सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, भदौ १८ गते । वर्षायाममा समेत पानीको हाहाकार हुने सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मा खानेपानीको धारा पुगेको छ । थारथङ खोला करङ्गैरा कोले लिफ्टिङ खानेपानी आयोजनाको प्रतिनिधि सभा सदस्य माधव सापकोटा र नेपालका लागि जापानका राजदूत किकुता युताकाले उद्घाटन गर्नुभयो ।
जापान सरकारको सहयोग तथा पिस उइन्स जापान र समृद्धिका लागि यथा कार्य सहयोग संस्था (आइएसएपी) को सहकार्यमा धारा जडान र छ वटा ट्याङ्की निर्माण गरिएको हो । सार्वजनिक र सामुदायिक स्थानमा छ वटा, करङ्गैरामा १३७ वटा, कोले तथा डाँडागाउँ बस्तीमा एक/एक वटा धारा निर्माण भएको सो खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कालीप्रसाद लामाले जानकारी दिनुभयो ।
एक करोड ३० लाख रुपियाँ लागतमा सम्पन्न उक्त आयोजना सम्पन्न भएसँगै गाउँमा पानीको समस्या हटेको बलेफी गाउँपालिकाका अध्यक्ष गङ्गा तामाङले बताउनुभयो । एक हजार पाँच सय मिटर दुरीबाट लिफ्टिङ प्रविधिमार्फत गाउँमा खानेपानी पु-याइएको छ । यसअघि बलेफी गाउँपालिका–४, फलाँटे, भीमसेनथान, सिस्नेरी, उनीचौर, तल्लागाउँ, खानेपानी योजनाबाट ८६ घरधुरी लाभान्वित भएको जानकारी दिनुभयो ।