• २२ वैशाख २०८१, शनिबार

विनाशकारी लिमनिक इरप्सन

blog

‘लिमनिक इरप्सन’ अर्थात् तालमा हुने ठूलो उथलपुथलले विश्वमा केही विनाशकारी घटना भएका छन्। तालको गहिराइमा पानीमा घुलेर रहेको कार्बन डाइअक्साइड ग्यास अचानक उत्सर्जन हुँदा आकाशमा ग्यासको बादल सिर्जना भएर प्राणी जगत् निसासिने वातावरण बन्दछ। कार्बन डाइअक्साइड ग्यासको बादलले जङ्गली जीवजन्तु, गाईबस्तु र मानिसको जीवन नै सङ्कटमा पर्दछ।

अहिलेसम्म ज्ञात भए अनुसार विश्वका तीन तालमा यस प्रकारको घटना भएको छ। सन् १९८६ अगस्ट २१ मा क्यामरुनको उत्तरपश्चिममा रहेको न्योस तालमा ‘लिमनिक इरप्सन’ भएको थियो। सो घटनामा जोगिएका एक भाग्यशाली व्यक्तिको भनाइ अनुसार राति ९: ३० बजे अचम्मको विस्फोटको आवाज आयो, त्यसलगत्तै मानिस र पशुहरू जमिनमा छट्पटाउन थाले। त्यस ग्यास विस्फोटबाट लगभग १६ लाख टन कार्बन डाइअक्साइड ग्यास अचानक उत्सर्जित भएको थियो। ग्यासको बादल सुरुमा एक सय चार किलोमिटर प्रतिघण्टाको गतिमा बाहिर निस्कियो र हावाको तुलनामा कार्बन डाइअक्साइड ग्यास अधिक घनत्वको भएका कारण यो तीव्र गतिमा वरिपरिका गाउँसम्म फैलिन थाल्यो। कार्बन डाइअक्साइड ग्यासको करिब ५० मिटर मोटाइको बादलले त्यहाँको सबै हावा विस्थापित गरिदिँदा तालको २५ किलोमिटर परिधिमा जीवजन्तु र मानिस जहाँको तहीँ चिरनिद्रामा पुगे।

त्यस क्षेत्रका बासिन्दा अधिकांश किसान थिए र चालै नपाई सुतेकै अवस्थामा उनीहरूको ज्यान गयो। कुल १७ सय ४६ मानिस र ३५ सय गाईबस्तुको ज्यान त्यस ग्यास त्रासदिमा गयो। ठूलो मात्रामा कार्बन डाइअक्साइड ग्यास बाहिर निस्किएका कारण तालको सामान्यतया निलो देखिने पानी गाढा रातो रङमा परिणत हुन पुग्यो। यसो किन भएको हो भने तालको गहिराइमा रहेको फलाम तत्वयुक्त पानी सतहमा आयो र वायुको अक्सिजनसँग त्यसको प्रतिक्रिया (अक्सिडाइज्ड) भयो। साथै तालको पानीसमेत लगभग एक मिटर घट्यो र ताल वरिपरि रहेका रुख, बोटबिरुवा सबै नासिए।

न्यास तालमा कार्बन डाइअक्साइड ग्यास विस्फोट हुनु दुई वर्ष पहिले क्यामरुनमै सन् १९८४ मा मोनन तालमा ‘लिमनिक इरप्सन’ भएको थियो। यस घटनामा ३७ जनाको निसासिएर ज्यान गयो। यी दुवै घटनाको ३५ सयदेखि पाँच हजार वर्ष पहिले रुवान्डा र डेमोक्रेटिक रिपब्लिक अफ दी कङ्गोको सिमानामा रहेको किभु तालमा ‘लिमनिक इरप्सन’ भएको रेकर्ड भेटिएको छ। 

– युवामञ्च