गोकर्ण दयाल
बैतडी, भदौ २१ गते। बैतडीको पञ्चेश्वरमा नरभक्षी चितुवाको पञ्जाबाट किशोरीको उद्धार गरिएको छ। चितुवाको आक्रमणमा परी युवतीको घाँटी र टाउकोमा गम्भीर चोट लागेको छ।किशोरीको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरेर थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र केशरपुर रेफर गरिएको हो।
पञ्चेश्वर गाउँपालिका–३, बगरेडीमा बिहीबार बिहान ११ः५० बजे चितुवाको आक्रमणमा परी १७ वर्षीय किशोरी पूजा लोहार गम्भीर घाइते हुनुभएको हो।घाँस काट्न बगरेडी वनमा पुग्दा चितुवाले आक्रमण गरेको हो।
बगरेडीको वनमा घाँस काट्ने बेला चितुवाले पछाडिबाट आक्रमण गरेको युवतीका बुवा जयराम लोहारले बताउनुभयो।बाघले आक्रमण गर्ने बित्तिकै वनमा गएका गोठाला र घाँस काट्ने महिलाले होहल्ला गरेर युवतीलाई चितुवाको पञ्जाबाट छुटाएको उहाँले बताउनुभयो।
घाइते युवतीले स्थानीय शोमेश्वर माविबाट यो वर्ष एसइई परीक्षा दिएकी थिइन्।पढाइसँगै घरको काम सघाउन युवती घाँस काट्न गएका बेला चितुवाको आक्रमणमा परेको परिवारका सदस्यले बताएका छन्।
घाइते युवतीको उद्धारका लागि पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द आफै घटनास्थल पुग्नुभएको थियो।स्वास्थ्यकर्मीको टोलीसहित घटनास्थल पुग्दा घाउबाट धेरै रगत बग्न नपाएको अध्यक्ष चन्दले बताउनुभयो।
गम्भीर घाइते किशोरीको प्राथमिक उपचारपछि गाउँपालिकाले गाडीको व्यवस्था गरेर थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो।युवती खतरामुक्त भएको बताएको छ।
चितुवाले २८ को ज्यान लियो
बैतडीको तल्लोस्वराड क्षेत्रका पञ्चेश्वर, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा वि.सं.२०६८ साल यता चितुवाको आक्रमणमा परी २८ जनाले ज्यान गुमाइसकेका छन्।
चितुवाको आक्रमणमा परेर अधिकांश बालबालिका र युवतीको मृत्यु भएको छ।दिउँसो घाँस काट्न गएका महिला र युवतीमाथि चितुवाले आक्रमण गर्ने गरेको छ भने साँझ–बिहान घरमै आएर नरभक्षी बालबालिकालाई झम्टेर खाने गरेको पाइएको छ।