• ३० वैशाख २०८२, मङ्गलबार

एमसिसीले थाल्यो जग्गा अधिग्रहण प्रक्रिया

blog

तानसेन समाचारदाता

पाल्पा, भदौ १४ गते । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले पाल्पामा विद्युत् प्रसारणको टावर बनाउन जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ। एमसिसी परियोजना अन्तर्गत नेपालको विकास समिति (एमसिए नेपाल) ले पाल्पाका दुई वटा पालिकामा जग्गा अधिग्रहणको काम सुरु गरेको हो। 

चार सय केभी विद्युत् प्रसारणका लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाको व्यक्तिगत र सरकारी जग्गालाई स्थायी अधिग्रहण प्रक्रिया सुरु गरेको परियोजनाले जनाएको छ। नयाँ बुटवल सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्ड अन्तर्गत पाल्पा क्षेत्रमा पर्ने जग्गाको अधिग्रहण प्रक्रिया सुरु गरिएको आयोजनाका कर्मचारीले बताएका छन्। 

पाल्पा जिल्लाभित्र विद्युत् प्रसारण लाइनका ७४ वटा टावर बनाउने योजना रहेको परियोजनाकी कर्मचारी वन्दना पोखरेलले बताउनुभयो। परियोजनाले अधिग्रहण गर्न लागेको व्यक्तिगत जग्गा ३९७ वटा कित्तामा पर्ने उहाँले बताउनुभयो। टावर नेपाल सरकारको जग्गामा समेत पर्ने छ। जिपिएसबाट रेखाङ्कन गर्दा हाल रामपुर–१, पन्थेमा एक व्यक्तिको घर टावरको लाइनभित्र पर्ने देखिएको बताउँदै उहाँले भन्नुभयो, “पाल्पामा ७४ वटा टावर बनाउँदा हालसम्म एउटा घरमा मात्रै भौतिक असर गर्ने देखियो। अन्य कसैको पनि भौतिक सम्पत्तिमा क्षति हुँदैन।” 

नयाँ बुटवल सबस्टेसनदेखि नयाँ दमौली सबस्टेसन खण्ड अन्तर्गत पर्ने जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार सूचना प्रकाशित गरिएको छ। गत साउन ३१ गते प्रकाशित सूचना अनुसार २१ दिनभित्र सम्बन्धित जग्गाधनीलाई स्वामित्वबारे दाबी गर्न अनुरोध गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो। उहाँका अनुसार निस्दी गाउँपालिका–५ को गल्धा, ६ को अर्चले र ७ को ज्यामिरे तथा रामपुर नगरपालिकाको वडा नं. १, २, ३ र ४ को दर्छा र गाँडाकोटका जग्गा अधिग्रहण गर्ने काम सुरु भएको हो। 

आयोजना पक्षले घर, गोठ, जग्गा, कटेरा, टहरासहित रुखबिरुवासमेत स्थायी रूपमा अधिग्रहण गर्ने जनाएको छ। सूचना अनुसार जग्गा अधिग्रहण गर्नु नपर्ने भए कारणसहित २१ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा उजुरी गर्न सकिने छ। तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेमा कानुनबमोजिम हुने प्रशासनले जनाएको छ। परियोजनाले आगामी २०८० मङ्सिरभित्र जग्गा अधिग्रहण गरेर मुआब्जा वितरणको काम सक्ने जनाएको छ।