• १३ साउन २०८१, आइतबार

बाँदरले हैरान पारेपछि तनहुँमा घाँस खेती प्रवर्द्धन कार्यक्रम

blog

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठ केन्द्रमा गरिएको घाँस खेती देखाउँदै । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, भदौ ११ गते । कृषकले दुःख गरेर लगाएको खेती भित्र्याउन नपाउँदै बाँदरले खाने तथा नष्ट गरिदिने गरेपछि हैरानी भएर जमिन बाँझो राख्ने क्रम बढेपछि तनहुँमा पशुपालनमा प्रोत्साहन गर्न थालिएको छ ।

यसको लागि भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले ‘‘बाँझो जमिनमा घाँस खेती प्रवर्द्धन कार्यक्रम’’ सञ्चालन गरेको छ । घाँसलाई बाँदरले नोक्सान नगर्ने भएकोले कार्यक्रम ल्याइएको हो ।

बाँझो जमिनमा घाँस खेती गर्नेलाई प्रतिरोपनी तीन हजार अनुदानको व्यवस्था गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा.बालकुमार श्रेष्ठले बताउनुभयो । अनुदानको लागि कार्यालय तोकेका नेपिएर, मठ नेपिएर, सुपर नेपिएर, रेड नेपिएर डाले घाँस लगाउनुपर्ने प्रावधान राखिएको श्रेष्ठले जानकारी दिनभयो ।

बाँझो जमिनको सदुपयोग हुने र पशुचौपायको लागि दानामा कम खर्च हुने भएको गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग कार्यक्रम ल्याइएको डा.श्रेष्ठले बताउनुभयो । यस आर्थिक वर्षमा छ सय २० रोपनी जमिनमा घाँस खेती गर्नको लागि १८ लाख ६० हजार रुपियाँ निकासी भएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘‘बाँदर आतङ्कले गर्दा कृषकले खेती गर्न छाड्ने क्रम बढेको छ, घाँसलाई बाँदरबाट नोक्सान नहुने र खेतीभन्दा चौपायाबाट बढी नाफा हुने भएकोले कार्यक्रम ल्याइएको हो ।’’ 

पशुपालक कृषकसँग सहकार्य गरी घाँस विक्री गर्न सकिने केन्द्रले जनाएको छ । १५ रुपियाँ प्रतिकिलो पराल कृषकले किन्नुपरेकोले घाँस पाँच रुपियाँ किलो विक्री गर्न सकिने श्रेष्ठ बताउनुहुन्छ । घाँसले पशुमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने भएकोले कृषकलाई बढी फाइदा हुने उहाँ बताउनुहुन्छ। घाँस खेती गर्न चाहने कृषकले फम दर्ता गरी निवेदन दिन सकिने केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खेती बाँदरले नोक्सान पुर्‍याउने, ज्याला तुलनामा आम्दानी कम हुने भएकोले युवाहरू कृषि छाडेर विदेश पलायन भएका छन् र गाउँमा जमिन बाँझो भएको छ । गाउँ छाडेर सहरमा बस्ने, प्रवृत्ति बढ्दै गएकोले गर्दा  पनि गाउँघरका जमिन बाँझो हुने अवस्थामा बढ्दै गएको छ ।  

खेतीमा लगानीअनुसार फाइदा नहुने देखिएपछि पेसाबाट पलायन हुने अवस्था पनि सिर्जना भएकोले पशुपालनबाट खेतीभन्दा बढी नाफा हुने घाँस खेती गरी पशुपालन गर्न बाँझो जमिनमा घाँस खेती कार्यक्रम ल्याइएको छ । घाँसको बिरुवा केन्द्रले आफैँ उत्पादन गरिरहेको र निजी फर्मबाट पनि खरिद गरेर लगेर व्यावसायिक रूपमा घाँस खेती गर्न सकिने वरिष्ठ पशु विकास अधिकृत श्रेष्ठ बताउनुहुन्छ ।