वालिङ समाचारदाता
वालिङ, भदौ १८ गते । स्याङ्जा जिल्लामा भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षण गरिने खबर सुनेर उत्साहित भएका उपभोक्ता निराश हुँदै गएका छन् । गल्याङ नगरपालिका–१, मालुङ्गामा स्थापना गरिएको विषादी प्रयोगशाला प्रयोगमा आउन सकेको छैन ।
फलफूल तथा तरकारीमा कति विषादी मिसावट गरिएको छ भनेर परीक्षण गर्नका लागि कार्यालय स्थापना गरिएको भए पनि कर्मचारीविहीन भएपछि आवश्यक काम अगाडि बढ्न नसकेको हो ।
गण्डकी प्रदेशको प्रवेश बिन्दुमा विषादीको परीक्षण गर्ने योजनाका साथ प्रयोगशाला स्थापना गरिएको हो । जसले गर्दा बाहिरबाट आयात गरिएका तरकारीजन्य खाद्यवस्तुको गुुणस्तरमा चेकजाँच हुन सकेको छैन ।
गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तामझामका साथ उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो । अत्याधुनिक उपकरणहरू भए पनि प्रयोगशालामा कर्मचारी नभएका कारण प्रयोगमा आउन सकेका छैनन्, गल्याङ नगरपालिका–१ का वडाध्यक्ष मणिप्रसाद बस्याल भन्नुहुन्छ ।
उहाँले भन्नुभयो, प्रयोगशालामा परीक्षण गर्ने नमुना सङ्कलन गर्ने, लेबल लगाउने, कति प्रतिशत विषादी छ भनेर छुट्याउने तथा गुणस्तरको चेकजाँच गर्ने उपकरणहरू यहाँ रहेका छन् । नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुुपन्छी नियमन एकाइको ८० लाख तथा गण्डकी प्रदेश सरकारको २० लाख गरी एक करोडको लागतमा प्रयोगशाला बनाइएको थियो ।
प्रयोगशालालाई नियमित रूपमा सञ्चालनको माग गर्दै पालिकाले प्रदेश तथा सङ्घीय सरकारसमक्ष पटक पटक अनुरोध गरेको गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले प्रयोगशाला सञ्चालनका लागि आफूहरूको प्रयास जारी रहेको बताउनुभयो । प्रदेशमा भित्रिने अधिकांश तरकारी तथा फलफूल यही नाका भएर आउने गरेको हमालले जानकारी दिनुभयो ।
प्रयोगशालालाई प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतमा नै राखिएकाले यसको नियमन अनुगमन गर्ने अधिकार आफूहरूमा नरहेको प्रमुख हमालको भनाइ छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईंले प्रयोगशालालाई नियमित सञ्चालनका लागि कर्मचारी तत्कालै खटाइने बताउनुभयोे ।
उहाँले भन्नुभयो, “कार्यालयमा करारमा खटाइएका दुई जना कर्मचारी नाम निकालेर अन्यत्र गएको र स्थायी कर्मचारी नहुँदा समस्या आएको हो । अब तत्कालै दुई जना कर्मचारी पठाउछौँ ।” यहाँ पाँच जनाको स्थायी दरबन्दी छ ।