• ७ मंसिर २०८१, शुक्रबार

कोशी नियन्त्रण मुख्य प्राथमिकतामा छ

blog

बेलका नगरपालिका उदयपुर जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र भएको नगरपालिका हो । चुरे, भित्री मधेश र पहाड गरी तीन किसिमको भौगोलिक बनावट रहेको यो नगरपालिका ३४४.७३ वर्ग किलोमिटरमा फैलिएको छ । प्राचीनकालमा बेलका राजा र बेलका रानीले यस ठाउँमा राज्य गरेका थिए भन्ने किंवदन्तीका आधारमा यस नगरपालिकाको नाम बेलका राखिएको हो । भौगोलिक विविधताका कारण विकासको प्रचुर सम्भावना बोकेको यस नगरपालिकाको मध्यबिन्दु भएर निर्माण भएको मदन भण्डारी लोकमार्गले यहाँको आर्थिक विकासको सम्भावनालाई अझ फराकिलो बनाएको छ । सप्तकोशी नदी, वराहक्षेत्र, मैनामैनीमा रहेका विभिन्न ऐतिहासिक तथा भौगोलिक सम्पदाहरू र कोशीटप्पुलगायतका पर्यटकीयस्थलहरूले यहाँको भौतिक र पर्यटकीय विकासका क्षेत्रमा थप टेवा दिएको पाइन्छ । कुल १० हजार २२९ घरधुरीका ५४ हजार १२२ जनसङ्ख्या रहेको यस नगरपालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका प्रमुख अशोक कार्कीसँग नगरको विकास, सम्भावना र चुनौतीलगायतका विषयमा गोरखापत्रका गाईघाट समाचारदाता भक्तिविलास पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ : 

तपाईंले निर्वाचनका क्रममा गर्नुभएको प्रतिबद्धता के कति पूरा गर्नुभयो ?

निर्वाचनताका प्रतिबद्धता गरिएका विषय र घोषणापत्रमा उल्लेखित विषयलाई प्राथमिकता निर्धारण गरी जनताको वस्तुस्थितिमा सुधार, जीविकोपार्जन, आयआर्जन, स्वास्थ्यलगायतका क्षेत्रगत विषयलाई निरन्तर अगाडि बढाइएको छ । स्वास्थ्य चौकी निर्माण, १० श-याको आधारभूत अस्पताल निर्माणको प्रव्रिmया, सामाजिक सुरक्षाभत्ताको वडागत रूपमा वितरण, विद्यालय भवन निर्माण, आन्तरिक आयमा जोड, शिक्षाको गुणस्तर सुधारका लागि विषयगत समिति परिचालन, एक घर एक धारा नीति अनुसार खानेपानी योजनाको निर्माण, कृषिको क्षेत्रमा विभिन्न भूमिगत तथा साना सिँचाइ योजना निर्माण, सम्भाव्यताको अध्ययन गरी नदी उकास जमिनमा व्यावसायिक कृषिका लागि सङ्घीय लगानीको वातावरण तयार गर्न विभिन्न चरणमा अध्ययन अवलोकनसहित सामाजिक, कृषि, स्वास्थ्य, शिक्षा र समग्र नगरको शासकीय अवस्था सुधार कार्य भइरहेका छन् ।

योजना छनोट प्रक्रिया वा विधि के कस्तो छ ?

