पुग्दै छ । यही अवधि भित्र प्रहरी संयोजन भइसक्ने छ ।”


कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रहरी कार्यालय बागमती हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले समय सापेक्ष प्रहरी सेवाको गुणस्तर सुधारिँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल प्रहरीका तल्लो तहका निकायसम्म बन्दै गरेका संरचनाहरूले प्रहरीको गुणस्तर वृद्धिमा सहयोग पुगेको छ । यसले  शान्ति सुरक्षा अमनचयनमा पनि सहयोग पुगेको छ ।” कार्यक्रममा प्रदेश प्रहरी कार्यालयअन्तर्गत टिएसटिका प्रहरी उपरीक्षक ई.ईश्वर थापाले भवन निर्माणको प्रगति विवरण सुनाउनुहुँदै नव निर्मित भवन जम्मा ट हजार ४५० वर्गफिटमा बनेको जानकारी दिनुभयो ।

तीन बिगाहा ८ कठ्ठा जग्गा क्षेत्रफलमा बनेको सो भवनमा प्रहरी हबल्दार र जवानका लागि दुई,  जुनियर प्रहरी अधिकृतका लागिएका, महिला प्रहरी अधिकृतका लागि एक, कार्यालय कक्ष नौ, किचेन, स्टोर, शौचालय, सोधपुछ कक्ष, गोलघर, डाइनिङ र स्नान कक्ष रहेका छन् ।