• ३१ वैशाख २०८२, बुधबार

काठमाडौँ ट्रान्जिट बनाएर भैरहवा–बेङ्लुरू उडान

blog

काठमाडौँ, भदौ १६ गते । नेपाल वायु सेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै बेङ्लुरू उडान गर्ने भएको छ । गत जेठ ३० गतेदेखि साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको निगमले गत मङ्गलबारदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर गन्तव्यमा पु-याउने सुविधा सुरु गरेको छ । 

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट काठमाडौँसम्म यात्रुलाई निःशुल्क रूपमा उडाएर काठमाडौँ–बेङ्लुरूकै भाडादरमा उडान सुरु गर्न लागिएको हो ।

उहाँले भन्नुभयो, “भैरहवाबाट बिहान ८:१५ बजेको उडानबाट काठमाडौँ ल्याएका यात्रुलाई हाल बिहान ११ बजे हङकङ र दिउँसो १ बजे दिल्ली पठाउने सुविधा छ । अब दिउँसो १:२५ को अर्को उडानमार्फत बेङ्लुरू जाने यात्रुलाई गन्तव्य मुलुकमा पठाइने छ ।”

निगमको जहाजले मलेसियाबाट भैरहवामा अवतरण हुँदा खाली भएका सिटमा हङकङ, दिल्ली र बेङ्लुरू जाने यात्रु बोकेर काठमाडौँ आउने उहाँले बताउनुभयो । निगमका प्रवक्ता पौडेलले भैरहवाबाट बेङ्लुरू उडानका लागि टिकटसमेत खुला भइसकेको र यात्रुको उपलब्धताका आधारमा दुबईलगायतका मुलुकमा समेत काठमाडौँलाई ट्रान्जिट बनाएर उडान सञ्चालन गरिने जानकारी दिनुभयो । 

गत मङ्गलबारदेखि सुरु भएको काठमाडौँ ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडानमा भैरहवाबाट कुनै यात्रु जहाज नचढेको भैरहवा विमानस्थलका प्रवक्ता दीपक वज्राचार्यले बताउनुभयो । विमानस्थल व्यावसायिक सञ्चालनमा आएको दिनदेखि उडान सुचारु गरेको जजिरा एयरले समेत पुनः उडान सञ्चालनबारे कुनै जानकारी नगराएको उहाँको भनाइ छ । 

उहाँले गत ३० गतेबाट काठमाडौँ–मलेसिया–भैरहवा उडान सुरु गरेको निगमले हालसम्म उक्त रुटमा १२ वटा उडान गरिसकेको बताउनुभयो । हाल तीन वटा जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमले न्यारोबडी जहाजमार्फत हरेक सोमबार काठमाडौँबाट मलेसिया गएर मङ्गलबार मलेसियाबाट भैरहवा आउने गरेको छ ।

यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे पनि भारतले उडान अनुमति दिएको छैन । निगमले काठमाडौँ–दिल्ली–भैरहवा हुँदै काठमाडौँ उडान गर्न नागरिक उड्डयन प्राधिकरणमा स्वीकृति प्रस्ताव पठाएको थियो । अन्तर्राष्ट्रिय उडानका लागि दुवै देशका नियामक निकायसँग अनुमति लिनुपर्ने भएकाले भारतको नियामक निकायले अनुमति नदिँदा उडान सुरु हुन सकेको छैन ।