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र योजना तर्जुमा दिग्दर्शन, २०७९ (राष्ट्रिय योजना आयोग) ले निर्दिष्ट गरेको व्यवस्थाबमोजिम सम्भाव्यतालाई मध्यनजर गर्दै आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष प्रभाव पर्ने, छिटो र उच्च प्रतिफल दिने, रोजगारमूलक दिगो एवं सामाजिक न्याय अभिवृद्धि गर्न विषयगत क्षेत्रलाई प्राथमिकीकरण गरी स्थानीय जनसमुदायको प्रत्यक्ष संलग्नतामा समयको पहिचान र उपायको खोजसँगै न्यून लागतमा नगरका स्रोतसाधनको अधिकतम उपयोग हुने र स्थानीयस्तरमा दिगो रोजगारी व्यावसायिकता र विकासको प्रत्याभूत गराउने गरी नगरपालिकाले योजना छनोट गर्ने गरेको छ । जस अन्तर्गत बजेटको पूर्व तयारी, स्रोतको अनुमान र कुल बजेटको सीमा निर्धारण, बस्ती टोलस्तरबाट योजना छनोट, वडास्तरीय योजना प्राथमिकीकरण निर्धारण, बजेट तथा कार्यव्रmम तर्जुमा, विषयगत शाखाबाट विषयगत समितिमा छलफल गराई कार्यव्रmम तयार गरी कार्यपालिकामा छलफल र स्वीकृति तथा अन्त्यमा सभामा प्रस्तुत तथा स्वीकृति गराउने गरिएको छ ।

उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि नगरपालिकाले खासै काम नगरेको जनगुनासो छ नि ?

बेलका नगरपालिका आफैमा एक सङ्ग्रहालय हो । यहाँ समथर भूभागदेखि हिमाली पर्वत शृङ्खला देखिने उच्च भूखण्ड रहेको छ । नेपालकै सबैभन्दा ठुलो नदी सप्तकोशी पनि यसै पालिका हँुदै बग्छ । सरकारले पहिचान गरेका दर्जनभन्दा बढी पर्यटकीय स्थलसँगै थप नयाँ सम्भावित क्षेत्रसमेत पहिचान गरी अध्ययन भइरहेको छ । जस अन्तर्गत बेलका राजारानी दरबार स्थल, कोशी नदीमा जल यातायात र जल पर्यटनको विकास, धार्मिक महìवको कङ्कालिनी मन्दिरदेखि महाकाली मन्दिर हुँदै वराहक्षेत्रसम्मको धार्मिक रुटको विकास, कोशीटप्पु वन्यजन्तु आरक्षलाई व्यवस्थित गर्ने र निकुन्जका रूपमा विकास गरी जङ्गल सफारीलगायत अन्य विविध साहसिक पर्यटनको विकासका लागि यस पालिकाको संयोजकत्वमा कोशी टप्पु सेरोफेरोका छ वटा पालिकाबिच समन्वय गरी योजना तथा कार्यव्रmमलाई अगाडि बढाउन विभिन्न चरणमा छलफल गरिएको छ । यसका साथै पहिचान भएका र भइरहेका पर्यटकीय स्थानको डिपिआर गर्ने कार्यलाई प्राथमिकतामा राखी अगाडि बढाइएको छ । वडा नं. ८ स्थित सोमबारेदेखि कोठुसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरी अध्ययन भइरहेको छ ।

विकास निर्माणका मुख्य मुख्य प्राथमिकता के के हुन् ?

गुणस्तरीय शिक्षाका लागि शिक्षक विद्यार्थी अनुपातबमोजिम पर्याप्त जनशक्ति व्यवस्थापनद्वारा शैक्षिक गुणस्तर, सबै वडामा स्वास्थ्य संस्था र स्वास्थ्य बिमाको निरन्तरता, कृषि तथा पशुपालनको व्यवसायीकरण, आधुनिकीकरण, बिमा र बजारीकरणका कार्यक्रम, पर्यटन विकासका कार्यव्रmम, घरेलु तथा लघु उद्यमको प्रवर्धन, विपत् व्यवस्थापनका कार्यक्रम, निर्माणाधीन संरचनाहरूको कार्य सम्पन्नता, सोमबारे–मायुङ्गटार सडक निर्माण, रामपुर आम्बासी सडक, झोलुङ्गे पुल निर्माण, खेल मैदान, आधारभूत अस्पताल, साना सिँचाइ आयोजनाहरू र थप नयाँ पूर्वाधारका संरचनाहरू निर्माण गर्ने योजना प्राथमिकतामा छन् ।

स्थानीय स्रोतसाधन परिचालन र जनसहभागिताको स्थिति कस्तो छ ?

