• २४ वैशाख २०८३, बिहिबार

च्याउखेती : थोरै लगानी, मनग्गे आम्दानी

blog

बिक्रीका लागि तयार पारिएको कन्ये च्याउ ।

मीना कँडे

कावासोती, भदौ १२ गते । नवलपुरमा व्यावसायिक च्याउखेतीतर्फ आकर्षण बढ्दो छ । च्याउखेती गर्ने कृषक मिहिनेत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । कावासोती नगरपालिका ८ मा रहेको पर्वत सेन ठकुरी कृषि फार्मका सञ्चालक ६० वर्षीय टीकाप्रताप सेन ठकुरी विगत तीन वर्षदेखि च्याउखेतीमा नै रमाइरहनु भएको छ । उहाँको दैनिकी च्याउ बिक्री वितरणमा बित्ने गरेको छ । 

हरेक दिन बिहान च्याउ प्याकेजिङमै समय बिताउने ठकुरीले पहिले समयको सदुपयोगको लागि मात्रै घरमै च्याउ ती सुरु गर्नुभएको थियो । तर अहिले भने व्यावसायिक रुपमै च्याउको खेती सुरु गर्नुभएको हो । “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दोरहेछ, न त उमेरले नै छेक्दोरहेछ, मात्र काम गर्ने जोश, जाँगर चाहिँदोरहेछ”, टीकाप्रतापले भन्नुभयो । 

स्थानीय स्तरमै च्याउखेती गरेर स्थानीय उपभोक्तालाई ताजा च्याउ उपभोग गराउने उद्देश्यले नै च्याउखेती गरेको ठकुरीले बताउनुभयो । तीन वर्षअघि २२ लाख रुपियाँको लगानीमा च्याउखेती सुरु गरेर उहाँले राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले कन्ये च्याउ होलसेलमा प्रति केजी दुई सय रुपियाँमा बेच्ने गर्नुभएको छ । कन्ये च्याउ नवलपुरमा नै खपत हुने गरेको छ । उहाँको कृषि फार्ममा च्याउ लगाउन १० वटा टनेल छन् । 

एउटै टनेलबाट उत्पादित च्याउबाट पहिलो लटमै दुई लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । च्याउ फार्ममा उहाँले दुई जनालाई रोजगारी दिनुभएको छ । ती दुई जना कामदारले च्याउ उमार्नका लागि प्याकिङको कार्य गर्नुहुन्छ भने अन्य पाँच जनाले उहाँहरुलाई सहयोग गर्नुहुन्छ ।

यस्तै, गैँडाकोट-१ मा अनिता च्याउ फार्मको नाममा अनिता न्यौपानेले च्याउखेती गर्दै आइरहनुभएको छ । सुरुमा च्याउखेती गर्न निकै गाह्रो महसुस भएको अनुभव उहाँले बटुल्दै जाँदा अहिले यसैलाई आम्दानीको स्रोत बनाउनुभएको छ । “श्रीमान् कोरोनाका कारण कतारबाट घर फर्किएपछि च्याउखेती सुरु गरेको हो, सुरुमा त बिग्रियो, घाटा पनि लाग्यो पछि राम्रो हुँदै आयो”, उहाँले भन्नुभयो ।

गैँडाकोट-५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक कर्णलाल श्रेष्ठले विगत तीन वर्षदेखि च्याउखेतीमा नै समय बिताउँदै आउनुभएको छ । छ कट्ठा क्षेत्रफलमा तीन टहरा बनाएर रु.६५ लाख लगानीका साथ सुरु गरेको च्याउखेतीले उहाँलाई मनग्य आम्दानी दिएको छ । श्रेष्ठले अहिले महिनामा कम्तीमा रु. एक लाख आम्दानी गर्दै आएको बताउनुभयो ।

व्यावसायिक च्याउखेतीमा अनुदान

व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि नवलपुरमा फार्म दर्ता गरि किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । थोरै पुँजी लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउखेतीमा किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । अहिले जिल्लाका गैँडाकोट नगरपालिकामा तीन, देवचुलीमा एक, कावासोतीमा दुई, मध्यबिन्दुमा दुई र विनयीत्रिवेणीमा एक गरी नौ वटा फार्म व्यावसायिक च्याउखेतीमा संलग्न भएका छन् ।

व्यवसायमा संलग्न किसानलाई सो कार्यालयले बीउबिजन उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग गर्दै आएको छ । अन्य सामाजिक संस्थाले पनि आफ्नो व्यावसायिक कार्यक्रममा च्याउ खेतीलाई समेट्ने गरेका छन् । कृषि विकास कार्यालयको कार्यक्रम अन्तर्गत च्याउखेतीमा संलग्न किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको बताइएको छ । च्याउखेती गरेका कृषकले एउटा याममा न्यूनतम १० देखि १२ क्विन्टल च्याउ उत्पादन गर्ने गरेका छन् । उत्पादित च्याउ जिल्लाबाट अन्यत्र निर्यात हुने गरेको छ । विशेषगरी कन्ये च्याउ र डल्ले च्याउ नवलपुरमा गर्ने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यसमा नगरपालिकाले पनि सहायता प्रदान गर्ने गरेको छ । कृषि शाखा गैँडाकोटका नायब प्राविधिक सहायक सुरक्षा पौडेल गैँडाकोटमा च्याउखेतीको सम्भावना धेरै रहेको बताउनुहुन्छ । नगरपालिकाले विभिन्न समयमा अनुदान, किसानका लागि सहुलियत र अन्य कार्यक्रमहरु सञ्चालन गरेर अगाडि बढेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, "नगरपालिकाले किसानका लागि सहयोग र अनुदानका कार्यक्रमसँगै प्रोत्साहन गरेको छ । अहिलेसम्म गैँडाकोट नगरपालिकामा ३ वटा च्याउ फर्म दर्ता  भएका छन् ।"