• २० असोज २०८१, आइतबार

मौलिक संस्कृति संरक्षणमा जोड

blog

कावासोतीमा लाखेनाच ।

मीना कंडेल

कावासोती, भदौ २० गते । कावासोतीका नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् । मौलिक संस्कृति र कला लोप हुँदै जान थालेपछि आफ्नो संस्कृति संरक्षण गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विविध कार्यक्रम सुरु गरेका हुन् ।

पछिल्लो समय नेवार समुदायभित्र लोप हुँदै गएको मौलिक संस्कृति र परम्परागत रूपमा मनाइने लाखे नाच र नेवार समुदायको बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेको छ । नयाँ पुस्तालाई आफ्नो परम्परा र संस्कृतिका बारेमा जानकारी दिन र संरक्षण गर्न लागि परेको सिका नेवा: गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “नेवार समुदायमा बालबालिका र युवाहरू धिमे बाजा बजाउने प्रशिक्षण दिन थालिएको छ । यस्तै लाखे नाच प्रदर्शन गरेर नयाँ पुस्ता हस्तान्तरणमा जुटेका छौँ ।” “परमपरागतरूपमा रहेका मौलिक लाखेनाच जस्ता संस्कार, संस्कृति लोप हुँदै जाँदा नेवार समुदायको अस्तित्व सङ्कटमा पर्न सक्ने खतरा रहने श्रेष्ठले बताउनुभयो ।

कावासोतीका आकृति श्रेष्ठ पनि आफ्नो समुदायको पौराणिक लाखेनाच हेर्दा रमाइलो लागेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “अलि सानो उमेरमा सुरु सुरुमा मुखुण्डो लगाएर आउँदा डर लाग्ने गर्दथ्यो तर अहिले बुझ्ने भएपछि सहज लाग्न थालेको छ ।”

लाखे नाचले नेवार समुदायको पहिचान र संस्कार, संस्कृति झल्काउने काम गर्छ । लाखे अन्तर्गत कृष्ण प्रस्तुति, चटकीदेखि लाठीनाच सम्मको प्रस्तुति भएको भीमसेन कालिका नेवा: गुठीका अध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो । कावासोती क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले संस्कार, संस्कृतिको संरक्षणका लागि धिमे बाजा बजाउने प्रशिक्षण, लाखेनाच सञ्चालन गरेका हुन्। आफ्नो धर्म संस्कृति जगेर्ना गर्न सदुपयोग गरेको रोशनकुमार श्रेष्ठले बताउनुभयो ।

नेवारी समुदायले आफ्नो धार्मिक, सांस्कृतिक कार्यक्रमका रूपमा प्रस्तुत गर्ने लाखेनाच देशका विभिन्न भू–भागमा लोकप्रिय छ । नागपञ्चमीको दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म लाखेनाच दिनहुँ देखाइन्छ । सामाजिक परम्परासँग जोडिएको लाखेनाच कंसको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रूप लाखे र अन्य मुखुण्डोधारी उसका सहयोगी सामूहिकरूपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछन् ।