• १३ साउन २०८१, आइतबार

छेडेदह तालमा रमाउँदै आन्तरिक पर्यटक

blog

छेडेदह तालमा रमाउँदै आन्तरिक पर्यटक ।

शेरबहादुर सार्की

बाजुरा, भदौ १० गते । बाजुराको छेडेदह गाउँपालिकाको छेडेदह तालमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका विभिन्न ठाउँका स्थानीयहरू यो समय छेडेदह तालमा रमाउन आउन थालेपछि पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकाको वडा नं ४ र ७ मा पर्ने यो तालको जति महिमा आकर्षण छ त्यति महत्त्व र स्थान पाउन नसकेपनि यो तालमा यतिबेला आन्तरिक पर्यटक आउने सङ्ख्या बढ्न थालेको खप्तड छेडेदह ४ का स्थानीय व्यापारी मीनबहादुर धामीले बताउनुभयो । उहाँले जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले यो तालको संरक्षण तथा प्रवर्द्धन गर्ने कामलाई प्राथमिकता दिँदै जाने हो भने आन्तरिक मात्र नभई बाह्य पर्यटकको सङ्ख्या समेत बढ्दै जाने बताउनुभयो ।

अहिले पनि जिल्लामा आउने अधिकांशले बाटोमा गाडी रोकेर फोटा लिने र एक छिन रमाउने समेत गरेका छन् । उनीहरूले यो तालको फोटा सामाजिक सञ्जालमा पोष्ट गरेको अन्यले देख्ने बित्तिकै पछिल्लो समय आन्तरिक पर्यटकहरू बढ्दै गएको व्यापारी धामीले बताउनुभयो । खप्तड छेडेदह गाउँपालिका वडा नं ७ स्थानीय नौले रावतले, यो छेडेदह ताललाई राम्रोसँग घेरबार तथा यस वरिपरि विभिन्न प्रकारका भवन निर्माण गर्ने हो भने यो ताल हेर्नका लागि हजारौँ पर्यटकको भिडभाड हुन सक्ने बताउनुभयो । उहाँले प्राकृतिक सौन्दर्ययताले भरिभराउ यो तालले यतिबेला जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको छ । जिल्लामा आगन्तुक हुने पाहुनालाई मनमोहक पार्दै आएको यो ताल बाह्य पर्यटकको लागि पनि त्यत्तिकै आकर्षणको केन्द्र बिन्दु बन्दै गएको बताउनुभयो ।

यसलाई थप संरक्षण र संवर्द्धनमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले चासो देखाउनुपर्ने हो यो देखिएको छैन । यो ताललाई राम्रोसँग व्यवस्थित गर्ने हो भने यहाँका अधिकांश बेरोजगार युवाले समेत घरमै जागिर पाउने सम्भावना देखिएको रावतले बताउनुभयो ।

प्राकृतिक उपहारको रूपमा रहेको यो ताललाई यहाँका स्थानीय सरकारले समयमै संरक्षण र प्रवर्द्धन गर्न सकियो भने अझैँ यसले जिल्लाको अर्कै उपमा दिन सक्ने स्थानीय बताउँछन् । 

प्राकृतिक अनुपमकै कारण पर्यटकहरूको मनमोहक जित्न सफल भएको यो तालले अर्थतन्त्रमा पनि उत्तिकै टेवा पुग्न सक्ने सम्भावना देखिन्छ खप्तड छेडेदह ७ स्थानीय व्यापारी विमल रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राकृतिक सौन्द्रयताले सम्पन्न यो ताल जिल्लाकै एक पर्यटकीय स्थलको रूपमा चिनिने गर्दछ । जिल्लामा आउने जो कोहीले यसको महिमा गाउने गरेको छ । तर पनि यसको संरक्षण भने राम्रो सँग हुन नसकेको बताउनुभयो ।

जिल्लावासीकै स्रोत र सम्पत्तिका रूपमा रहेको यो तालको अस्तित्व नै सङ्कटमा पर्न गएकोले यसको संरक्षण तथा प्रवर्द्धन गाउँपालिकाले मात्र सम्भव नभएकोले प्रदेश र सङ्घीय सरकारको पनि ध्यान जान जरुरी रहेको खप्तड छेडदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताउनुभयो । उहाँले पर्यटन बोर्डमा नै यसको संरक्षण तथा प्रवर्द्धनका लागि समन्वय गर्ने गरी कुरा अगाडी बढाएको छ । स्थानीय सरकारले गर्न सक्ने काम स्थानीय सरकारले गर्ने र बाँकी प्रदेश र सङ्घीय सरकार सँग सहकार्य गर्दै यसको प्रवर्द्धन गर्ने योजना रहेको बताउनुभयो ।

तत्काल यो ताल एकतर्फ गएको पहिरोलाई रोक्ने गरी त्यसमा घाँस रोप्ने गरेका छौँ । यसले गर्दा पनि पहिरो थामिएन भने अष्ट्रेलियन र भारतीय राजदूतावासमा यसको सम्भाव्यता अध्ययनका लागि सिफारिस गर्ने योजना रहेको बताउनुभयो ।