काठमाडौं, भदौ ९ गते । चार देश सम्मिलित महिला टी–२० क्रिकेट सिरिजमा नेपाल च्याम्पियन बनेको छ । मलेसियाको बायोमास ओभल मैदानमा शनिबार भएको फाइनलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको हो ।
हङकङले दिएको एक सय दुई रनको विजय लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा वर्षाले खेल रोकिएको थियो । भारी वर्षाका कारण पुनः खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लेविस प्रणालीका आधारमा विजयी भएको थियो ।
वर्षा सुरु हुनुअघि नेपालले ५.३ ओभरमा एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । नेपालकी इन्दु बर्माले १९ रन बनाउनुभयो । सीता रानामगरले १३ रन बनाउनुभयो । नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । हङकङकी कप्तान केरी चानले सर्वाधिक २९ रन बनाउनुभयो ।
मारिना लम्प्लगले १९, शान्जिन शाहजादले १४ र इक्रा साहर १० रन बनाउनुभयो । बलिङमा नेपालकी खुसी डङ्गोलले तीन विकेट लिनुभयो । अश्मिना कर्माचार्य र कविता जोशीले एक एक विकेट लिनुभयो । सिरिजमा नेपाल नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए । मलेसियाले कुवेतलाई हराउँदै तेस्रो बन्यो ।
नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि तयारीका लागि सिरिज खेलेको हो । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छ ।
नेपालले पहिलो खेल ३१ अगस्टमा मलेसिया, दोस्रो खेल सेप्टेम्बर १ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ३ मा भुटान, चौथो खेल सेप्टेम्बर ४ मा कतार र अन्तिम खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्नेछ । समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्न पाउनेछन् ।