• ११ पुस २०८१, बिहिबार

कांग्रेस सहमहामन्त्रीमाथिको आक्रमण घटनालाई थामथुम पार्ने प्रयास : गगन थापा

blog

नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २१ गते । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको घटनालाई थामथुम पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ । 

सो साङ्घातिक आक्रमण सनकको भरमा भएको भन्दै थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई उहाँले सचेत गराउनुभयो । बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री थापाले सो घटनाको सबै पक्षको अनुसन्धान गरी साङ्घातिक आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गर्न पनि सरकारसँग माग गर्नुभयो । 

के काठमाडौँमा हामी एक्लैले हिँड्न नमिल्ने अवस्था आएको हो ? भनी गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न समेत गर्नुभयो । कोही जलाई दिन्छु भन्ने, कोही खुकुरी प्रहार गर्ने अवस्था आएकाले काठमाडौँमा आफूहरू एक्लै हिँड्न सक्ने अवस्था नहुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले धेरै बोल्ने तर परिणाम आउनेगरी काम भने नगरिरहेको महामन्त्री थापाले गुनासो गर्नुभयो । उहाँले नेपाली समाजमा हिंसात्मक घटनालाई पनि थामथुम पार्ने प्रयास गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘नेपाली कांग्रेसका सहमहामन्त्री, संविधानसभा सदस्य महेन्द्र यादवमाथि हिजो मध्यान्ह काठमाडौँमा साङ्घातिक आक्रमण भयो । मैले गलतै चिकित्सकहरूलाई सम्पर्क गरेको थिएँ । चिकित्सकहरूको भनाइअनुसार उहाँ भाग्यले बाँच्नुभएको छ । उहाँले नछल्नु भएको भए जे पनि हुनसक्थ्यो । म उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

एउटा सन्काले सन्केर हान्यो । म नेपाली कांग्रेसका तर्फबाट सरकारलाई सचेत पनि गराउन चाहन्छु, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो विषयको गहिरो अनुसन्धान भएर यो घटना कसरी भयो, किन भयो ? यसका सबै पक्षहरूको बारेमा राम्रोसँग अनुसन्धान होस् उहाँले भन्नुभयो । योसँगै जोडिएका अरू सबै पक्षहरूको पनि । “म गृहमन्त्रीलाई सोध्न पनि चाहन्छु के हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो ?”

कसैले बोलेको कुरालाई लिएर साङ्घातिक आक्रमण गर्ने, खुकुरी प्रहार गर्ने जायज नभएको उहाँले बताउनुभयो । “हामी कुनै पनि ढङ्गबाट हिंसालाई जायज बनाउने कोसिस गरिरहेका छौँ भने त्यो गलत छ ।  म आग्रह गर्न चाहन्छु यो संसदभित्र रहेका सबै राजनीतिक दलहरू, सञ्चार माध्यम, नागरिक, नागरिक समाज सबैले एक पटक मनन गर्नेबेला आएको छ ।” असन्तुष्टिलाई देखाएर हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, हिंसालाई प्रोत्साहन गर्ने घटना वा हिंसात्मक गतिविधिलाई कुनै न कुनै मानेबाट प्रश्रय दिन हामीले खोज्यौँ भने नेपाली समाजले ठुलो मूल्य चुकाउनुपर्छ उहाँले भन्नुभयो ।

सो अवसरमा महामन्त्री थापाले ५ वर्षीया एक बालिकाको काठमाडौँको कान्ति बाल अस्पतालमा उपचार नपाएर ज्यान गएको उल्लेख गर्दै सो घटनाको छानबिन गरी तत्काल संसद्लाई जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।