इमानसिं राना
रामपुर (पाल्पा), भाद्र १७ गते । व्यवसायीलाई घरेलु तथा साना उद्योग कार्यालय र करदाता सेवा कार्यालयले शिविरमार्फत सेवा प्रदान गरेको छ । दुई दिने एकीकृत व्यवसाय दर्ता शिविरमार्फत सेवा दिएको हो ।
रामपुर उद्योग वाणिज्य सङ्घको आयोजना, रामपुर नगरपालिकाको सहयोग, घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पा र करदाता सेवा कार्यालय तानसेन पाल्पाको समन्वयमा भएको शिविरमा व्यवसाय दर्तासँगै अन्तरक्रिया समेत भएको थियो ।
कार्यालयबाट पर रहेका उद्योगी, व्यापारी तथा व्यवसायीको आवश्यकतालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । दुई दिनको शिविरबाट ३ सयभन्दा बढी उद्योगी तथा व्यवसायीले सेवा लिएको उहाँले जानकारी दिनुभयो ।
पहिलो दिन शुक्रबार करदाता सेवा कार्यालयबाट प्रवाह हुने सेवा प्रदान गरिएको थियो । शनिबार करदाता सेवा कार्यालयसँगै घरेलु तथा साना उद्योग कार्यालय बाट प्रदान गरिने सेवा एउटै स्थानबाट दिइएको थियो ।
शिविरको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय अन्तर्गत नयाँ उद्योग दर्ता २ वटा, वाणिज्य फर्म ५ वटा, उद्योग नवीकरण ३१ वटा, वाणिज्य फर्म नवीकरण ५६ वटा, कारोबार बन्द उद्योगमा १४ र वाणिज्यमा १५ वटा, पुँजी वृद्धि उद्योग तर्फ १३, वाणिज्यतर्फ १० गरी १ सय ४६ जनाले सेवा लिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पा आउनुभएका उद्योग अधिकृत श्यामकुमार पौडेलले बताउनुभयो ।
त्यस्तै, करदाता सेवा कार्यालयअन्तर्गत कर अधिकृत विमला महतको टोलीले व्यक्तिगत पान, व्यावसायिक पान, संस्थागत पान प्रदान गरेको थियो । त्यस्तै शिविरमा करसम्बन्धी परामर्शसँगै इजाजतपत्र, करचुक्ताको प्रमाणपत्र प्रदान लगायतका सेवा दिइएको थियो । रामपुर उद्योग वाणिज्य सङ्घले वर्षमा एक पटक व्यवसाय दर्ता शिविर सञ्चालन गर्दैआएको छ ।