स्रोत परिचालनमा नागरिकको सहभागिता रहेको छ । न्यूनतम विकास निर्माणमा नागरिकको अपनत्व विकास गर्न नीतिगत रूपमा व्यवस्था गरी साझेदारीमा सार्वजनिक निजी र नागरिकको सहभागिता भएको छ । जसले गर्दा नगरले आवश्यकताको परिधिभित्र न्यूनतम लागतमा जनतालाई सन्तुष्ट पार्दै आर्थिक विकासका लागि यथेष्ट स्रोत परिचालन गर्नु रहेको छ । 

आर्थिक पारदर्शिता र जवाफदेहिताको स्थिति कस्तो छ ?

आर्थिक पारदर्शिता र जवाफदेहिताका लागि संस्थागत व्यवस्थाबमोजिम नागरिकलाई नगरले गरेको कार्य सु–सूचित गराउन सूचनाको हकसम्बन्धी व्यवस्था भएबमोजिम प्रगति समीक्षा, त्रैमासिक श्वेतपत्र प्रकाशन, चौमासिक सार्वजनिक सुनुवाइ, वार्षिक प्रगति समीक्षा, संस्थागत सामाजिक परीक्षण, राजपत्र प्रकाशन, नगरको संस्थागत क्षमता स्वमूल्याङ्कन, प्रगति पुस्तिका, वित्तीय जोखिम मूल्याङ्कन प्राप्त अङ्कलगायत सम्पूर्ण दस्तावेज प्रकाशन तथा सम्प्रेषण गर्ने गरिएको छ । नागरिक वडापत्र, नागरिक पृष्ठपोषण र गुनासो रजिस्टर राखिएको छ । कर्मचारीलाई जिम्मेवार बनाउन कार्य विवरण प्रदान र कार्य सम्झौता करार गर्ने गरिएको, प्रत्येक महिना कर्मचारी बैठक र त्यसको निचोड कार्यपालिका बैठकमा समीक्षा गर्ने गरिएको छ । 

कोशी कटान नियन्त्रणका लागि के कस्ता काम गरिएको छ ?

कोशी नदी नेपालकै सबैभन्दा ठुलो नदी हो । प्राकृतिक विपत्तिलाई पूर्ण रूपमा रोक्न छेक्न र टार्न त सकिन्न तर पनि सचेत भई पूर्वतयारी गर्न सकियो भने धेरै हदसम्म प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ । यस पालिकाका वडा नं. ८, ९, ३ र २ कोशी नदीबाट प्रभावित वडा हुन् । गत वर्ष कोशीको भँगालो पुरै बस्तीमा पस्दा पनि कुनै पनि जनधनको क्षति हुन नदिई उद्धार कार्य गरियो । उद्धार गरिएका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी लामो समयसम्म गाँस, बास, कपास र औषधी उपचारको प्रवन्ध मिलाइएको थियो । सोहि घटना दोहोरिन सक्ने पूर्वानुमानबमोजिम निरन्तरको प्रयासले सङ्घीय सरकारबाट बजेटको व्यवस्था गराई कोशी बक्रहा नदी नियन्त्रण आयोजनामार्फत ठुलाठुला ढुङ्गा प्रयोग गरेर ६५० मिटरको तटबन्ध निर्माण गरियो । जसले गर्दा ३५ वर्षको इतिहासमा अत्यधिक चार लाख ६३ हजार क्युसेक पानीको बहाव हुँदा पनि कोशी नदीको कटान हालसम्म नियन्त्रित छ । 

बेलकाको विकास निर्माणमा हुने मुख्य समस्या वा चुनौतीहरू के के छन् ?

न्यून आन्तरिक स्रोत भएको पालिकामा विकासको चुनौती भनेको बजेटको अभाव नै हो । यसका साथै भौगोलिक विकटता, कानुनी जटिलता, कानुनी र प्राविधिक ज्ञानको कमी हुँदा उपभोक्ता समिति र प्राविधिकबिच हुने असमझदारी, प्राकृतिक स्रोतको व्यवस्थापनमा हुने कानुनी जटिलता आदि समस्याहरू छन् ।