• २० असोज २०८१, आइतबार

कास्कीकोटमा भेटिए कृष्ण र राधा !

blog

जन्माष्टमीको भोलिपल्ट पोखरा २४ को कास्कीकोटमा मनाइने दहीजात्राका सहभागी। तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी 

लेखनाथ, भदौ २१ गते। बिहीबार दिउँसो पोखरा-२४ कास्कीकोटको भारदारी चौतारीमा मानिस जम्मा हुन थाले। घर घरबाट दही ल्याएर भाडामा राखे। जम्मा भएर भजनकीर्तन थाले। कोही श्रीकृष्ण बने, कोही राधा।

कोही त शङ्का बने भने कोही दही एकापसमा छेपाछेप गर्दै थिए, केही भने दहीखानै मस्त थिए। कृष्णचरित्रको चलचित्रको झल्को दिने यो दृश्य सोमबार कास्कीकोटको हो। ऐतिहासिक कास्कीकोटमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा दहीको होली खेलिएको हो। 

भगवान् श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्व कालदेखि नै कास्कीकोटमा दही जात्रा हुँदै आएको छ। गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समिति सचिव ठाकुरप्रसाद त्रिपाठीले दहीजात्रासँगै विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा, भजन कीर्तनसमेत भएको बताउनुहुन्छ।

भारदारी चौतारामा परापूर्व कालदेखि दहीजात्रा गर्ने चलन छ। दही छेपाछेप गर्नुअघि भारदारी चौतारामा रहेको चाँपको रुखलाई श्रीकृष्ण मानेर पूजा गरिन्छ। त्रिपाठी, रानामगर, दुवाडी र अधिकारीले दहीले विभिन्न क्षेत्रपाल, चण्डी, वराहा, बहासा, मनकान्छी लगायत मन्दिरमा पूजा गर्दै हिँड्ने परम्परा रहेको त्रिपाठी बताउनुहुन्छ।

करिब २ किलोमिटरको यात्रामा जात्रा गरेर बासपानी कालिका मन्दिरमा विधिवत् रूपमा जात्रा समापन हुन्छ। दही जात्रा सम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले जात्रा आयोजना गरेका हुन्। 

कास्कीकोटमा मात्रै श्रीकृष्णको जन्म भएपछि दहीको जात्रा निकाल्ने चलन छ। जात्रा संरक्षण तथा प्रवर्द्धन गर्न पोखरा महानगरपालिका-२४ ले सघाउने वडाध्यक्ष भरतबहादुर अधिकारीले प्रतिबद्धता जनाउनुभयो।