• ९ मंसिर २०८१, आइतबार

देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह

blog

काठमाडौं, भदौ ९ गते । पशुपति क्षेत्र विकास कोषले देव उद्यान गौशालालाई मङ्गलबारसम्म बक्यौता बुझाउन आग्रह गरेको छ । कोषले आज एक सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन र नयाँ सम्झौता गर्न गौशालालाई अनुरोध गरेको विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोषको साउन १ गतेको निर्णयबाट गठित बाँकी बक्यौता असुली कार्य टोलीले स्थलगत रूपमा अनुगमन गरी कोषअन्तर्गत रहेका पसल, पार्किङको बक्यौता रकम कार्यालयमा दाखिला गर्न अनुरोध गरेको थियो ।

पटक-पटकको टेलिफोन सम्पर्कबाट ताकेता गर्दा केही सञ्चालक व्यक्ति/फर्म/संस्थाले आंशिक रकम कोषको बैङ्क खातामा दाखिला गरी कोषको कोष तथा  आय  लेखा  व्यवस्थापन  शाखामा  भौचर बुझाएको र त्यसमा पनि कतिपयले आंशिक मात्रै र कतिपयले नबुझाएको पाइएकाले भदौ १२ गते कार्यालय समयभित्र बाँकी बक्यौता बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।

कोषले पत्राचार गरेको र कारणवश पत्र नपाएको भए सूचनालाई नै आधार मानेर तोकिएको समयसीमाभित्र  आफूले तिर्न बाँकी रकम  बुझाउन जानकारी गराएको छ । म्यादभित्र बाँकी बक्यौता नबुझाउनेलाई बक्यौता असुली कार्य टोलीको सिफारिसअनुसार कानुनी प्रक्रियाअनुसार कालोसूचीमा राखेर सम्बन्धित व्यक्ति/संस्था/फर्म/कम्पनीको बैङ्क खातासमेत रोक्का राख्न सिफारिस गरी सरकारी बाँकीसरह असुलउपरको कारबाही गरिने चेतावनी दिइएको कोषका कार्यकारी निर्देशक डा. खतिवडाले बताउनुभयो । रासस