राममणि दाहाल
हेटौँडा, भदौ १० गते । हरेक साता काठमाडौंमा लाग्ने रैथानै हाटबजार मेलामा मकवानपुरगढी गाउँपलिकाले पालिकाभित्र उत्पादन भएका रैथाने बाली तथा सामग्रीहरुको प्रदर्शनी तथा बिक्री वितरण गरेको छ ।
मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवम् रैथानेबालीको बजारीकरण गर्ने उद्देश्यले रैथाने कृषि हाट बजारमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान आफैं बिक्री गर्न पुग्नुभएको हाे । स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरुको बिक्रीको सुरुवात पालिका अध्यक्ष स्याङ्तानले आफैंले गर्नुभएको हो ।
मकवानपुरगढी गाउँपालिकाको सहयोगमा अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले ब्रान्डिङ तथा प्याकेजिङ गरेको कालीखोला ब्रान्डको कोदो पिठो बिक्री गरी अध्यक्ष स्याङ्तानले बजारीकरणको सुरुवात गर्नुभएको थियो । कोदोको पिठोसँगै कोदोको दाना, बेसारको धुलो, लसुन, बाँसबाट बनेका हस्तकलाका सामग्रीहरु पालिकाको संयोजनमा बिक्री गर्न राखिएको थियो ।
हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले उत्पादन गरेको बेसारको धुलो र पौवाडाँडा कृषक समूहले स्थानीय लसुन उत्पादन गरेको हो । गाउँपालिका अध्यक्ष स्याङ्तानले मकवानपुरगढी गाउँपालिकाका किसान, कृषक समूह, सहकारीले उत्पादन तथा प्याकेजिङ गरेका कोदोको पिठो, बेसारलगायत स्थानीय एवम् रैथाने जातका बालीलाई काठमाडौंको बजारसँग जोड्ने प्रयासको सुरुवात गरिएको बताउनुभयो ।
पालिकाका कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले पहिलो दिन हाटबजारमा कोदोको पिठो किन्ने उपभोक्ताको उत्साहजनक उपस्थति र राम्रो प्रतिक्रियाले उर्जा मिलेको बताउनुभयो । उहाँका अनुसार हरेक शनिशार ‘रैथाने कृषि हाट बजार’ लाग्ने गरेको छ । अब हरेक शनिवार सञ्चालन हुने रैथाने कृषि हाटबजारमा नियमित रुपमा मकवानपुरगढीमा उत्पादित कोदो, कोदोको पिठो र अन्य कृषि उपजहरू राखिने चौधरीले बताउनुभयो ।